२०८१ माघ २९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल

निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्, ‘जिम्मेवारीबाट अहिले पन्छिन मिल्दैन्’


धनगढी—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक अन्तिम साता कैलालीस्थित गेटा अस्पतालको निर्देशकमा ११ औं तहका चिकित्सक डा. अशोक श्रीपाईली नियुक्त गरेको थियो । निर्देशक नियुक्त भएको तीन महिना नबित्दैं डा. श्रीपाईलीले निर्देशकबाट राजीनामा दिएका छन् ।

उनले ६ माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गेटा अस्पतालको निर्देशकको जिम्मेवारी राजीनामा बुझाइसकेका छन् । उनले गेटा अस्पतालमै कार्यरत वरिष्ठ रेडियोलोजिष्ट डा. होमप्रसाद पन्तलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् ।

खरिदमा शक्तिकेन्द्रको दबाबलाई थेग्न नसकेर राजीनामा बुझाएको भनिएपनि डा. श्रीपाईली स्वयंले भने यस विषयमा केही बोल्न चाहेनन् । तर, निर्देशकले राजीनामा दिएर अस्पताल निमित्तको भरमा चलेको तीन साता बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले अझै नयाँ निर्देशक पठाउन सकेको छैन ।

बरु, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सरकारले दिएको जिम्मेवारीबाट पन्छिन नमिल्ने तर्क गर्छन् । ‘जिम्मेवारी लिएको पत्र लिनुभयो तर दिएको जिम्मेवारीबाट अहिले पन्छिनु हुँदैन,’ उनी भन्छन्, ‘मन्त्रालयमा उहाँको राजीनामाका विषयमा कुनै निर्णय भएको छैन ।’

गत आर्थिक वर्षको १ कार्तिकबाट न्यूनतम सेवासहित सञ्चालनमा आएको अस्पतालले विभिन्न सेवाहरु थप गर्दै गइरहेको भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । अस्पताल पूर्ण रुपमा सञ्चालनमा नआउँदैं पटक—पटक हुने निर्देशक परिवर्तन र नेतृत्वबिहीनताले समस्या निम्त्याउँदैं आएको छ ।

अस्पताल पूर्ण रुपमा सञ्चालनका लागि इमर्जेन्सी, इन्डोरसँगै माइनर शल्यक्रिया कक्ष तयारी अवस्थामा छन् । अस्पतालकाअनुसार आईसीयु, भेन्टिलेटर, एनआईसीयु, सीसीयुसँगै पोष्ट अप बेड तयारी अवस्थामा रहेको र अक्सिजन प्लान्ट निर्माणाधीन अवस्थामा छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ