काठमाडौं । नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउडेशसन नेपालले संयुक्त रुपमा वर्ल्ड पर्पल डे मनाएका छन् । महाराजगञ्जस्थित सेन्टरको कार्यालयमा पर्पल डे मनाइएको हो ।
हरेक वर्ष मार्च २६ का दिन छारे रोगका बारेमा जनचेतना फैलाउने र यससँग सम्बन्धि बिरामीहरुलाई सहयोग गर्ने उद्धेश्यले पर्पल डे मनाइँदै आएको छ । सेन्टरले पनि आज अर्थात पर्पल डेका अवसरमा टिकट र जाँचमा विशेष छुट दिएको थियो ।
कार्यक्रममा बोल्दै नेशनल न्यूरो सेन्टरका वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले नेपालमा इपिलेप्सीसम्बन्धि विभिन्न धारणा रहेको बताउँछन् । ‘नेपालमा इपिलेप्सीसम्बन्धि विभिन्न नकारात्मक धारणा रहेको छ,’ उनले भने, ‘त्यस्ता नकारात्मक धारणा चिर्नका लागि सबैको साथ आवश्यक छ ।’
इपिलेप्सीलाई नेपालमा ठाउँअनुसार विभिन्न नामले चिनिने गरेको समेत उनले जानकारी गराए । ‘जहाँ जुन नामले चिने पनि यसको उपचार सम्भव छ,’ उनले भने ।
त्यस्तै, इपिलेप्सी फाउण्डेशन नेपालका अध्यक्ष एवम् न्यूरोलोजिष्ट डा. सुमन भट्टराईले नेपालमा छारे रोगसँग सम्बन्धि भ्रमलाई चिर्नका लागि फाउण्डेशसनले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।