२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ?

डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ?


धेरै व्यक्तिमा देखा पर्ने साझा समस्यामध्ये घुर्ने समस्या पनि एक हो । व्यक्तिमा यस्ता समस्या देख्नु पछाडि व्यक्तिको गतिविधि तथा क्रियाकलापसँग पनि सम्बन्धित रहेको छ । अधिकांश व्यक्तिहरुले यसलाई व्यक्तिको आदत वा बानीको रुपमा लिने गरेको पाइन्छ । तर, बानीको रुपमा विकास हुने व्यक्तिमा देखिने यो पनि एक प्रकारको जटिल समस्या वा रोग पनि हुन सक्छ । त्यसैले हामीले यस्ता समस्यालाई सामान्य रुपमा लिनु हुँदैन ।

व्यक्तिको सुताइसँग सम्बन्धित यस समस्याको प्रमुख कारण ‘स्लीप एप्निया’ भएतापनि घुर्ने समस्या भएको सबै व्यक्तिहरु स्लीप एप्निया शिकार भने भएका हुँदैनन् । ‘अब्सट्रक्टीभ’ र ‘सेन्ट्रल’जस्ता प्रमुख प्रकार रहेको यस स्लीप एप्निया भएका बिरामीहरु सुत्ने क्रममा निस्सासिने तथा श्वास फेर्न गाह्रो हुने हुन्छ र पटक—पटक निन्द्रा खुल्छ । जसकारण उनीहरु घुर्न पुग्छन् ।

लक्षणहरु

  • थकान महसुस हुनु
  • राति छिन—छिनमा पिसाब लाग्नु
  • दिउँसो धेरै सुत्नु
  • बिहान फ्रेस नहुनु
  • टाउको दुख्नु
  • राति निस्सासिएर उठ्नु ।

घुर्ने समस्या विशेषगरी महिलाभन्दा पुरुषहरुमा २ देखि ३ गुणा बढी रहेको देखिन्छ । तर, महिलाहरुको महिनावारी रोकिएपछि वा ५० वर्षभन्दा माथिका महिला र पुरुषमा भने यो समस्या समान रुपमा देखा पर्दछ ।

कारणहरु

  • मोटो घाँटी (पुरुषको हकमा १७ इन्च र महिलाको हकमा १६ इन्चभन्दा माथि )
  • मोटोपन
  • सुगर रोग
  • प्रेसर रोग
  • असहज सुत्ने आशन
  • धुम्रपान तथा मद्यपान सेवन
  • जिब्रो लामो वा ठूलो भएको
  • टन्सिल ठूलो भएको
  • मुख सानो भएको आदि ।

रोकथामका उपाय तथा उपचार

यो समस्या विशेषगरी स्टप ब्याङ (घुर्नु, थकान, निस्सास्एिको देखा पर्नु, प्रेसर बढी भएको, मोटोपन बढी भएको, उमेर ५० नाघेको, घाँटीको चौडाइ ठूलो भएको र पुलिंग ब्यक्तिहरु आदि) भएको ब्यक्तिहरुमा बढी देखा पर्दछ । तसर्थ माथि उल्लेखित कारणहरुमध्ये कुनै ३ कारणहरु मात्रै पनि साझा रुपमा पाएको खण्डमा उक्त ब्यक्तिले फोक्सो रोग विशेषज्ञ संग परामर्श लिनु पर्दछ ।

जल्दोबल्दो समस्याको रुपमा देखा परेको यस घुर्ने समस्या विश्वभर नै साझा समस्याको रुपमा रहेको देखिन्छ । प्रत्येक ५ प्रतिशत महिला र १५ प्रतिशत पुरुषमा देखिने यस समस्याप्रति सम्बन्धित निकाय तथा व्यक्तिहरुको ध्यान भने गएको देखिदैन् । त्यसैले आफूलाई यस्ता समस्या देखा नपारेस् भन्नका निमित्त व्यक्ति आफै सजग रहनु महत्वपूर्ण देखिन्छ ।

तसर्थ व्यक्तिले सर्वप्रथम आफूमा माथि उल्लेखित लक्षणहरु देखा परेको छ वा छैन भन्ने विषयमा ‘स्लिप स्टडी’ गर्नुपर्दछ । यसरी आफ्नो निन्द्राको अध्ययन वा चेक जाँच गर्ने ‘स्लिप स्टडी’घरमा पनि गर्न सकिन्छ । तर, अस्पताल गर्दा यो अलि बढी प्रभावकारी रहने भएकोले अस्पतालमा गर्नु नै उचित मानिन्छ ।

यसैगरि यसबाट बच्ने अर्को उपाय भनेको ‘सर्जिकल थेरापी’ पनि हो । यस अन्र्तगत भने ब्यक्तिमा घुर्ने समस्या के कारण देखा परेको हो भन्ने विषयमा अध्ययन गरिन्छ । यदि व्यक्तिमा त्यस्ता समस्या शारीरिक बनावट तथा शरीरको कुनै पनि अंगको असहजताको कारण देखा परेको छ भने शल्यक्रियाको माध्यमद्वारा सो समस्या निराकरण गरिन्छ ।

यस्तै यसको अर्को उपचारअर्न्तगत ‘विहेभियर थेरापी’पनि रहेको छ । जसमा व्यक्ति स्वयं आफैले नै निम्न गतिविधि तथा क्रियाकलापहरु अवलम्बन गर्नुपर्ने हुन्छः

  • आफ्नो तौल घटाउने
  • सुत्दा दाहिने वा देब्रे कोल्टो परेर सुत्ने
  • धुम्रपान र मद्यपान बाट टाढा रहने
  • लागु औषध तथा नशायुक्त औषधिको प्रयोग नगर्ने ।

उल्लेखित उपायहरु अपनाउदा अपनाउँदै पनि व्यक्तिमा घुर्ने समस्या देखा परेको खण्डमा भने तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाइ चिकित्सकको सल्लाहअनुसार सिप्याप मेसिनको प्रयोग पनि गर्न सकिन्छ ।

के हो सिप्याप मेशिन ?

विशेषगरी घुर्ने समस्या भएका व्यक्तिहरुलाई लक्षित गरी बनाइएको मेसिन नै ‘सिप्याप मेसिन’हो । यसले व्यक्तिको श्वास फेर्ने नलीलाई खुल्ला राखी खुम्चिनबाट बचाउँछ । व्यक्तिमा अक्सिजनको कमी भएको खण्डमा पनि यस्ता समस्या देखा पर्न सक्ने भएकोले यो मेसिन सुत्ने समयमा नाकमा राखेर सुतिन्छ । यसले ब्यक्तिलाई आवश्यक अक्सिजनको प्रवाह गरी घुर्नबाट रोक्दछ ।

यसरी घुर्ने समस्याबाट छुटकारा पाउन प्रयोग गरिएको सिप्याप मेशिनले ब्यक्तिको घुर्ने समस्या मात्र नभई ब्यक्तिमा भएको प्रेसर तथा सुगरजस्ता रोगहरुको नियन्त्रणमा समेत सघाउ पु¥याउँछ । त्यसैले घुर्ने समस्यासँगसँगै प्रेसर तथा सुगर भएको व्यक्तिमा समेत यसको प्रयोग उचित रहन्छ । तर, यसको प्रयोग गर्नुपूर्व बिरामीले सम्बन्धित चिकित्सकको परामर्श भने अनिवार्य रुपमा लिनु पर्दछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ