२०८१ फागुन १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला

पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला

तस्करीमा संलग्न गिरोह खोज्दै प्रहरी


विराटनगर—प्यारासिटामोल इन्जेक्सन भारतबाट अवैध रुपमा तस्करी भएर विराटनगरसहितका पूर्वी नेपालका बजारमा भएर पुग्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभाग (डिडिए)मा दर्ता नभएको इन्जेक्सन गिरोहले भारतबाट सस्तोमा ल्याएर नेपाली बजारमा चर्को शुल्कमा बेच्ने गरेको खुलेको हो ।

नेपालमा ल्याएपछि चर्को मुल्यमा बिक्री हुने भएकोले प्यारासिटामोल इन्जेक्सनको तस्करी हुने गरेको पाइएको हो । यो इन्जेक्सन ल्याउन ठूलो गिरोह नै संलग्न रहेको औषधि व्यवसायीहरु बताउँछन् । विराटनगरका बजारमा अधिक मात्रामा तस्करी भएर आएको बिना दर्ताको इन्जेक्सन बिक्री वितरण हुने गरेको गोप्य सूचना मोरङ प्रहरीमा पुगेको थियो ।

त्यसपछि मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले डिडिएसँग समन्वय गरेपछि आइतबार बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा विराटनगरका ठूला हस्पिटल अगाडिका फार्मेसीहरुले दर्ता बेगरको प्यारासिटामोल इन्जेक्सनको बिक्री वितरण हुने गरेको पाइएको हो । सोमबार डिडिएमा बिना दर्ताको औषधिको खुल्लेआम बिक्री वितरण गरेको भेटिएपछि विराटनगरका तीन वटा फार्मेसीमा शिलबन्दी गरिएको छ ।

डिडिए मोरङ प्रहरी र वाणिज्य कार्यलयले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा दर्ता बेगरको औषधि बिक्री वितरण गरेको फेला परेपछि विराट नर्सिङ होम अगाडिको सदर मेडिकल हल, बथनाहा फार्मेसी र ज्ञानु फार्मेसीमा सिलबन्दी गरिएको औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले बताए ।

सिलबन्दी गरिएको फार्मेसीहरुले प्यारासिटामोल इन्जेक्सन र फेबरामोल इन्जेक्सन डिडिएमा दर्ता नभएको औषधिहरु बिक्री वितरण गरेको फेला परेको थियो । दर्ता बेगरको औषधिहरु भारतबाट अवैध रुपमा ल्याउने गरेका छन् । नेपालमा दर्ता रहेको फेब्रामोलको मुल्य २४० रुपैयाँ रहेकाले तस्करहरुले भारतबाट तस्करी गरेर महंगो मुल्य राखी बेच्ने गरेको पाइएको छ । उनीहरुले भारतबाट ल्याउने र यहाँ ल्याएपछि बिरामीलाई चर्को मुल्यमा बिक्री वितरण गर्ने गरेको बताइएको छ । यसरी दर्ता नभएको औषधिहरु खुलेआम विराटनगरको ठूलो हस्पिटल अगाडिको फार्मेसीबाट बिक्री वितरण हुने गरेको जनगुनासो मोरङ प्रहरीमा पुगेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले डिडिएसँग समन्वय गरेर अनुगमन गर्दा दर्ता बेगरको औषधि भेटिएको उनले बताए ।

प्यारासिटामोल इन्जेक्सन र फेबरामोल दुखाइ र ज्वरो आउँदा कम गर्ने इन्जेक्सन हो । यो भारतमा २४० रुपैयाँ पर्दछ । नेपालमा ल्याएर १ हजार रुपैयाँसम्म बिक्री वितरण हुने गरेको औषधि व्यवसायी बताउँछन् । प्यारासिटामोल र फेबरामोल इन्जेक्सन ल्याउने तस्करीको गिरोह नै रहेको छ । यसको खोजी कार्यमा प्रहरी र औषधि व्यवस्था विभाग लाग्नुपर्ने व्यवसायीहरु बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ