जुम्ला—जुम्लामा संचारकर्मीहरुका लागि मर्यादित महिनावारी सम्बन्धि तालिम सञ्चालन भएको छ । रेडियो, अनलाइन र पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीहरुलाई मर्यादित महिनावारीबारे जानकारी गराउन र महिनावारीका सवाल उठानका लागि क्षामता विकास गर्न तालिम सञ्चालन गरिएको हो ।
पत्रकार महासंघ शाखा जुम्लाको समन्वय तथा आयोजना, पेस नेपाल, राधा फाउन्डेसन र एम्पीलीफाई चेन्जको सहयोगमा दुई दिने तालिम सञ्चालन भएको छ ।
तालिमको उद्घाटन सत्रमा पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले संचारकर्मीलाई मर्यादित महिनावारीका विषयमा थप जानकार बनाउन र महिनावारीका सवालमा सशक्त भएर कलम चलाउनका लागि तालिम सञ्चालन गरिएको बताए । तालिमपछि मर्यादित महिनावारीका सवालहरुलाई सञ्चारकर्मीहरुले प्रथामिकता साथ उठान गर्ने अपेक्षा व्यक्त गरे ।
मर्यादित महिनावारी अभियन्ता डा. राधा पौडेलले मर्यादित महिनावारीको सवाललाई राज्य हरेक तहमा पेचिलो बनाउनका लागि संचारकर्मीहरु भूमिका हुनुपर्ने बताइन् । जुम्लाबाट अपेक्षित रुपमा मर्यादित महिनावारीका सवाल उठ्न नसकेको भन्दै अब सञ्चारकर्मीहरु जाग्नुपर्ने उल्लेख गरिन् ।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले निर्वाचित भएको दुई महिनामा जिल्लाका पत्रकारहरुको लागि क्षमता विकास तालिम सञ्चालन गरेकोमा धन्यवाद दिए ।
तालिममा जिल्लाका १६ जना सञ्चारकर्मीहरुको सहभागिता छ ।