२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो

ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो

युएसएआईडी अनुदानअन्तर्गतका स्वास्थ्यका १६८ कार्यक्रम अनिश्चित


काठमाडौं–अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सहयोग नियोग (युएसएआईडी)का कार्यक्रम रोक्दा नेपाल सरकारको बजेटमा रहेको स्वास्थ्यतर्फको ५२ करोड २४ लाख ४० हजार रुपैयाँ रोकिएको छ । सो रकम रोकिदा स्वास्थ्यका १ सय ६८ वटा कार्यक्रम प्रभावित हुने देखिएको छ ।

९ वटा विषयगत कार्यक्रमभित्र ती कार्यक्रम रहेका थिए । युएसएआईडीको अनुदान रोकिदा सबैभन्दा बढी परिवार कल्याण कार्यक्रमलाई असर गरेको छ । सो अन्तर्गतका ३५ कार्यक्रमको १४ करोड ८० लाख रुपैयाँ रकम रोकिएको छ ।

दोस्रोमा स्वास्थ्य व्यवस्थापनका कार्यक्रमलाई असर गरेको छ । स्वास्थ्य व्यवस्थापनअन्तर्गत ४४ वटा कार्यक्रमको १३ करोड ६५ लाख रुपैयाँ रोकिएको छ ।

त्यसैगरी, महामारी नियन्त्रणका ४१ कार्यक्रमको ६ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको ३ करोड १७ लाख रुपैयाँ रोकिएको छ । मिल्क बैक स्थापना तथा सञ्चालनका लागि १ करोड ५१ लाख रुपैयाँ, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको ३ करोड ५० लाख रुपैयाँ, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको २३ वटा कार्यक्रमको ४ करोड ६ लाख रुपैयाँ रोकिएको छ ।

त्यस्तै, उपचारात्मक सेवा कार्यक्रमको ४९ लाख रुपैयाँ र नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमको ४ करोड ४६ लाख रुपैयाँ रोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबाहेक विभिन्न आईएनजिओअन्तर्गत यो भन्दा धेरै अनुदान रकममार्फत स्वास्थ्यमा कार्यक्रम संचालन भइरहेका छन् । जसमा एफएचआई, निक साइमन, आइपासजस्ता संस्थाले ठूलो अनुदान रकममार्फत काम गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ