विराटनगर—पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)’ खोप मोरङमा दुई चरणमा हुने भएको छ । माघ २३ गतेबाट पहिलो चरण र माघ २७ गतेबाट दोस्रो चरणको एचपीभी खोप अभियान सुरु हुने भएको हो ।
आइतबार स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा पत्रकार सम्मेलन गरी दुई चरणमा गरी मोरङमा ६ देखि कक्षा १० सम्म अध्धयरत १० देखि १४ वर्ष उमेर समूहका ६१ हजार १ सय ७ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप लगाउने लक्ष्य रहेको जनाएको छ ।
खोप अधिकृत उत्सव पोखरेलकाअनुसार पहिलो चरणमा २३ माघदेखि विराटनगर महानगरपालिका, लेटाङ, बेलबारी, सुन्दरहरैचा नगरपालिका, मिक्लाजुङ, बुढीगंगा, ग्रामथान, केराबारी गाउँपालिकामा खोप लगाइने छ । त्यसैगरी, माघ २७ गतेबाट पथरीशनिश्चरे, उर्लावारी, सुनवर्षि, रंगली, रतुवामाई नगरपालिका, कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिकामा खोप अभियान सुरु हुने बताइएको छ ।
मोरङमा लगाइने सबैभन्दा बढी खोप केन्द्र विद्यालयमा हुनेछ । ६१ हजार १०७ मध्ये विद्यालयको खोप केन्द्रहरुबाट ५० हजार ५९७ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको छ । विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० हजार ५१० जना किशोरी छन् । उनीहरुलाई सामुदायस्तरमा स्थापना गरिएको खोप केन्द्रबाट खोप लगाउने तयारी गरिएको छ ।
खोप अधिकृत पोखरेलकाअनुसार ६१३ विद्यालयमा खोप केन्द्र रहेको छ । त्यस्तै, १६४ स्वास्थ्य संस्था केन्द्र, ७७ समुदायस्तरमा गरी जम्मा ८५४ खोप केन्द्रहरुबाट किशोरीहरुलाई खोप लगाउने तयारी गरिएको छ ।
सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्न थालेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
ह्युमन प्यापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनाले हुने गर्दछ । नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेको छ ।