२०८१ फागुन १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलकेयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर

केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर

जो आईओएममा रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन्


५ फागुनमा चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको पिजीको एमडी/एमएस/एनबीएमएसको ‘कमन इन्ट्रान्स रिजल्ट’मा पहिलो र्‍यांकमा—रोल नं. ‘१३४७७’ । त्यो रोल नम्बर भएका एमडी/एमएसको इन्ट्रान्स टपर हुन्—पोखरा नदीपुरका २८ वर्षीया डा. जायज अधिकारी । २ हजार ८ सय ४ जनाले पास गरेको कमन इन्ट्रान्समा डा. जायजले २०० पूर्णांकमा १६५.२५ प्रतिशत अंक ल्याएका छन् ।

‘डर पनि लाग्छ रमाइलो पनि लागिरहेको छ,’ इन्ट्रान्स टप गरेको ४ दिनपछि हेल्थआवाजसँगको कुराकानीमा उनले अनुभव सुनाए, ‘नयाँ अनुभव भइरहेको छ ।’ ‘स्ट्याण्डर्ड टेक्स्ट बुक’ पढेकाले आफूलाई इन्ट्रान्स टप गर्न सहज भएको उनले बताए । ‘मैले विदेशी लेखकका स्ट्याण्डर्ड टेक्स्ट बुक नै पढे,’ उनले भने, ‘त्यसैले मलाई इन्ट्रान्स टप गर्न सहयोग पुग्यो ।’ छात्रवृत्ति करारका चिकित्सक डा. जायजकाअनुसार ड्युटी पनि गाह्रो नभएकाले र साथीहरु मिल्ने भएकाले तयारीका लागि सहज भएको बताए । उनकाअनुसार एमबीबीएसमै पढेका धेरै प्रश्नहरु भएकाले पनि उनलाई सबै प्रश्नको उत्तर मिलेकोजस्तो लागेको थियो । रिजल्ट पनि त्यस्तै आयो ।

डा. जायज काठमाडौं विश्वविद्यालय (केयु)को एमबीबीएसको सन् २०१५ को ब्याचका पनि टपर हुन् । त्यतिबेला उनले ८२.१२ प्रतिशत अंक ल्याएर केयुको आफ्नो ब्याच टप गरेका थिए । ब्याच टप गरेपछि मणिपाल मेडिकल कलेजका विद्यार्थी उनले ‘भाइस चान्सलर स्वर्णपदक’ हात पारेका थिए ।

पोखरा नदीपुरमा वि.सं. २०५३ सालमा जन्मिएका हुन्, जायज । उनका बुवा हरिप्रसाद अधिकारी वकिल हुन् भने आमा रमा अधिकारीका शिक्षिका । वकिल बुवा र शिक्षिका आमाका दुई सन्तानमध्ये जायज जेठा हुन् । शिक्षित परिवारमा जन्मेकाले उनको प्रारम्भिक शिक्षामा अभिभावकले विशेष ध्यान रह्यो ।

जायजको प्रारम्भिक शिक्षा स्थानीय प्रतिभा स्कुल नदीपुरबाट अगाडि बढेको हो । उनले केजीसम्म प्रतिभा स्कुलमा पढें । कक्षा १ देखि ४ सम्मको अध्ययन ताराकुञ्ज स्कुलबाट पूरा गरे । त्यसपछि गण्डकी बोर्डिङ स्कुल गए । स्कुल जीवनमा उनलाई विज्ञान विषय बढी मनपथ्र्यो । अझ विज्ञानका प्रयोगात्मक कक्षाहरुमा उनको अभिरुचि थियो । ‘सरहरु एक्पीरिमेन्टहरु गर्नुहुन्थ्यो, मलाई त्यसले झन लोभ्याउँथ्यो,’ उनले भने । त्यसबाहेक उनी खेलकुदमा सक्रिय रहन्थे । ‘फुटबल र टेबल टेनिसहरु खेल्न मन पर्छ,’ उनी भन्छन् ।

डा. जायजले गण्डकी बोर्डिङ स्कुलबाटै वि.सं. २०६८ सालमा डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरे । थप उच्च शिक्षा पनि गण्डकी बोर्डिङ स्कुलबाटै अगाडि बढाए । वि.सं. २०७१ सालमा उनले विज्ञानमा विशिष्ट श्रेणीमै कक्षा १२ उत्तीर्ण गरे । ‘कक्षा ११ मा पुगेपछि बायोलोजी पढ्ने कि फिजिक्स पढ्ने भन्ने कुरामा म निकै दोधारमा थिए,’ उनले सुनाए, ‘एक आफन्त डाक्टरलाई देख्दा यो इज्जतिलो र समाजसेवामा लाग्ने पेशा पनि हो रहेछ भन्ने देखे ।’ त्यसपछि यस विषयमा उनले परिवारसँग सल्लाह पनि गरे । परिवारको सल्लाह र सपोर्टमै उनले डाक्टर बन्ने उद्देश्यका साथ प्लस टुमा बायोलोजी लिएका हुन् ।

वि.सं. २०७१ सालमा प्लस टु सकेपछि उनी काठमाडौं आए । ६ महिनाजति एमबीबीएस इन्ट्रासको तयारी गरे । सुरुमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को प्रवेश परीक्षा भयो । तर, त्यही बेला ज्वरोले च्यापेपछि उनले परीक्षा राम्रो गर्न सकेनन् । ‘२ अंकले मेरो आईओएममा नाम निस्किएन्,’ उनले भने ।

त्यसपछि उनी शिक्षा मन्त्रालयले एमबीबीएसका लागि दिने छात्रवृत्तिमा छनोट भए । शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि छनोट भएपछि उनी सन् २०१५ मा एमबीबीएस अध्ययनका लागि मणिपाल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल पोखरा गए । त्यहीबाट डा. जायजले एमबीबीएस उत्तीर्ण गरे । एमबीबीएसको पढाइ कस्तो रह्यो त ? भन्छन्, ‘एमबीबीएस पढाइ थोरै शब्दमा बयान नै गर्न सकिदैन् । त्यहाँ रमाइलो, दुःख, डर, सफलता सबै छन् ।’

छात्रवृत्ति करारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. जायजलाई गण्डकी प्रदेशमा पठाइदियो । त्यहाँ उनको पोष्टिङ मातृशिशु मितेरी अस्पताल बाटुलेचौरीमा भयो । ‘बाटुलेचौरमा १६ महिना जति काम गरे,’ उनले भने, ‘त्यहाँबाट कृष्टी नाच्ने चौरको प्राथमिक स्वास्थ्य केन्द्रमा भयो ।’ त्यहाँ उनले ८ महिना काम गरे । कामकै क्रममा उनले पिजी इन्ट्रान्सको तयारी गरेका हुन् । ‘काम गर्दै तयारी पनि गरे,’ उनले भने । यहीबीच उनले युएसएमएलईको फेज वान र फेज टु सर्टिफाइट पनि गरे । तर, विवाद निस्किएपछि बीचमै छाडिदिए ।

एमडी/एमएस/एनबीएमएसको ‘कमन इन्ट्रान्स टपर डा. जायज के पढ्ने योजनामा छन् त ? भन्छन्, ‘म आईओएममा रेडियोलोजी पढ्छु । पछि इन्टरभेनसनल रेडियोलोजीमा फेलोसीप गर्छु । मलाई इन्टरभेनसनल रेडियोलोजीमा इन्ट्रेस्ट छ ।’ इन्टरभेनसनल रेडियोलोजिष्ट बन्न रहर भएका डा. जायज नयाँ र बुझ्नुपर्ने कुरा धेरै भएकोले यो विषय आफ्नो रोजाइमा परेको बताउँछन् ।

एमबीबीएस टपर डा. जायज उत्कृष्ट हुनका लागि धेरै कुराहरु मिल्नुपर्ने बताउँछन् । ‘टप गर्न एकआपसमा धेरै कुरा मिलेर आउनुपर्ने रहेछ,’ उनले आफ्नो अनुभव बाँडे, ‘भित्रबाटै केही गर्न सक्छु भन्ने इच्छाशक्ति, पढाइप्रति लगाव, मेहनत, पारिवारिक वातावरण, साथीभाई र शिक्षकको सपोर्ट चाहिन्छ ।’ उनी टप गर्ने पढाइ अलि फरक हुनुपर्ने मत राख्छन् । ‘एकपटक शिक्षकबाट सुन्नेको कुरा आफै खोज्ने, हेर्ने र त्यो कुरा पटक—पटक पढ्ने गर्दा स्मरण रहिरहने हुन्छ,’ उनले थपे, ‘बुझेर पढ्ने तर केही कुराहरु कण्ठ पनि गर्नुपर्नेहुन्छ ।’ डा. जायजकाअनुसार असम्भव र गर्ने नसकिने केही पनि छैन । तर, एमबीबीएस भास्ट भएको हुँदा सुरुबाट नै विस्तारै तयारी गर्दै जानुपर्ने उनले बताए ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ