काठमाडौं—वीर अस्पतालले दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा दिने तयारी भएको छ । एक साताभित्रै दुई सिफ्टमा शल्यक्रिया गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए ।
‘अहिले एक सिफ्टमा भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’
निमित्त निर्देशक डा. गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए । ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं,’ उनले भने, ‘बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’
वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पु¥याइएको बताउँदैं उनले अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको उल्लेख गरे । ‘अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन्,’ उनले भने । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको बताउँदैं उनले यसको व्यवस्थापनका लागि समेत काम भइरहेको बताए ।
४ फागुनबाट तत्कालीन निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल सकिएसँगै डा. गौतमलाई वीरको निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्मका लागि डा. गौतमलाई निमित्तको जिम्मेवारी दिएका हुन् ।