२०८२ वैशाख ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर


जुम्ला—कर्णाली प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ८ वर्षको अवधिमा ४५ प्रतिशत जनसङ्ख्या मात्रै बीमाको पहुँचमा छ । ५५ प्रतिशत जनसंख्या अझैपनि स्वास्थ्य बीमाको पहुँच बाहिर छ ।

स्वास्थ बीमा बोर्ड कर्णाली प्रदेश सुर्खेतका संयोजक महेशप्रसाद ठाकुरकाअनुसार कर्णालीमा सबैभन्दा बढी जुम्लामा ८२ प्रतिशत नागरिक बीमामा आवद्ध छन् भने सबैभन्दा कम सल्यानका नागरिक बीमा कार्यक्रममा आवद्ध छन् । जुम्लामा १ लाख ८ हजार ९ सय २१ जनसङ्ख्यामा ९० हजार ४११ जना बढी बीमामा आवद्ध छन् ।

उपल्लो डोल्पाका ३ स्थानीय तह शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा बीमा कार्यक्रम नै लागू हुन नसकेको उहाँले बताए । राष्ट्रिय जनगणना, २०७८ अनुसार कर्णालीको जनसंख्या १६ लाख ८८ हजार ४१२ जनसंख्या छ । जसमध्ये हालसम्म ४५ प्रतिशत नागरिक मात्रै बीमामा आबद्ध भएको प्रदेश संयोजक ठाकुरले बताए । आशा गरेजति संख्यामा नागरिकहरू स्वास्थ्य बीमाको पहुँचमा आउन नसकेको उनको भनाइ छ । उनले भने, ‘पहिलो सेवा पाउन तीन महिना लाग्ने गरेकोमा अबदेखि दुई महिनामा झारेको हुँदा पहुँचको अवस्था वृद्धि हुन्छ ।’

बीमामा कर्णाली प्रदेशअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको भुक्तानीको अवस्था निकै कम रहेको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश कार्यालयका अनुसार चालू आर्थिक वर्ष (२०८१÷०८२) को पाँचौं भुक्तानी मिति २०८१ फागुन १५ सम्ममा २० करोड ६७ लाख ८४ हजार ६६८ रूपैयाँमात्र भुक्तानी भएको देखिन्छ ।

सबैभन्दा धेरै कर्णाली प्रदेश अस्पताल सुर्खेतले ७ करोड ४४ लाख ५६ हजार (३६.०१ प्रतिशत) भुक्तानी लिएको छ भने सबैभन्दा कम भुक्तानी कालीकोटको कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रले ३१ हजार रूपैयाँ (०.०२ प्रतिशत) भुक्तानी लिएको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार कर्णाली प्रदेशमा सबैभन्दा पहिले २०७४ भदौ १ गते पश्चिममा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको थियो । त्यसपछि क्रमशः सुर्खेतमा २०७४ मंसिर १ गते, रूकुम पश्चिममा २०७५ जेठ १ गते कालीकोटमा २०७५ भदौ १ गते, मुगु, हुम्ला र डोल्पामा २०७६ भदौ १ गते, दैलेखमा २०७७ जेठ १ गते र सल्यानमा २०७७ फागुन १ गते सेवा शुभारम्भ भएको थियो ।

स्वास्थ सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले स्वास्थ्य बीमा कार्यक्रमको पहुँचमा सबै कर्णालीबासी जोडिन थुप्रै चुनौती पनि रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्न सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

भौगोलिक विकटता र सेवा प्रदायक स्वास्थ्य संस्थाको अभावका कारण कर्णालीवासीले चाहेर पनि सेवा उपभोग गर्न सकिरहेका छैनन् । त्यस्तै प्रदेशमा सुविधायुक्त स्वास्थ्य संस्थाहरू नहुनु र भएका संस्थाहरू पनि भौगोलिक विकटताका कारण नागरिकको पहुँचबाहिर हुँदा समस्या भएको छ ।

न्यून स्वास्थ्य बीमा सेवा प्रदायक संस्था

तथ्यांक अनुसार कर्णालीका ७८६ मध्ये ३६ वटा स्वास्थ्य संस्थाले मात्र स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रदायकको रूपमा सेवा दिइरहेका छन् । यसमा स्वास्थ्य संस्थाको सबैभन्दा तल्लो संरचना आधारभूत स्वास्थ्य सेवा केन्द्रदेखि प्रदेश अस्पतालसम्म समावेश रहेका छन् । संघीय सरकार मातहतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि उल्लेखित संख्याभित्र समेटिएको छ ।

विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतमा १२७ स्वास्थ्य संस्था रहेका छन् । त्यसपछि, क्रमश दैलेखमा ११०, कालीकोटमा ९०, सल्यानमा ८९, जाजरकोटमा ८५, रूकुम पश्चिममा ७९, हुम्लामा ६४, मुगुमा ५९, जुम्लामा ५६ र डोल्पामा ३५ स्वास्थ्य संस्थाहरू रहेका छन् ।

प्रदेशमा यति धेरै संख्यामा स्वास्थ्य संस्थाहरू भएपनि स्वास्थ्य बीमा प्रदायक स्वास्थ्य संस्थाको संख्या भने निकै कम रहेको छ । स्वास्थ्य बीमा बोर्डकाअनुसार कर्णालीका ३६ स्वास्थ्य संस्थामात्र स्वास्थ्य बीमा प्रदायक स्वास्थ्य संस्थामा सूचीकृत भएका छन् ।

शिशुको मृत्युदर २६ प्रतिशत

मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख वृषबहादुर शाहीले सबैलाई बीमा कार्यक्रममा जोडिन अनुरोध गर्दै कर्णालीमा वार्षिक ३६ हजार बढी जीवित जन्मिएका शिशुमध्ये २६ प्रतिशत शिशु मृत्युदर रहेको बताए ।

एक लाख सुत्केरी आमामध्ये १७२ जनाको मातृ मृत्यु हुने गरेको उनले बताए । उनकाअनुसार कर्णालीमा ७६ प्रतिशतले नियमित गर्भ जाँच गर्दछन् भने ७२ प्रतिशतले सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । ९० प्रतिशत स्वास्थ्य संस्थाले सुरक्षित प्रसूति सेवा दिने गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ