२०८१ फागुन ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ?

सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ?


काठमाडौं—निजामती कर्मचारी अस्पतालका अहिलेका निर्देशक डा. विधाननिधी पौडेलको कार्यकाल २५ फागुनमा सकिदैंछ । अस्पताल विकास समितिले अस्पतालको नयाँ कार्यकारी निर्देशकका लागि प्रक्रिया अगाडि बढाइसकेको छ ।

अस्पतालको नेतृत्व लिनका लागि ११ जनाले आवेदन दिएका छन् । जसमा वर्तमान कार्यकारी निर्देशक विधाननिधी पौडेलसहित निजामती अस्पतालमै कार्यरत चार जना चिकित्सक अस्पतालको नेतृत्व गर्ने दौडमा छन् ।

१. डा. विधाननिधी पौडेल
वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. विधाननिधी पौडेल निजामती कर्मचारी अस्पतालका वर्तमान कार्यकारी निर्देशक हुन् । कोभिड—१९ का बेलामा उत्कृष्ट डेडिकेटेड कोभिड—१९ अस्पतालका रुपमा सिभिल अस्पतालको पहिचान बनाउन उनी सफल भएका थिए । यसअवधिमा डा. पौडेलले अस्पतालको सेवा विस्तार तथा सुधार, अस्पतालका कर्मचारीको स्थायीत्व, भौतिक पूर्वाधार, उपकरणको व्यवस्थापनमा पनि आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।

लामो समय वीर अस्पतालको विभागीय प्रमुख रहेको अनुभवलाई उनले सिभिल अस्पतालको सेवा प्रवाहलाई गतिशील बनाउन खर्चिएका छन् । डा. पौडेलकै कार्यकालमै सिभिल अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत नर्सिङ कलेज स्थापना गर्न र फ्याकल्टीहरु विस्तार गर्न सफल भएका छन् । त्यही कारण उनले आगामी कार्यकालमा अधुरा कामहरु पूरा गर्ने र अस्पताललाई बहुविशेषज्ञता सेन्टरका रुपमा विकास गर्ने योजनाका साथ कार्यकाल दोहो¥याउन खोजेका हुन् ।

२. विशेष पौडेल
निजामती कर्मचारी अस्पतालका वरिष्ठ रगत रोग विशेषज्ञ डा. विशेष पौडेलले पनि कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् । सिभिल अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सुरु गर्न नेतृत्व गरेका डा. पौडेल लामो समयदेखि निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् । चाइना मेडिकल युनिभर्सिटीबाट हेमाटोलोजीमा एमडी गरेका उनले भारतको क्रिश्चिय मेडिकल कलेजबाट फेलोसीप गरेका छन् ।

३. डा. अनुजजंग रायमाझी
डा. अनुजजंग रायमाझी निजामती कर्मचारी अस्पतालमा कार्यरत एनेस्थेसियोलोजिष्ट हुन् । यसअघि उनले अस्पताल मेडिकल निर्देशकका रुपमा डेढ वर्ष काम गरेका थिए । डा. अनुजजंगले पनि अस्पतालको नयाँ नेतृत्वका लागि दावी गरेका छन् । उनी निजामती कर्मचारी अस्पतालका नवौं तहका चिकित्सक हुन् ।

४. डा. मोहनचन्द्र रेग्मी
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मी काजमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेपाल निजामती कर्मचारी अस्पताल आएका हुन् । झण्डै 2 वर्षअघि सिभिल अस्पताल आएका उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिष्ट्रार समेत हुन् । डा. रेग्मीले विपीको रजिष्ट्रारको कार्यकाल पूरा नगरेर बीचमै राजीनामा दिएका थिए । उनले निजामती कर्मचारी अस्पतालको निर्देशकका लागि आवेदन दिएका छन् ।

५. डा. रुद्र मरासिनी
डा. रुद्र मरासिनी वरिष्ठ अर्थोपेडिक्स सर्जन हुन् । हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत उनी ट्रमा सेन्टरका पूर्व मेसुसमेत हुन् । डा. मरासिनी नेपाल सरकारको ११ औं तहका चिकित्सक हुन् । उनीसँग स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकका रुपमा पनि काम गरेको अनुभव छ । डा मरासिनीले पनि निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।

६. डा. रोशन न्यौपाने
डा. रोशन न्यौपाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागमा कार्यरत छन् । डा. न्यौपाने सार्क क्षयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र भरतपुर अस्पतालमा रहेर पनि काम गरेका थिए । उनले गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र निर्देशक रहेर पनि काम गरिसकेको अनुभव छ । अर्थोपेडिक्स सर्जन डा. न्यौपाने ११ औं तहका चिकित्सक हुन् । रोगका चिकित्सक डा. न्यौपानेले पनि नेपाल निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक लागि आवेदन दिएका छन् ।

७. डा. प्रमोद यादव
डा. प्रमोद यादव नेपाल सरकारको १० औं तहका चिकित्सक हुन् । राष्ट्रिय ट्रमा सेन्टर र जनकपुर अस्पतालका मेसु भइसकेका उनी अर्थोपेडिक्स सर्जन हुन् । डा. प्रमोदले पनि नेपाल निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।

८. डा. श्रवण थापा
डा. श्रवण थापा वीर अस्पतालका १० औं तहका अर्थोपेडिक सर्जन हुन् । उनले केही समयअघि व्यवस्थापन महाशाखाको निर्देशक बनेका थिए । डा. थापा पनि निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक हुने दौडमा छन् ।

९. डा. विश्वरमण पौडेल
भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ हुन्—डा. विश्वरमण पौडेल । लामो समयदेखि उनी विपी कोइराला क्यान्सर अस्पतालमै कार्यरत छन् । डा. पौडेलले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको दौडमा आफूलाई पनि सामेल गरेका छन् ।

१०. डा. अजित खनाल
डा. अजित खनाल वीर अस्पतालका प्रमुख ग्यास्ट्रोइन्टेरोलोजिष्ट हुन् । वीर अस्पतालको ग्यास्ट्रो विभाग चिकित्सक उनी लामो समयदेखि वीरमै सक्रिय छन् । डा. खनालले पनि निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।

११. डा. रविन खड्का
डा. रविन खड्का कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक हुन् । रेडियोलोजिष्ट डा. खड्काले दुर्गममा रहेर लामो समय सेवा गरेका उनले वीर अस्पतालको डेपुटी निर्देशकको पद अस्वीकार गरेका थिए । हुम्ला, बर्दिया, दैलेख, गोरखालगायतका क्षेत्रमा रहेर सेवा गरिसकेका डा. रविनले पनि निजामती कर्मचारीको अस्पतालको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ