मधुमेह भन्नाले हाम्रो रगतमा भएको ग्लूकोजको मात्रा भन्ने बुझिन्छ । यसलाई ‘ब्लड सुगर’ पनि भनिन्छ । सुगर प्रत्येक व्यक्तिको शरीरमा पाइने आवश्यक तत्व हो । सामान्यतयाः कुनै पनि व्यक्तिको सुगर खाली पेटमा परीक्षण गर्दा १२६ र खाना खाएर गर्दा २२० भन्दा माथि भएको अवस्था र शरीरमा हेमोग्लोबिन ए.वन.सीको मात्रा ६.४ भन्दा माथि भएको अवस्थामा हामी त्यसलाई सुगर भन्छौं ।
सुगर विभिन्न प्रकारका भएतापनि प्रायजसोः व्यक्तिहरुमा यसको टाइप १, टाइप २ र जिडिएमएको अवस्था बढी मात्रामा देखा पर्दछ । हाम्रो शरीरमा रहेको प्यान्क्रियाजले खाना पचाउने तथा सुगरको मात्रा नियन्त्रण गरी इन्सुलीनको उत्पादन गर्दछ । तर, कहिलेकाहीं हाम्रो शरीरमा इन्सुलीन नहुने समस्या पनि देखा पर्दछ । त्यस्तो अवस्थालाई भने हामी टाइप १ मधुमेह भन्छौं ।
यसैगरी इन्सुलीन भएतापनि कम रहेको वा पर्याप्त मात्रामा नरहेको अवस्थालाई भने हामी टाइप २ मधुमेह भन्दछौं । टाइप १ मधुमेह व्यक्तिमा जन्मजात रुपमा देखिने भएतापनि टाइप २ मधुमेह भने धेरै तथा बढ्दो उमेर समूहका व्यक्तिहरुमा देखा पर्ने गरेको पाइन्छ । यसैगरी अन्य समयमा सुगर नभएको महिलाहरुमा गर्भ अवस्थाको दौरानमा भने इन्सुलीनमा भएको गडबडीका कारण सुगर पोजिटिभ देखाउने सम्भावना रहन्छ । यसरी २४ हप्तादेखि २८ हप्ताबीचको गर्भवती महिलामा सुगरको अवस्था पोजिटिभ देखाएको अवस्थालाई भने ‘जिडिएम’ भनिन्छ ।
प्रारम्भिक लक्षणहरु
कुनै पनि व्यक्तिमा सुगर भए वा नभएको संकेत हामीले हाम्रो शरीरमा देखा परेको लक्षणबाट पनि थाहा पाउन सकिन्छ । सुगर लागेका व्यक्तिहरुमा साझा रुपमा निम्न लक्षणहरु देखा पर्दछ ः
- वजन घट्नु
- भोक तथा तिर्खा लाग्नु
- छिनछिनमा पिसाब लागि रहनु
- थकान तथा कमजोरीको महशुस हुनु
- शरीर चिलाउनु
- टाउको दुख्नु
- एकध्यान हुन नसक्नु
- आँखाको दृष्टिमा कमी आउनु
रोकथाम तथा बच्ने उपाय
हामीले आवश्यक भन्दा बढी मात्रामा कार्वाेहाइड्रेटयुक्त खानाहरु खाएको खण्डमा इन्सुलीनमा आएको गडबडी कारण व्यक्तिमा सुगर देखा पर्दछ । तसर्थ, यसको निमित्त हामीले कार्वाेहाइड्रेटयुक्त खानाको प्रयोग धेरै गर्नु हुँदैन ।
उपचार विधि
सुगरको उपचारको सन्दर्भमा भने, टाइप १ सुगरको निमित्त हामीले ‘इन्सुलीन’ नामक खोप र टाइप २ सुगरको निम्ति भने औषधि वितरण गर्छौ । तर, औषधिको प्रयोगका बाबजुद पनि सुगर नियन्त्रण नआएको अवस्थामा भने उक्त बिरामीहरुलाई पनि इन्सुलीन खोप नै दिनुपर्ने हुन्छ ।
अधिकांश व्यक्तिहरु यस्ता समस्याबाट ग्रसित भएको धेरै समयपछि मात्रै चिकित्सकको सम्पर्कमा आउने गर्छन् । उनीहरु शरीरमा यस्ता लक्षण देखिनु सामान्य मान्छन् । तर, सुगरले व्यक्तिको आँखा, मिर्गौला, खुट्टा र शरीरको अन्य भागमा समेत असर पार्ने भएकोले हामीले यसलार्ई सामान्य रुपमा लिनु हुँदैन । तसर्थ व्यक्तिमा यस्ता समस्या देखा पर्ना साथ हामीले तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।
मैले माथि उल्लेख गरे झैं सुगर प्रत्येक व्यक्तिको शरीरमा पाइने आवश्यक तत्व हो ।
तसर्थ, यो पूर्ण रुपमा निको हुन्छ भनेर सोच्नु गलत धारणा हो । उपचार तथा औषधिले शरीरमा घटबढ रुपमा देखा परेको सुगरको मात्रालाई व्यवस्थित गराउने मात्रै हो । यस्तै कतिपय अवस्थामा सुगरका बिरामीहरुमा औषधिको मात्रा प्रयोग गर्दा गर्दै पनि सुगर नियन्त्रणमा नआउने हुन सक्छ । यसको निम्ति औषधि प्रयोग गरिरहेका बिरामीले निम्न कुराहरुमा विशेष ध्यान पुर्याउनु पर्दछ :
- औषधिको सेवनको सम्बन्धमा चिकित्सकसँग आवश्यक जानकारी लिने
- नियमित रुपमा औषधिको सेवन गर्ने
- अनुशासित रुपमा चिकित्सकले दिएका सुझावहरु पालन गर्ने
- चिल्लो, नुन र मसालायुक्त खानाबाट टाढै रहने
- गुलियो र चिनी भएका खाना तथा अन्नहरुको प्रयोग नगर्ने
- आवश्यक शारीरिक ब्यायाम गर्ने
- प्रशस्त मात्रामा पानी पिउने
- मदिरापान तथा धुम्रपानबाट टाढा रहने ।
प्रस्तुतीः सृजना मगर