२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)

स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)


काठमाडाै-स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य विमा ५ लाग पुग्ने बताएका छन् । आइतवार स्वास्थ्य विमा सुधारको लागि गठित अध्ययन समितिको प्रतिवेदन सार्वजानिक गर्ने क्रममा मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

‘मैले भनेको थिए वीमा ५ लाख पुग्छ भनेर पुग्छ पुग्छ ।’ उनले भने ‘यो मेरो प्रतिवद्धता हो ।’

मन्त्री पौडेलले स्वास्थ्य विमाको दायरा बढाउन सुझाव दिन डा शम्भु आचार्यको संयोजकत्वमा सुझाव कार्यदल बनाएका थिए । सो कार्यदलले दिएको सुझाव अनुसार तत्कालीन अतिरिक्त सचिव डा दिपेन्द्र रमण श्रेष्ठको संयोजकत्वमा प्रतिवेदन कार्यन्वयन कार्ययोजना समिति बनाएका थिए । सिफारिस समितिले दिएको सुझाव अनुसार कार्ययोजना तय गर्ने समिति बनाएका थिए ।

प्रतिवेदनका सुझाव र कार्ययोजना प्रतिवेदन सार्वजानिक कार्यक्रममा मन्त्री पौडेलले दिएको मन्तव्य जस्ताको तस्तै

जब हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पायौं, हाम्रा सुरुवाती दिनमा भएका विभिन्न छलफल र मन्त्रालयको जिम्मेवारी सम्हाल्नु अगावै एउटा नागरिकको रुपमा स्वास्थ्य क्षेत्रको बारेमा बुझेको र भोगेको अनुभवको आधारमा, हामी यो निष्कर्षमा पुगेका थियौं – स्वास्थ्य बीमा आज जुन अवस्थामा छ, यो यहि ढंगले चाल्न सक्दैन । यस कार्यक्रमलाई यही गतिमा सीमित राख्ने हो भने यसले नागरिकमा निराशाको आयतन झन्झन् बढ्छ, बीमा नवीकरण गर्ने र आवद्ध हुनेहरुको ग्राफ घट्दै जान्छ र यो अलपत्र पर्न सक्छ ।

तिनै छलफल र अनुभवको आधारमा हामी अर्को पनि निष्कर्षमा पुगेका थियौं – बीमाको तत्कालिन अर्को विकल्प छैन, आम नागरिकका लागि सर्वसुलभ रुपमा स्वास्थ्य उपचार प्रदान गर्ने आजको उत्कृष्ट बिकल्प भनेको स्वास्थ्य बीमा नै हो ।

( उपस्थित सबैमा, आग्रह गर्न चाहन्छु- स्वास्थ्य बीमाको समस्याका बारेमा हामीले धेरै पटक छलफल गरिसकेका छौं, यस बिसयमा अहिले म, प्रवेश गर्न चाहन्न ।

आज, हामी- बीमामा यो भएन, त्यो भएन भन्न, वा यहाँ यस्तो समस्या छ, त्यहाँ उस्तो समस्या छ भन्न उभिएका छैनौ । चरण चरणका अध्ययन र छलफल गरेर समाधानका उपाय सहित, त्यसको कार्यन्वयन गर्न हामी तयार भएर आजको यस बीमा प्रतिवेदन सार्वजनिक कार्यक्रममा छौं )

त्यसैले, मैले अघि उल्लेख गरेको – स्वास्थ्य बीमामा थुप्रै समस्या छन् र आजको उत्कृष्ट बिकल्प भनेको स्वास्थ्य बीमा नै हो – भन्ने निष्कर्षको आधारमा हामीले स्वास्थ्य बीमाको सुधार र विस्तारको प्रण गर्यौं । स्वास्थ्य बीमा कार्यक्रमको सुधार र विस्तारको घोषणा गर्यौ । मैले त्यतिबेला पनि भनेको थिए – स्वास्थ्य बीमा ५ लाख पुग्छ, पुग्छ  । मन्त्रीका रुपमा यो मेरो प्रतिवद्धता भयो ।

सोहि अनुरुप, स्वास्थ्य बीमा कार्यक्रमको क्रमश सुधार गर्दै दयारा विस्तार गर्न, यसको दिगो व्यवस्थापनको बिकल्प खोज्न तथा समग्र स्वास्थ्य क्षेत्रको आमूल सुधारका लागि बीमाको माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धन गर्न,

  • के कस्ता कार्य कसरी गर्न सकिन्छ ? स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन के-कस्ता नीतिगत तथा व्यवहारिक सुधार आवश्यक छन् ? यसको वित्तीय स्थायित्व कसरी सुनिश्चित गर्न सकिन्छ ? यसको प्रवाभकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय अनुभव र उत्कृष्ट अभ्यासबाट के सिक्न सकिन्छ ? स्वास्थ्य बीमालाइ आम नागरिकका लागि थप भरपर्दो र सर्वसुलभ बनाउन के-कस्ता संरचनागत तथा व्यवस्थापकीय सुधारहरू आवश्यक छन् ? यसकालागि संघीय, प्रादेशिक र स्थानीय, सरकारबीचको सहकार्यद्वारा कसरी प्रभावकारी रूपमा विस्तार र सुधार गर्न सकिन्छ ? भन्ने जस्ता सवालको हल खोज्न – हामीले डा. शम्भु आचार्य ज्यूको संयोजकत्वमा सम्वन्धित क्षेत्रका विज्ञहरुको समिति बनाएर अध्ययन गर्यौ ।

यो समितिले वृहत छलफल गरेर –  स्वास्थ्य बीमा बोर्डले हासिल गरेका अनुभव, विश्वव्यापी सफल अभ्यास, नेपालको संविधान र हाम्रा कानुनी व्यवस्था, हाम्रा आवश्यकता, प्राथमिकता र सामर्थ्य समेतका आधारमा विस्तृत अध्ययन, विवेचना तथा सम्वद्ध पक्षहरुसँग सघन परामर्श गरी प्राप्त निचोडलाई समेटेर तयार पारेको प्रतिवेदन हामीले प्राप्त गर्यौ ।

प्रतिवेदन प्राप्त भए पछि – हामीले यसको अध्ययन, यस भित्र समेटिएका सुझाब र निष्कर्षलाइ के कसरी कार्यन्वयन गर्ने ? कुन कुन बिषयलाई प्राथमिकतामा राख्ने ? सो को कार्यन्वयनका लागि जिम्मेवार निकाय कुन कुन हुन ? यसलाई कति समय सिमा भित्र कार्यान्वयन गर्न सकिन्छ ? भन्ने जस्ता सवाललाइ हल खोज्न यसै मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंह ज्यूको संयोजकत्वमा कार्यदल बनाएर बनाएर थप अध्ययन गर्यौ ।

यो अध्ययन पछी – स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयन कार्ययोजना तयार पार्यौ ।

सो कार्ययोजना भित्र – कसले के कार्य ? कसरी गर्ने र कति समय भित्र गरिसक्ने ? भनेर स्पष्ट उल्लेख गरेका छौं । र, यस कार्ययोजना प्रतिवेदन हामीले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष बुझाई सकेका छौं।

हामीले – सो कार्यान्वयन कार्ययोजना भित्र – स्वास्थ्य बीमाको सुधार र विस्तारका लागि नेपाल सरकारका विभिन्न निकायले साझा दायित्वका रुपमा गर्नु पर्ने कानुनी सुधार,  नेपाल सरकार (मन्त्रिपरिषद) बाट गर्नुपर्ने नीतिगत निर्णयहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नु पर्ने कार्यहरू तथा स्वास्थ्य बीमा बोर्डबाट गरिनुपर्ने कार्यहरू भनेर यसको वर्गीकरण गरेका छौं ।

जसमा, कार्ययोजना कार्यदलले तयार पारेको प्रतिवदनका आधारमा हामीले निम्न अनुसारका कार्यलाइ प्राथमिकतामा राखेर क्रमशः अघि बढ्ने सबैमा अनुरोध गर्न चाहन्छु:-

  • स्वास्थ्य बीमाको सुधार र विस्तारका लागि नेपाल सरकारका विभिन्न निकायले साझा दायित्वका रुपमा गर्नु पर्ने कानुनी सुधार

स्वास्थ्य बीमा बोर्डको संरचनामा सुधार गर्न स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १३ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, प्रदेश सरकारका स्वास्थ्य सचिवहरू तथा स्थानीय तहका प्रतिनिधिहरूलाई बोर्डमा समावेश गर्ने । साथै, बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकको जिम्मेवारी थप स्पष्ट पारिनेछ। ऐनमा उल्लेखित कसुर तथा सजायको पुनरावलोकन गरी झुठो विवरण पेश गर्ने, सम्झौता तथा मापदण्ड उल्लंघन गर्ने, वा प्रिमियम भुक्तानी नगर्नेहरूलाई उचित कारबाहीको व्यवस्था गर्ने ।

स्वास्थ्य बीमामा आवद्धतासम्बन्धी स्पष्टता ल्याउन ऐनका विभिन्न दफाहरूबीच सामञ्जस्यता स्थापित गर्ने । प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा विन्दु तोकिनेछ, जसले बीमितलाई कुनै पनि स्थानको प्रथम सेवा विन्दुमा पहुँचको सुविधा उपलब्ध गराउने। बीमा बोर्डले सेवा प्रदायकलाई भुक्तानी गर्ने आधारहरू परिभाषित गर्नेछ, र सामाजिक स्वास्थ्य सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थाहरूमा एकरूपता ल्याउन आवश्यक कानुनी संशोधन गर्ने ।

२. नेपाल सरकार (मन्त्रिपरिषद) बाट गर्ने नीतिगत निर्णयहरू

स्वास्थ्य बीमाको सेवा दायरा वृद्धि गर्न तत्कालका लागि कडा रोगका बिरामीहरूलाई उपचारको लागि क्रमशः ५ लाखसम्मको आर्थिक सहयोग विस्तार गर्ने र क्रमशः अन्य सेवा थप गर्दै लैजाने । राज्यकोषबाट तलबभत्ता प्राप्त गर्ने जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, संगठित क्षेत्रका कामदारहरूलाई स्वास्थ्य बीमामा अनिवार्य रूपमा समावेश गर्न सम्बन्धित ऐनमा संशोधन गर्ने ।

स्वास्थ्य बीमाको प्रिमियम पुनरावलोकन गरी आत्मनिर्भर सिद्धान्तमा आधारित प्रिमियम निर्धारण गर्ने । वित्तीय स्रोतको दीगो व्यवस्थापन गर्न स्वास्थ्यलाई असर गर्ने वस्तुहरू जस्तै अल्कोहल, सुर्ती, चिनीजन्य पदार्थ, जंक फूड, प्लास्टिक, तथा प्रदूषणजन्य वस्तुहरूको उत्पादन तथा उपभोगमा थप कर लगाई संकलित रकम स्वास्थ्य बीमा कोषमा जम्मा गर्न पहल गर्ने। यसरी प्राप्त हुने कर बीमा कोषमा जम्मा गर्ने सन्दर्भमा हामीले सम्बन्धित निकायमा प्रस्ताब समेत गरिसकेका छौं ।

स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दी संरचना स्वीकृत गर्ने, प्रथम सेवा विन्दुको परिभाषा स्पष्ट पार्ने, अस्थाई बसोबासका अधारमा समेत बीमा सिफारिस प्राप्त हुने व्यवस्था मिलाउने, बीमामा आवद्ध हुन ३ महिनाको समयसीमा घटाई १ महिनामा सीमित गर्ने, दीर्घ रोग भएका बिरामीहरूलाई अलग इकाइ मान्ने र बीमितको सुविधाको थैली अर्को वर्षमा स्थानान्तरण हुने व्यवस्था मिलाउने लगायतका नीतिगत निर्णयहरू लागू गर्न हामीले प्रस्ताब समेत गरिसकेका छौं ।

३. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्णय गरि कार्यान्वयन गर्ने विषयहरू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका विभिन्न स्वास्थ्य सहयोग तथा अनुदान कार्यक्रमहरूलाई एकीकृत गर्दै विपन्न नागरिक औषधि उपचार कार्यक्रमलाई स्वास्थ्य बीमामा समावेश गर्ने । मृगौला प्रत्यारोपण, डायलासिस, क्यान्सर, र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई औषधि उपचार खर्च उपलब्ध गराउने कार्यक्रमहरू पनि स्वास्थ्य बीमामा समावेश गर्ने ।

सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूको भुक्तानी प्रणाली सुधार गर्दै सो को प्रतिवेदन प्रणालीलाई निरन्तरता दिने व्यवस्था गर्ने। स्वास्थ्य मन्त्रालयबाट सञ्चालन भइरहेका विभिन्न सामाजिक स्वास्थ्य सुरक्षा तथा आधारभूत स्वास्थ्य सेवाहरूलाई एकीकृत कार्यविधि तथा निर्देशिका निर्माण गरी एकीकृत रूपमा सञ्चालन गर्ने।

अस्पतालहरूको सामाजिक सेवा इकाइलाई स्वास्थ्य बीमाको सम्पर्क बिन्दुका रूपमा विकास गरिनेछ, जसले बीमितहरूलाई आवश्यक परामर्श सेवा प्रदान गर्ने। गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सेवा प्रदायक संस्थाहरुमा क्रमिक रुपमा जनशक्ति, पूर्वाधार, औजार उपकरण, तथा सेवा विस्तारको व्यवस्था मिलाउने । यस सन्दर्भमा जनशक्ति तथा पूर्वाधार थप गर्न हामीले प्रस्ताब समेत गरिसकेका छौं ।

४. स्वास्थ्य बीमा बोर्डबाट कार्यान्वयन गर्ने विषयहरू

स्वास्थ्य बीमा बोर्डको संस्थागत संरचना सुदृढ गर्दै प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन गरी तिनलाई सक्रिय बनाउने । बोर्डका विनियमावलीहरू परिमार्जन तथा नयाँ आवश्यक विनियमावली जारी गर्ने ।

पारदर्शिता, प्रभावकारिता, तथा जवाफदेहितालाई सुनिश्चित गर्न बीमासम्बन्धी सेवाहरूको प्रभावकारी कार्यान्वयन गर्ने । बीमा कार्यक्रमको दिगोपनका लागि प्रिमियम तथा वित्तीय व्यवस्थापनका सुधारहरू लागु गर्ने । साथै, बीमाका लागि डिजिटल तथा प्रविधिमैत्री सेवा प्रणाली लागू गरी बीमितहरूलाई सहज र द्रुत सेवा उपलब्ध गराउने ।

स्वास्थ्य बिमाका लागि राष्ट्रिय प्रतिवद्धता –

उपस्थित सबैमा -हामी आग्रह गर्न चाहन्छौं,

स्वास्थ्य बीमा केवल एउटा कार्यक्रम मात्र होइन, यो नेपालका प्रत्येक नागरिकको स्वास्थ्य सम्बन्धी सुरक्षा प्रत्याभूत गराउने सामाजिक सुरक्षाको अभिन्न अंग हो । सामाजिक सुरक्षाको बृहत्तर योजना हो । यसको कार्यान्वयनका लागि राष्ट्रिय संकल्प ( State Commitment ) को आवश्यकता हुन्छ, यसका लागि हामी सबैले आ-आफ्नो क्षेत्रबाट आवश्यक कार्य गर्नुपर्छ ।

सामान्य बुझाई समेत के हो भने – स्वस्थ समाजले मात्र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्न सक्छ । जब कुनै देशका नागरिक स्वास्थ्य उपचारका लागि कहाँ कसरी गर्ने भनेर चिन्ताले होइन, आशाले बाँचेका हुन्छन् तब मात्र त्यो देश सशक्त र समृद्ध बन्छ ।

जसरी कुनै देशले विकास गर्ने सडक, भवन, पुल, विमानस्थल वा कुनै पूर्वाधार वा संरचनालाइ राष्ट्रिय गौरवका परियोजनाका रूपमा राखेको हुन्छ, त्यो भन्दा माथि र ठूलो संरचनामा – स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ देश बनाउने संकल्प राखेको हुनुपर्छ तब मात्र – स्वस्थ नागरिकले आर्थिक उत्पादन बढाउन सक्छन्, विज्ञान र प्रविधिमा योगदान दिन सक्छन् र राष्ट्रलाई उन्नतितर्फ लैजान सक्छन् ।

त्यसैले हामी चाहन्छौं – यो देशको कुनै एउटा नागरिक वा उसको परिवार वा आफन्तले – आफ्ना परिवारको सदस्य वा आफन्तलाई अस्पताल लैजानु पर्ने अवस्था आइपर्यो भने – उसलाई उपचार खर्चको चिन्ताले होइन, उपचार पाउने विश्वासले मन हलुका हुन सकोस् र त्यस्तो उपचार सेवामा कुनै विभेद नहोस् –

तब मात्र नागरिकले देश प्रति अपनत्व महसुस गर्न सक्छन् । सरकार भएको आभास गर्न सक्छन् ।

त्यसैले – हामीले बारम्बार भन्दै आएका छौं – स्वास्थ्य बीमा, स्वास्थ्य मन्त्रालयको एउटा कार्यक्रमका रुपमा मात्र होइन, सिंगो देशको राष्ट्रिय गौरवको योजना बन्नु पर्छ र यसको कार्यान्वयन गर्न सिंगो राष्ट्रिको बलियो प्रतिवद्धता चाहिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रम त्यतिबेला मात्र प्रवाभकारी रुपमा कार्यान्वयन हुन्छ जब यों तीनै तहको सरकारको साझा दायित्व बन्छ

यसका लागि – संघीय सरकारले नीति निर्माण गर्ने, बजेट तथा स्रोत साधनको व्यवस्थापन गर्ने, प्रदेश सरकारले यसलाई प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्रको रूपमा समन्वयकारी भूमिका खेल्ने र स्थानीय सरकारले जनस्तरमा स्वास्थ्य सेवाको सहज उपलब्धता सुनिश्चित गर्न कार्यक्रम संचालन गर्ने ।

संघीय सरकारले नीतिगत स्पष्टता नबनाएसम्म, प्रदेश सरकारले प्रभावकारी व्यवस्थापन नगरेसम्म र स्थानीय सरकारले सेवा प्रवाहलाई सहज नबनाएसम्म बीमाको पूर्ण लाभ नागरिकसम्म पुग्न सक्दैन।

तीनै तहका सरकारले आ-आफ्नो भूमिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गरे मात्र स्वास्थ्य बीमा कार्यक्रम अझ सफल, दिगो र प्रभावकारी बन्न सक्छ। त्यसैले, यसको स्थायित्व र समग्र प्रभावकारिताका लागि तीनवटै तहका सरकार जिम्मेवार हुनुपर्छ।

उपस्थित सबैमा अनुरोध गर्न चाहन्छु – हामी सरकारमा आएदेखि नै स्वास्थ्य बीमाको सुधारलाई हाम्रो प्राथमिकतामा राखेका छौं। यसका लागि हामीले मुख्यत निम्न बिषयलाई प्राथमिकतामा राखेर यसको प्रवाभाकारी व्यवस्थापन गर्न खोजिरहेको सबैमा अनुरोध गर्न चाहन्छौं

१. छरिएर रहेका कार्यक्रमलाई एकीकृत गर्ने

–    नेपालमा स्वास्थ्य सेवा प्रवाहका लागि तिनै तहका सरकारबाट सामाजिक सुरक्षाका विभिन्न योजना तथा कार्यक्रम अभ्यासमा छन् । जसमध्ये- सामाजिक सुरक्षा कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, खाद्यान्न, पोषण, स्वास्थ्य, शिक्षा, श्रम तथा रोजगारी लगायतका यसरी तहै पिच्छे छरिएर रहेका तथा दोहोरोपना देखिएका सबैलाइ एकीकृत गर्ने

–    बिमित, सरकार र रोजगारदाता सबैको लागत साझेदारीमा एकीकृत कोषको व्यस्थापन गरी बीमा सदस्यबाट प्राप्त प्रिमियम, हाल विनियोजन हुदै आएको नियमित बजेट,  स्वास्थ्य उपचारसंग सम्बन्धित सामाजिक सुरक्षा अन्तर्गतका सबै कार्यक्रम एकै ठाउँमा ल्याउने

२. सबैलाई अनिवार्य स्वास्थ्य बीमा

–    आम नागरिकलाई समेटिने अनिवार्य स्वास्थ्य बीमा योजनामा निजामती, सेना, प्रहरी लगायत अन्य सरकारी सेवामा रहेका र संगठित क्षेत्रमा कार्यरत सबैलाई क्रमिकरुपमा आवद्ध गर्ने ।

–    हिजो राज्यका विभिन्न संयन्त्र मार्फत; संचयकोष, नागरिक लगानी कोष लगायतबाट उपलब्ध स्वास्थ्य सेवा एकीकृत भएपछि अब बीमा मार्फत नै सो सेवा उपलब्ध हुन्छ ।

–    यसरी उपलब्ध सेवामा सो समुहका लागि हिजो पाउँदै आएको सुविधा नघट्ने सुनिश्चित गरि बीमा लागु गर्ने

३. योगदानमा आधारित सुरक्षित बीमा प्रणालीको विकास गर्ने

–    नियमित पारिश्रमिक प्राप्त गर्ने सबै नागरिकबाट आम्दानीको निश्चित प्रतिशत बीमामा योगदान गर्न अनिवार्य गर्ने र यसरी योगदान पुर्याउनेहरुलाई आधारभुत प्रिमियम तिर्न नपर्ने गरि स्वास्थ्य बीमाको व्यवस्था

–    आम्दानीसंग नजोडिएका र आर्थिक अवस्था कमजोर भएकालाई नियमित आम्दानी वा रोजगारी नहुँदासम्मको लागि बीमा प्रिमियम छुट दिने व्यवस्था मिलाउने

–    पूर्ण रुपमा प्रिमियम अनुदान प्राप्त गर्ने समूहमा परेका अतिविपन्न, जेष्ठ नागरिकहरू, गम्भीर रूपमा अपाङ्गता भएका व्यक्ति लगायत महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकहरूका लागि अहिले कायम रहेको अनुदान नघट्ने गरी नै सुविधा सुनिश्चित गर्ने

४. प्रगतिशील प्रिमियम, जोखिम वितरण तथा सुपथ मुल्यका आधारमा बीमा थैली निर्धारण गर्ने

–    बीमालाई व्यवस्थित र प्रगतिशील बनाउन आम नागरिकबाट प्राप्त योगदान बापतको रकम एकत्रित गरेर वित्तीय जोखिम वितरण गर्ने

–    विभिन्न तहका प्रगतिशील प्रिमियम प्रणाली कायम गरी बीमा कोष संचालन गर्ने र जुनसुकै स्तरको प्रिमियम भुक्तानी भए तापनि स्वास्थ्य उपचार समान प्रकारको हुने

–    यसले भुक्तानी क्षमताको आधारमा निष्पक्ष योगदान प्रणाली सुनिश्चित गरी, सामाजिक समानतालाई समेत प्रवर्द्धन गर्ने

५. विविध क्षेत्रबाट स्रोत संकलन गरि बलियो कोषको व्यवस्थापन गर्ने

–    यसको दीर्घकालीन वित्तीय स्रोत सुनिश्चित गर्न नविनतम क्षेत्रको पहिचान तथा अन्य स्रोतहरूलाई एकीकृत गर्ने

यसका लागि मानव स्वास्थ्य संग जोडिएका तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका केहि क्षेत्रका बारेमा हामीले छलफल समेत गरिरहेका छौं – जस्तै: ठूलो कर्पोरेट संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको रकम, स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तथा प्रदुषणमार्फत प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने क्रियाकलापमा लगाउने कर, सुर्तिजन्य तथा मधिराजन्य वस्तुहरूमा लिईदै आएको कर, अधिक चिनीजन्य खाद्य वस्तुमा लगाउन सकिने कर, वातावारण प्रदूषणमा दखल पुर्याईरहेका उद्योग तथा कलकारखनाले तिर्दै आएको कर, रिचार्ज कार्डमा हाल तिर्दै आएको कर नबढ्ने गरी त्यसको सानो हिस्सा स्वास्थ्य बीमामा ल्याउने, खाना पकाउन दैनिक प्रयोग हुने ग्यास, मट्टितेल लगायतका अति प्रज्वलनशील पदार्थ तथा विद्धुत महसुल (प्रति युनिट)मा पनि आम नागरिकलाई थप आर्थिक भार नथपिने गरी थोरै रकम बीमा कोषमा ल्याउन सकिने, हवाई तथा लामो र मध्यम दूरीमा संचालन हुने सार्वजनिक यातायातको टिकटमा आम नागरिकलाई थप आर्थिक भार नपर्ने गरी हाल कायम दुर्घटना बीमालाइ समेत व्यवस्थित गरेर बीमा कोषमा ल्याउन सकिने ।

यस्ता अन्य थुप्रै क्षेत्र छन् जसका बारेमा हामीले छलफल गर्न सक्छौं ।

६. तीन तहको सरकार बिच सहकार्य गर्ने

–    संघ, प्रदेश र स्थानीय तहका ७६१ वटै सरकारले अपनत्व लिन सक्ने गरी वर्तमान स्वास्थ्य बीमा प्रणालीको पुनर्संरचना गर्ने र राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षाको क्षेत्रमा एक नमुना कार्यक्रमको रुपमा अगाडि बढाउने ।

बीमा लागु भए पछी के हुन्छ ?

यसरी, क्रमिक रुपमा, स्वास्थ्य बीमाको दयारा विस्तार र पूर्ण कार्यान्वयन भएपछि, हामीसँग मुख्यतः दुई प्रमुख स्वास्थ्य प्रणालीहरू हुनेछन्: भन्ने हाम्रो विश्वास रहेको छ

जसमा पहिलो– स्थानीय तहमार्फत निशुल्क आधारभूत स्वास्थ्य सेवा र

दोश्रो-  जटिल तथा गम्भीर प्रकारका रोगको (विशिष्टिकृत) उपचारका लागि स्वास्थ्य बीमा प्रणाली ।

त्यसपछि, यी  दुवै प्रणाली मार्फत आम नागरिकहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै एकीकृत र सशक्त स्वास्थ्य प्रणालीको विकास हुनेछ ।यस्तो प्रणालीमामार्फत प्रदान हुने औषधी तथा उपचार सेवाको दोहोरोपना हटेर व्यवस्थित हुनेछ । आपतकालीन बाहेकका, सामान्य उपचार आधारभूत स्वस्थ्य केन्द्रमार्फत र विशिष्टिकृत उपचारका लागि मात्र ठूला अस्पतालमा जानुपर्ने गरि व्यवस्थित रिफरल प्रणालीको विकास हुनेछ ।

साथै, बीमा कोषको मितव्ययिता कायम गरी दावी भुक्तानि प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित हुनेछ ।

त्यसैले- हामीले भन्ने गरेका छौं :- स्वास्थ्य क्षेत्रमा डीपार्चार चाहिएको छ र त्यो बीमाको दिगो व्यवस्थापन र विस्तारबाट नै सम्भव छ ।

यसका लागि  सबैका लागि सधैंका लागि: स्वास्थ्य बीमा भन्ने मूल उधेश्यका साथ हामीले यस कार्यक्रमलाई विस्तार गर्न चाहेको उपस्थित सबैमा अनुरोध गर्न चाहन्छौं ।

यति मात्र होइन, नेपालको स्वास्थ्यसम्बन्धी संवैधानिक दायित्व पूरा गर्ने तथा आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य बीमा कार्यक्रम – एउटा महत्वपूर्ण प्रस्थान विन्दु हो । यसैको जगमा टेकेर विश्वव्यापी मान्यताको स्वास्थ्यमा सर्वव्यापी पहुँच स्थापित गर्न र दिगो विकासको स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न सहयोग पुर्याउने खुड्किलोका रूपमा यसलाई हामीले अघि बढाउन खोजेका छौं ।

त्यसैले हामी सबैमा पुन: आग्रह गर्न चाहन्छौ- आम नागरिकलाइ स्वास्थ्य सुरक्षा प्रदान गर्न – आजको सबै भन्दा उत्तम बिकल्प – स्वास्थ्य बीमा कार्यक्रम हो

यसका लागि – कुनै पनि नेपाली नागरिकले ढुक्कसंग उपचार गराउन पुग्ने गरी स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने हाम्रो तयारी छ ।

अपिल

उपस्थित सम्पूर्ण महानुभावहरु,

हामी कोहि पनि बिरामी हुन वा रोग लागोस् भनेर कल्पना समेत गर्न सक्दैनौ तर हाम्रो जीवनमा अप्रत्याशित घटना भइरहेका हुन्छन् । सबै किसिमले ठिक ठाक व्यक्ति होस् वा आज पूर्ण रूपमा स्वस्थ रहेको जो कोहि को पनि भोलिका बारेमा भविष्यवाणी गर्न सकिने हुँदैन । त्यसैले, हामि आगामी दिनमा जीवन अझ सरल होस् भनेर संघर्षरत र्छौं भोलि केहि आइपर्न सक्छ भनेर बचत गर्छौं

हुनत: बचत गर्न हामी संग थुप्रै उपाय र मध्यम छन्, उपचार गर्न खर्च आवश्यक पर्यो भने त्यै बचतबाट गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ । अनि प्रश्न आउन सक्छ – स्वास्थ्य बीमा नै किन ?

हामी आग्रह गर्न चाहन्छौं – स्वास्थ्य बीमामा आबद्ध भइ गरेको बचत विवेकपूर्ण निर्णय हो । यो निर्णय केवल आफ्ना लागि मात्र होइन, आफ्नो परिवार, समाज र सिंगो देशका लागि पनि हो ।

यो देशको नागरिक भएर हामीले आफ्नो हक संगै आफुले पुरा गर्नुपर्ने जिम्मेवारी पनि बोध गरेर जान सक्नुपर्छ । राज्यको कार्यक्रम सँग जोडिनु पर्छ र यसको अपनत्व लिएर राज्यलाई सहयोग गर्नु पर्छ ।

  • स्वास्थ्य बीमा नै किन ? भन्ने सन्दर्भमा आम नागरिक संग हामी केहि आग्रह गर्न चाहन्छौं

मैले माथि भने जस्तै  – जीवनमा अप्रत्याशित घटना कुन बेला र कसरी हुन्छ त्यसको भविष्यवाणी गर्न सकिदैन – त्यसैले –स्वास्थ्य सम्बन्धि सम्भावित जोखिमलाइ न्यूनीकरण गर्न र विशेष गरि स्वास्थ्य उपचारका लागि आवश्यक पर्दा सहज रुपमा यस्तो खर्च जुटाउन-

वा, मानौं रोग लागि हाल्यो वा उपचार गर्न पर्ने भयो वा रोग नै लाग्न नदिन समेत नियमित परिक्षण गर्न पनि – हामीलाई खर्च चाहिन्छ

यसका लागि – स्वास्थ्य बीमा आजको दिनको उत्तम बिकल्प हो

यति मात्र होइन,

  • स्वास्थ्य बीमा समयमै उपचार गर्नका लागि प्रोत्साहित गर्ने आधार हो

कतिपय अवस्थमा हामी आर्थिक अभावमा, त, कतिपय अवस्थमा यस्तो सोचमा पनि हुन्छौं  – कि उपचार गर्न खर्च छैन बिस्तारै गरौंला वा अलि अलि मात्र दुखेको छ, अलि अलि असजिलो मात्र छ बिस्तारै चेकजाँच गरौंला  भनेर अटेर गरेर यतिकै बस्छौं, त्यस पछि रोग छिपिदै जान्छ – जोखिमको स्टेज बढ्दै जान्छ र हामी अन्तिम अवस्थमा हतार हतार अस्पताल जान्छौं

तर, तपाई सँग स्वास्थ्य बीमा छ भने – सामान्य अवस्था वा कम जोखिम हुनु अगाबै  तुरुन्तै जाने सुविधा हुन्छ । स्वास्थ्य बीमाले तपाईंलाई समयमै उपचार प्राप्त गर्न प्रोत्साहित गर्छ, जसले गर्दा तपाईंको उपचार प्रक्रिया छिटो हुन्छ र जीवनलाई जोखिमबाट बचाउँछ ।

  • स्वास्थ्य बीमा समाजको समग्र प्रगति र भविष्य को आधार पनि हो

स्वास्थ्य बीमा स्वास्थ्य उपचार गर्न केवल एक वैकल्पिक उपाय मात्र होइन, यो हाम्रो समाजको समग्र प्रगति र भविष्यको आधार पनि हो -जसले – सबै नागरिकलाइ समान र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न र उपचारमा लाग्न सक्ने आर्थिक भारलाइ क्रमिक रुपमा न्यूनीकरण गर्दै लैजानका लागि देशलाई समेत ठुलो सहयोग पुग्नेछ

यो संगै,

हामीलाई विश्वास छ – स्वास्थ्य बिमाले सामाजिक सुरक्षा को भावना विकास गर्नेछ :

एउटा देशका लागि हरेक नागरिक समान हुन्छन् र हरेक नागरिकले सहज र सर्वसुलभ रुपमा उपचार सेवा पाउनु पर्छ यस्तो उपचार गर्दा सबैलाई समान अवसर प्राप्त हुनु पर्छ हामीले खोजेको समाजवाद पनि सबैको समान पहुँच र अवसर संग जोडिएको छ । हामीले खोजेको लोकतन्त्रले यहि भन्छ

त्यसैले – स्वास्थ्य बीमाले कोही पनि नागरिक उपचारको अभावमा आर्थिक वा मानसिक पिडामा नपरुन् वा उपचार सेवामा कसलाई पनि भेदभाव नहोस् भनेर बिध्यमान अवस्थामा स्वास्थ्य उपचारको पहुँच र अवसर प्रदान गर्न –  स्वास्थ्य बीमा एउटा पारदर्शी र समावेशी प्रणालीको रुपमा विकास हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

  • स्वास्थ्य बीमा जटिल रोगको रोकथामका उपायहरूमा सुधार ल्याउन एउटा महत्वपूर्ण अधार हो

हामी के विश्वास गर्छौं भने – यदि तपाईं बीमामा आवद्ध हुनुहुन्छ भने तपाईं नियमित स्वास्थ्य जाँच गर्नका लागि थप खर्च जुटाइ रहन पर्दैन, सो काम तपाइले बीमा बाटै गर्न सक्नुहुन्छ ।

यसरी नियमित रुपमा चेकजाँच गराउंदा समस्याहरू छिटो पत्ता लाग्न सक्छन् र समयमै उपचार गर्न सक्नुहुन्छ । यस्तो अभ्यासले बिस्तारै प्रारम्भिक उपचार गर्ने संस्कृतिको विकास हुदै जान्छ र आगमी पुस्ताका लागि समेत समयमै उपचार गर्न प्रेरणा मिल्छ । जसले गर्दा- कालन्तरमा – व्यक्ति, परिवार र समाज हुँदै सिंगो देशको स्वास्थ्य उपचार सम्बन्धि खर्चलाइ क्रमिक रुपमा कम गर्दै लैजान्छ र जटिल रोगको रोकथामका उपायहरूमा सुधार ल्याउन एउटा महत्वपूर्ण अधार बन्छ ।

घ.  स्वास्थ्य बीमाले हाम्रो स्वास्थ्य क्षेत्रमा हुने लगानीको पारदर्शिता र विश्वसनीयता कायम गराउनेछ

स्वास्थ्य बीमा प्रणालीमा जोडिएर गरिने औषधि उपचार लगायतका धेरै जसो कार्य डिजिटल मध्यमबाट गरिदै आइएको छ र अब यसलाई अधिकतम रुपमा विकास गरि पूर्णतया डिजिटल मध्यम बाट हुने गरि हामीले विकास गर्नेछौं । जसले औषधि उपचारका क्रममा लाग्ने सबै खर्च र प्रक्रियाहरूको बारेमा ट्र्याक राख्नेछ  र कुनै प्रकारको  फेक क्लेम तथा अनियमितता हुन नदिन सहयोग पुग्नेछ । अस्पतालको आम्दानी र खर्च समेत पारदर्शी हुनेछ ।

ङ.  स्वास्थ्य बीमा आम नागरिकका लागि समाज निमार्णमा महत्वपूर्ण हिस्सा भएर उभिने अवशर पनि हो ।

स्वास्थ्य बीमामा सहभागी हुनु भनेको तपाईं र तपाइको परिवारको उपचारको सुरक्षा खोज्नु मात्र होइन, जिम्मेवार नागरिक भएर राज्यको कार्यक्रम सँग जोडिने, सहकार्य गर्ने, सचेतना विस्तार गर्ने र  समृद्ध समाज निमार्णमा महत्वपूर्ण हिस्सा भएर उभिने अवशर पनि हो ।

स्वास्थ्य बीमा तपाईंको अधिकार हो  र यो संगै आफ्नो हकको सदुपयोग गर्नु तपाईंको जिम्मेवारी पनि हो ।

अन्तमा: हामी पुन आग्रह गर्न चाहन्छौं – स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सीमित नराखी, यसलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक छ। यस कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति-निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य छ।

यसका लागि, मन्त्रालयको तर्फबाट – सम्माननीय प्रधानमन्त्रीज्यू तथा सिंगो संसदको सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालय मार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटी एकीकृत व्यवस्थापन गरिनेछ । यसरी छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाइ क्रमशः एउटै छातामुनि ल्याई उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित  र नागरिकमैत्री बनाइनेछ ।

यस कार्यमा सहयोग गर्न सबमा अनुरोध …………………………………

र, स्वास्थ्य बीमालाइ हामी सबैको साझा- जिम्मेवारी हो भन्ने सम्झेर यसमा आबद्ध हुन सबैमा अपिल ………………………………….

प्रतिवेदन

धन्यवाद!

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ