सुन्दाखेरी अचम्म लाग्छ र मलाई सोध्नुहोला ‘साँच्ची क्यान्सर भयो भन्दा पनि कोही खुसी हुन्छ र ?’
तर, वास्तविकता यो हुँदो रहेछ । जब आफूले भोगेको समस्याहरू त्यो क्यान्सर भन्दा पनि धेरै गाह्रो र जटिल हुन सक्छ । आफ्नो शरीरमा कुन समस्या छ, त्यसको खोजी गर्दै सयौं ठाउँ, वर्षौं समय र लाखौं पैसा खर्च मात्र होइन् मानसिक समस्या, पारिवारिक जटिलतालगायत थपिँदै गएको अवस्थामा एउटा व्यक्तिलाई तपाईंलाई यो रोग छ भनेर निक्र्यौल गरी अब यो उपचार हुन्छ भनी सुन्न पाउनु धेरै नै खुसीको कुरा हुने गर्दो रहेछ।
यस्ता घटनाहरू मैले धेरै नै अनुभव गरेको छु। क्यान्सरको बारेमा राम्रोसँग बुझेको अवस्थामा पनि मान्छे क्यान्सरसँग डराउँदो रहेनछ र हातमा रिपोर्ट हुँदा पनि अनुहारमा कुनै दुःख देखिँदो रहेनछ। त्यसैले मैले एउटा घटनाको बारेमा वर्णन गर्दै क्यान्सर हुँदैमा डराउनु हुँदैन र सक्दो चाँडो पहिचान हुनु नै महत्वपूर्ण कुरा हो भन्ने कुरामा जोड दिन यो लेख अघि बढाइरहेको छु।
म एउटा क्यान्सर सम्बन्धि डाक्टर, प्याथोलोजिस्ट हुँ । म क्यान्सरलगायत रोगको पहिचानमा दिनका धेरैजसो घण्टाहरू बिताउने गर्दछु। हाल त्रिवि शिक्षण अस्पताल सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत रहिरहेको अवस्थामा क्यान्सर सम्बन्धि एउटा रोचक घटना सम्झिन्छु।
केही महिना अगाडि एकजना बुवालाई मैले उहाँलाई क्यान्सर भएकोबारे काउन्सिलिङ गरी रिपोर्ट दिनु थियो । त्यसमा केही मिलाएर कुरा गर्दै क्यान्सरको बारेमा बोल्दैं यो अवस्थाको क्यान्सर अब तपाईंले यो यसरी उपचार विधीमा जानुहोला भने जानकारी दिँदै थिएँ । उहाँको अनुहारमा खुसी देखिएको प्रष्ट हुन्थ्यो।
मैले सम्झाउँदै गर्दा उहाँ भन्दैं हुनुहुन्थ्यो, ‘डाक्टर हामीले धेरै दुःख पायौं । कहिले यो रोग होला भनी विचार गरिएको छ, कहिले यहाँ जानुस् भनी दौडिएको छ। रोग जे जस्तो भएपनि अब यो रोग लाग्यो भनेर उपचार पाउनु र समयमै उपचार गरेर निको हुने अवस्थामै हुनु यो हाम्रो लागि खुसीको कुरा हो। हेर्नुहोस् पैसा खर्च गरेका बिलहरुले झोला भरिएको छ।’
यो एउटा प्रतिनिधि घटना मात्र हो। क्यान्सरको समस्या हाल विकराल बन्दैं गइरहेको छ। क्यान्सरले एउटा व्यक्तिलाई नभएर पूरा समाजलाई असर गर्दछ र यसको चर्चा परिचर्चा हुनु पर्दछ । सोही कुरालाई समेट्ने गरी विश्व क्यान्सर दिवस २०२५—२०२७ को लागि नारा रहेको छ ‘युनाइटेड बाई युनिक’ । यस नाराले क्यान्सरको पहिचान र उपचारमा जोड दिँदैं प्रत्येक व्यक्तिको अविस्मरणीय अनुभव र आवश्यकतालाई सम्मान गर्नुपर्छ भन्नेबारे उजागर गर्दछ।
क्यान्सर केवल चिकित्सकीय निदान मात्र होइन्, यससँग सम्बन्धित दुःख, पीडा, उपचार, सहनशीलता, प्रेमजस्ता व्यक्तिगत कथाहरू पनि हुन्छन्। त्यसैले, प्रत्येक व्यक्तिको विशिष्ट आवश्यकतालाई करुणा र सहानुभूतिसहित समेट्ने मानिस केन्द्रित उपचार नै सही परिणाममुखी बन्न सक्दछ।
क्यान्सर पहिचान गर्ने डाक्टर क्यान्सर लाग्यो है भनी हस्ताक्षर गर्नु अघि बिरामीले हालसम्म पाएको दुःखको मूल्याङ्कन गरिरहेको हुन्छ। र, अबको उपचारले उहाँको अनुहारमा खुसी मात्र होइन्, पारिवारिक समस्याहरु जुन थियो त्यो पनि कम हुनेछ भन्ने आश गर्दछ।
क्यान्सर रोग भनेको जटिल नै हुन्छ । तर, मृत्युको अर्को रूप हो भन्ने परम्परागत अवस्था भने अहिले छैन। नयाँ प्रविधिको विकास र उपचारमा त्यसको प्रयोग साथै निदानको राम्रो सुविधा भएका कारण क्यान्सर रोग पनि सुरुमै पत्ता लागेमा सामान्य उपचारबाटै निको हुन्छ। स्टेज फोर भनी शरीरमा फैलिएको भन्ने बुझिने क्यान्सर समेत उपचार प्रविधिले निको पार्न सक्दछ । कुनै क्यान्सर सुरुका अवस्थामै पनि राम्रो उपचार प्रविधिको वा औषधिको प्रयोग गर्न नपाउँदा वा नहुँदा त्यसैबाट मृत्यु हुन सक्दछ ।
क्यान्सर त छैन नि ? के क्यान्सर नै हो त ? कुन स्टेजको क्यान्सर हो ? यसको उपचार छ त ?…यी आदि बारम्बार सोधिने प्रश्नहरु सोध्दा हामीबाट प्रत्येक व्यक्ति अनुसारको उत्तर हुने गर्दछ । किनभने, क्यान्सर सबै एकै प्रकृतिकाा हुँदैन र अवस्थाले मात्र बिरामीको जीवनयापन कस्तो हुन्छ भन्ने पनि ठोकुवा गर्न सकिँदैंन् । तर, सामान्य तरिकाले भन्दाखेरी स्टेज जति बढ्दैं गयो त्यो क्यान्सरको गम्भीरता बढ्दैं गएको भन्ने चाहिँ प्रष्ट हुन्छ। स्टेज फोर क्यान्सर हो भन्दैंमा आत्तिई हाल्नुपर्ने पनि नहुन सक्छ । त्यो चाहिँ हामीले विचार गर्नुपर्छ।
यो पनि पढ्नुहोस्