२०८१ चैत्र ३१, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु

काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु

अध्ययन अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत गर्नुपर्छ : शिक्षामन्त्री भट्टराई


काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु भएको छ । बुधबार दि होटल सोल्टीमा शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईले सम्मेलनको उद्घाटन गरेकी हुन् ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले अध्ययन अनुसन्धान नीति निर्माणको आधारशीला र मार्गनिर्देशन भएको बताइन् । ‘आज पनि हाम्रो जस्तो समाजमा नीति निर्माण गर्ने कुरा भोटले निर्धारण गरिरहेको छ । राजनीतिक समुदायको प्रभावले हाम्रा नीतिहरु प्रभावित भइरहेका छन्,’ उनले भनिन्, ‘त्यसैले हामीले खोजेको भनेको तथ्य र प्रमाणमा अनुसन्धानकर्ताहरुको निष्कर्षका आधारमा हाम्रा नीति निर्माण भए भने दिगो हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

मन्त्री भट्टराईले अध्ययन अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत गर्नुपर्नेमा बताइन् । ‘हामीले अध्ययन र अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत गर्नुपर्छ,’ उनले भनिन्, ‘हाम्रो देशमा स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका अनुसन्धानहरुले नीति निर्माताहरुलाई तथ्यमा आधारित निर्णय लिन सहयोग पु¥याउँदैं आएको छ तर पर्याप्त छैन ।’

परिषद्ले आफ्नो वार्षिकोत्सव गर्ने वैज्ञानिक सम्मेलन ३० चैतसम्म चल्नेछ । परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले काठमाडौंको शिखर सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सहभागिता रहेको जानकारी दिए ।

‘स्वास्थ्य, जलवायु र जनसंख्या परिवर्तनः दिगो र समतामूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली’ भन्ने मूल नाराका साथ हुने उक्त शिखर सम्मेलनमा भारत, चीन, बेलायत, स्वीटजरल्याण्ड, अमेरिकालगायतका देशहरुको वैज्ञानिकहरुको सहभागिता रहेको छ।

सम्मेलनका लागि १४६ वटा मौखिक तथा १२३ वटा पोष्टर प्रस्तुतीकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्याकहरु प्राप्त भएका थिए । जसमध्ये साइन्टीफिक कमिटीले निर्धारण गरेको मापदण्डका आधारमा ८७ वटा मौखिक प्रस्तुतीकरण र ११५ वटा पोष्टर प्रस्तुतीकरण सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

‘सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुन सक्ने सम्भावित चुनौतीहरु, स्वास्थ्य प्रणालीको उत्थानशीलता, स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताजस्ता विषयमा केन्द्रीत रहनेछ,’ डा. जोशीले भने, ‘यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरुको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरु, मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमनजस्ता स्वास्थ्य क्षेत्रका तडकारो विषयवस्तुमा केन्द्रीत भएर व्यापक छलफल र प्रस्तुतीकरण गरिनेछ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ