काठमाडौं—पहिलो बरियतामा रहेर स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूमाथि पटक—पटक अन्याय गरेको बताएकी छन् । बिहीबार उनले पौडेलले आफूलाई विभागको महानिर्देशकबाट हटाउँदादेखि नै पटक-पटक अन्याय गरेको बताइन् ।
‘मसँग अन्याय भएको छ, यो भन्नका लागि न लाज छ न सर्म छ,’ डा. मिश्रले हेल्थआवाजसँग भनिन्, ‘स्वास्थ्यमन्त्रीले मसँग पटक—पटक अन्याय गर्नुभएको छ । महानिर्देशकबाट हटाउँदादेखि नै मसँग पटक-पटक अन्याय गर्नुभएको छ ।’
उनले १० वटा मन्त्रीसँग आफूले काम गरेको तर मन्त्री पौडेललाई मात्रै आफूसँग समस्या रहेको बताइन् । ‘म १० जना मन्त्रीसँग काम गर्दा समस्या नहुने प्रदीप पौडेललाई मसँग समस्या हुने, उहाँले मसँग के अपेक्षा गर्नुभएको थियो उहाँलाई नै सोध्नुहोस्,’ उनले भनिन्, ‘के खोज्नुभएको थियो । कुन—कुन कुरा हो उहाँलाई थाहा छ । त्योभन्दा मेरो केही छैन ।’ संगीता मिश्र नभएर संगीता पौडेल अथवा संगीता थापा भएको भए यो अन्याय नहुने उनको भनाइ थियो ।
डा. संगीताले आफूले यस्तो निर्णय राज्यबाट अपेक्षा नगरेकाले एकदमै चोट पुगेको बताइन् । ‘अहिले एकदम सकमा छु, मैले राज्यसँग यो अपेक्षा नै गरेको थिएन,’ डा. मिश्रले भनिन्, ‘किनभने, यो हुने हो भने बढुवा समितिको बैठक बस्नुपर्ने थिएन । १० जनाको नाम पठाएर जोलाई मन लाग्छ चुज गर्ने, यो नाटक किन गर्नुपर्यो र ?’
उनले आफूले स्वास्थ्यमा १५—२० वर्ष लगाएर यो तहमा पुगेको तर त्यसलाई अनुभव नभएको भन्दैं हास्यास्पद तर्क गरिएको दावी गरिन् । ‘एउटा मधेशी महिला १५—२० वर्ष लगाएर यहाँ पुग्ने अनि स्वास्थ्यको अनुभव भएन रे । सरकारीमा पो कम अनुभव थियो । मत झन प्राइभेट मेडिकल कलेजमा काम गरेको, सरकारी विकास समितिमा काम गरेको, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेको ।’
डा. संगीताले आफूले यति लामो समय ब्युटी पार्लर चलाएर नबसेको उल्लेख गरिन् । ‘स्वास्थ्यमा काम गरेको होइन् भन्ने के म ब्युटी पार्लर चलाएर बसेको थिएँ ।’
उनले आफूप्रति मिडियाले पनि बायस्ड गरेको दावी गरिन् । ‘मिडिया बायस्ड भयो । मेरो विरुद्धमा मिडिया किनियो,’ उनले थपिन्, ‘सबै कार्यक्रमको पैसाहरु अनावश्यक रुपमा मिडियातिर डाइभर्ट गरियो ।’
अब आफूले के गर्ने भन्ने विषयमा निर्णय नलिइसकेको उनको बताइन् । ‘के गर्छु भन्ने म अहिले सकमा छु । म विचार गर्छु ।’
बुधबार साँझ बसेको क्याबिनेट बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । डा. देवकोटाभन्दा डा. संगीता ६ महिनाअघि १२ औं तहमा बढुवा भएकी थिइन् । तर, सरकारले सचिवमा बढुवा गर्दा डा. संगीता सिनियर भएपनि बरियता मिचेर डा. विकासलाई सचिव बनाएको छ ।