काठमाडाैं-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट कलेजोमा रहेको हाइड्याटिड सिस्टको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा यो प्रविधि प्रयोग गरेर पहिलोपटक कलेजोमा रहेको हाइड्याटिड शिष्ट निकालिएको हो ।
८ फागुनमा प्रतिष्ठानमा सो शल्यक्रिया गरिएको हो । जुम्ला सिजाकी १९ वर्षीया महिलाको सो प्रविधिबाट शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको शल्यक्रियामा संलग्न जनरल सर्जन डा. सुधन सुवेदीले जानकारी दिए ।
जनावरबाट मान्छेमा सर्ने परजीवीका कारण हुने सो रोगको पहिचान प्रतिष्ठानमा नै भएको थियो । रोगको पहिचान भएपछि ति महिलालाई एक महिनासम्म परजीवी निरोधक औषधि अल्वेण्डाजोल सेवन गराइएको डा. सुवेदीले जानकारी दिए ।
शल्यक्रियामा सर्जन डा. सुवेदी, डा. निर्मल सिंह थापा र डा. मुकेश जैशवालको टोलीले सो शल्यक्रिया गरेको हो । त्यसैगरी, एनेस्थेसियामा डा. विपिन लुइँटेल र डा. अनिता थापा संलग्न रहेका थिए भने नर्सिङतर्फ विपना बस्नेत र पुष्पा रावलले सहयोग गरेका थिए ।
के हो हाइड्याटिड सिस्ट ?
हाइड्याटिड सिस्ट एक किसिमको परजीवी इकाइनोकोकस ग्रयानोलोससबाट लाग्ने रोग हो। यो परजीवी कुकुरबाट भेडा हुँदैं मानिसमा सर्ने गर्दछ। परजीवी कुकुरको पाचन प्रणालीमा प्रजनन गर्दछ र कुकुरको दिसाबाट अण्डकोषहरु बाहिर निस्कने गर्दछन। भेडाले चर्ने बेला यस्ता अन्डकोषहरु निल्ने गर्दछ र ती परजीवी भेडाको पाचन प्रणालीमा हुँदै कलेजो फोक्सोलगायत अंगमा विकास हुन्छन् ।
त्यसैगरी, कुकुरले मरेको भेडाको मासु खाएपछि कुकुरको पाचन प्रणालीमा प्रवेश गर्दछ र प्रजनन गर्दछ । यसरी यी परजीवी आफ्नो जीवन चक्र पूरा गर्दछन्। मानिसहरु जब तिनै कुकुरको दिसाबाट निस्केका अण्डकोषहरुको संसर्गमा आउँछन् तब यी परजीवी मानिसको पाचन प्रणाली हुदै कलेजो र फोक्सोलगायत अंगहरुमा विकास हुने गर्दछन्। यस अवस्थालाई हाइड्याटिडोसी भन्ने गरिन्छ।
कलेजोको हाइड्याटिस सिस्ट भएमा मानिसमा पेट दुख्ने , खान मान नलाग्ने, बान्ता हुने, दुब्लाउँदैं जाने, पेटमाको माथिल्लो भागमा सुजन हुनेजस्ता लक्ष्यण देखिन सक्छन्। यस रोगको समयमै पहिचान गरी औषधि र शल्यक्रियाबाट निदान गर्न सकिन्छ र पूर्ण रुपमा स्वास्थ्य हुन सकिन्छ। डाक्टरको सल्लाह बिना जथाभावी औषधि सेवन गर्न भने हुँदैन्।

शल्यक्रियाको आधुनिक विकाससँगै पेट चिरेर गरिरे शल्यक्रिया भन्दा दुरविनबाट गरिने शल्यक्रियामा बिरामीका निम्ति आज बढी सहज हुने, घाउ चाँडै निको हुने, अस्पतालबाट चाँडै घर जान मिल्ने र आफ्नो काममा पनि चाडै फर्किन मिल्ने डा. सुवेदी बताउँछन् ।
नेपाललगायत दक्षिण एसियाका देशहरुमा यो रोग धेरै रहेको अध्ययनहरुले देखाएका छन्। जुम्ला जिल्लामा पनि हाइड्याटिडोसी उलेख्य मात्रामा देखिने गरेको छ। जसका लागि सुसुप्त अध्ययनको खाँचो रहेको उनको भनाइ छ । यसबाट बच्न मानिसहरुमा सरसफाइ र रोगको बारेमा जानकारी गर्न पनि उत्तिकै जरुरी हुने डा. सुवेदी बताउँछन् ।