देशमा गणतन्त्र आइसकेपछि २०६८ सालमा तत्कालिन संविधान सभा ले बिशेष निर्णय गर्दै साविक को कर्णाली अञ्चल अस्पताललाई स्वास्थ्य विधाको पढाइ गर्ने गन्तब्यको रुपमा विकसित गर्न र अस्पतालको स्तर वृद्धि गर्ने ऐतिहासिक निर्णय गर्यो ।
यसको लागि सिंगो जुम्ली नागरिक समाज, सम्पूर्ण राजनैतिक दलहरु र माथिल्लो कर्णालीका सरोकारवालाहरुको पहललाई खुल्ला हृदयले आभार ब्यक्त गर्नुपर्छ । रोग,भोक, अशिक्षा, गरिबी अनि राज्यसंग धेरै अर्थमा नजोडिएको माथिल्लो कर्णालीको समस्त विकासको लागि प्रतिष्ठानको स्थापना एउटा कोशेढुङ्गा नै हो ।
सिटामोलको अभावमा ,जीवन जलको अभावमा , साधारण सुत्केरी व्यथा हुँदा ,सामान्य प्रकोप फैलिँदा पनि मृत्युवरण गर्न विवश जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न हर सम्भव उचित व्यवस्थापन गर्न सक्ने आधार हो कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान । स्वास्थ्य सेवा प्रदान गर्नुको अलावा चिकित्सा शिक्षा को क्षेत्रमा पनि प्रतिष्ठानले आफ्नो यात्रा जारि गरेको छ ।
यस प्रतिष्ठानको डिनमा नियुक्ति भएर म आएको डेढ बर्ष मात्र भयो तर हामीले एम बिबिएस मा पचास सिट ९पहिला दुइ बर्ष ३० प्रदान गरिएको थियो । सुरु गर्यौ जसलाई यस बर्ष पनि निरन्तरता दिन सफल भयौ । इतिहासमै पहिलो पटक ३ भारती बिद्यार्थी जुम्लामा एम बिबिएस अध्यन गर्न आउनुभयो ।
पब्लिक हेल्थ र फार्मेसी तर्फ़ बिगतको बर्ष अनि नरसिंह संकाय तर्फ़ यसै वर्षबाट स्नातकोत्तर कार्यक्रम सुरु गर्न सफल भयौ। साथै अन्तराष्ट्रिय रुपमा लोकप्रिय संकाय को स्नातक कार्यक्रम ब्याचलर अफ साइन्स इन नर्सिङ ९बिएससि नर्सिङ्ग० कार्यक्रम गत बर्षबाट सुरु गर्न सक्नु एउटा ठुलो उपलब्धी हो ।
यो हामी सबै पदाधिकारी र शिक्षक अनि कर्मचारी र जनताको साझा प्रयासले मात्र सम्भव भएको हो । आगामी दिनहरुमा यसरी नै सबैको साथ सबैको सहयोग र सबैको सहकार्यमा अरु नयाँ नयाँ कार्यक्रम जुन समय सापेक्षिक छन् र जसले स्वास्थ्य प्रदायक जनशक्तिको मागलाई सम्बोधन गर्न र थप्न हामी कटिबद्ध छौं ।
प्रतिष्ठानले कसरी माथिल्लो कर्णालीको स्वरुप परिवर्तन गर्न सक्छ ?
माथिल्लो कर्णाली धेरै अर्थमा राज्य संग टाढा छ। स्वास्थ्य, मौलिक अधिकारको रुपमा हाम्रो संबिधानमा लेखिएको छ ।
सुगम र बाटा घाटा सहज हुने स्थानहरुमा त जनताले कमसेकम स्वास्थ्य सेवा पाउने आशा रही रहन्छ तर भौगोलिक विकटता र अप्ठेरो यातायात भएको माथिल्लो कर्णाली अनि सुदुरपश्चिमका केहि भूगोलहरूमा जनताको स्वास्थ्य सेवा पाउने चाहना र आवश्यकता हुदा हुदै पनि नपाउने दुखद यथार्थ छ।
स्वास्थ्य सेवामा सरल पहुँच र सबैको पहुँचको लागि स्थापना गरिएको यस प्रतिष्ठानलाई तिन तहको सरकारले अझै बलियो बन्न मदत गरे हामी जनताको स्वास्थ्य सेवामा पहुँच पाउनुपर्ने मौलिक अधिकार पुरा गराउन तत्पर छौ ।प्रादेशिक सरकार अझै पनि हामीलाई केन्द्रिय अस्पतालको जन ले मात्र हेर्छ, हिजो काठमाडौंले विभेद गरेको महशुश हुने माथिल्लो कर्णालीका जनता आजकल सुर्खेतसँग पनि सशंकित छन ।
प्रदेश सरकार र प्रदेशका बासिन्दा बीचको पूल हामी बन्न तयार छौ । सुर्खेत अस्पतालले आजको समयमा गरेको प्रगति साच्चै नै तारिफ योग्य छ। हामी सुर्खेत प्रादेशिक अस्पतालसँग मिलेर काम गर्न इच्छुक छौ ।
प्रादेशिक अस्पताल र हाम्रो प्रतिष्ठान सहकार्य र समझदारीमा अगाडी बढ्दा सम्पूर्ण कर्णालीको स्वास्थ्य सेवामा देखिने गरि परिवर्तन गर्न सकिनेछ । यसमा फाइदा सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक ,कर्मचारी अनि सेवाग्राहीलाई पनि हुने छ । प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुलाई शैक्षिक पद (Faculty Position ) प्रतिष्ठान नियम अनुसार सहजीकरण गरि प्रदान गरिने छ । सुर्खेतसँग मिलेर अगाडी बढ्दा हामीलाई पनि चिकित्सा विधाका अन्य विषयहरुको पढाई सुरु गर्न सहज हुने छ ।यसमा एमबिबिएसको सिट संख्या सय पुर्याउन मदत मिल्ने छ । जसले एक अर्थमा हामीलाई आत्मा निर्भर बनाउने छ ।
एमडि/एमएसको अरु विषयमा पढाइ हुन समस्या हुनेछैन । सुर्खेत प्रादेशिक अस्पताललाई सुपर स्पेशलिटी अस्पताल र शिक्षण संस्थाको रुपमा विकासित गर्न सजिलो हुनेछ । डिएम/एमसिएचको पढाई सुरु गर्न सक्दा दक्ष जनशक्तिको ठुलो स्रोत हामी माझ हुनेछ । यो दक्ष जनशक्तिलाई कर्णालीका सबै स्थानमा वैज्ञानिक तवरले खटाउदा जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् ।
प्रादेशिक अस्पताल भए पनि प्रतिष्ठा संग जोडिँदा केन्द्र सरकारको लगानीमा अस्पतालको स्तरोन्नति र वृतिबिकाशको लागि संयुक्त पहल हुने छ। प्रादेशिक सरकार प्रतिष्ठान र सुर्खेत अस्पताल त्रिपक्षीय बसेर पुरै कर्णालीको उपचारात्मक सेवाको जिम्मा प्रतिष्ठान र सुर्खेत अस्पतालले लिन सके प्रादेशिक सरकार आफ्नो मातहतका जनस्वास्थ्य कार्यालयहरु मार्फत रोगहरुका निवारक र प्रवर्द्धक क्षेत्रमा ध्यान बढी दिन सक्ने छ। साथै दैविक प्रकोप अनि महामारीका बेला अपनाउनुपर्ने कार्यविधिहरुमा ध्यान केन्द्रित गर्न सक्ने छ ।
प्रतिष्ठानको अबको बाटो
सबै कुरा द्रुत गतिमा गए सम्भवतः अर्को महिना प्रतिष्ठानले नयाँ नेतृत्व पाउनेछ । नेतृत्व भन्ने बित्तिकै चुनौतिर अवसरसंगै आउछ । वर्तमान नेतृत्वले निर्माण गरेको शैक्षिक र स्वास्थ्य सेवाको जगमा टेकेर समय सापेक्षिक विधाहरूको अध्यापनलाई अगाडी बढाई प्रतिष्ठानका शैक्षिक कार्यक्रमको गुणस्तर वृद्धि गर्न अवसर नयाँ नेतृत्वलाई हुनेछ ।
साथै स्वास्थ्य सेवाको दायरामा वृद्धि गरि जनतालाई गुणस्तरीय तथा सुलभ स्वास्थ प्रदान गर्न अहिले बालिएको जगमा टेकेर अगाडी बढ्न राम्रो अवस्था छ । दुर्गमका जनताको स्वास्थ्य सेवासंगको पहुँचमा वृद्धि गर्न गरिबी र भौगोलिक कठिनाइले स्वास्थ सेवामा पहुँच नभएका जनताको स्वास्थ्य सेवा पाउने मौलिक हकको व्यवस्था गर्न स्थापित प्रतिष्ठान भएकोले राज्यले यो प्रतिष्ठानलाई अरु प्रतिष्ठान सरह हेर्नुहुँदैन ।
तर बेलाबेलामा राज्य संचालनमा पुगेका व्यक्तिहरुले संस्था स्थापनाको मूल,मर्म बिर्सिदिनु हुँदा प्रतिष्ठान नेतृत्वले बारम्बार राज्य संचालनमा बस्नु भएकाहरुलाई झक–झकाउनुपर्ने हुन्छ । राज्यले यथेस्ट रुपमा यदि बजेट बिनियोजन नगर्ने हो भने संस्था संचालनमा समस्या आउँछ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दुवैमा सम्झौता गर्नुपर्ने बाध्यता हुन्छ ।
प्रतिष्ठान आत्मनिर्भर हुने पथमा छ तर यो आजको भोलि हुने कुरा होइन । नयाँ आर्थिक वर्षको नजीक आउन लागेको नयाँ नेतृत्वको सबैभन्दा ठुलो चुनौती नै संस्थालाई यथेस्ट बजे बिनियोजन गराउने बिषयमा हुनेछ । यसको लागि अनुभवी वर्तमान नेतृत्वलाई साथ लिएर होस्टेमा हौसे गराउन सक्नु नयाँ नेतृत्वको कुशल र बुद्धिमान पूर्ण कार्य ठहरिने छ ।
सधै गरिबी, अभाव मात्र देखाए कर्णालीको अपमान हुनेछ । अपार सम्भावना बोकेको अनि काँचुली फेर्न आतुर कर्णाली हाम्रो प्रतिष्ठानको मार्फत नयाँ पहिचान बनाउन सक्छ । आउनु सयमा हातेमालो गरौ, संकल्प गरौ, तपाई, हामि सबै मिले कर्णालीको बहुआयामिक पहिचान भित्र चिकित्सा शिक्षालाई पनि समावेश गरौ।