विराटनगर—नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन बुँदे माग राखेका छन् । १८ माघमा विराटनगरमा पूर्वी नेपालका चिकित्सकहरुले पूर्व राष्ट्रपति भण्डारीलाई भेटेर तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
पछिल्लो समयमा रेजिडेन्ट डाक्टरहरुको निर्वाह भत्ताको विवादले चलिरहेको आन्दोलन, रेजिडेन्ट डाक्टरहरुले गरेको आत्महत्या, चिकित्सकहरुको विदेश पलायन तथा जनसंख्या वृद्धिस“गै चिकित्सकहरुको नयाँ दरबन्दी थप्नुपर्नेलगायतको माग राखेर पूर्व राष्ट्रपति भण्डारीलाई भेटेको नेपाल चिकित्सक संघ कोशी शाखाका महासचिव डा( बालकृष्ण साहले जानकारी दिए ।
वि.सं. २०४८ सालमा कायम गरिएको दरबन्दीमा पनि करिब ५० प्रतिशत रिक्त रहेकोमा चाँडै लोक सेवामार्फत पदपूर्ति गरिनुपर्ने माग राखेको संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले बताए ।
संघले पूर्व राष्ट्रपति भण्डारीलाई बुझाएको आधिकारिक ध्यानाकर्षणपत्रमा मुख्य तीन समस्या औल्याइएका छन् । जसमा पहिलो र ज्वलन्त मुद्दा आवसीय चिकित्सकहरुको समस्यालाई उल्लेख गरिएको छ ।
‘आवासीय चिकित्सकहरुको निर्वाह भत्ताको सन्दर्भमा मुलुकभर आवासीय चिकित्सकहरुको आन्दोलन चलि नै रहेको छ । निर्वाह भत्ताको सन्दर्भमा एकातिर कुरा छदैँछ अर्कोतर्फ आवासीय चिकित्सकहरुको काम गर्ने ड्युटी आवरका साथै चिकित्सकको स्वास्थ्य अवस्थाको समेत ख्याल गर्नुपर्ने जरुरी देखिन्छ,’ ज्ञापन पत्रमा छ, ‘आवासीय चिकित्सकहरुको मानसिक स्वास्थ्यको सन्दर्भमा हेर्दा हालै पन्ध्र दिनको अन्तरालमा नेपालको प्रतिष्ठित दुई संस्थामा दुई आवासीय चिकित्सकहरुले आत्महत्या गरेको कुरालाई गम्भीर रुपमा हेर्नुपर्ने जरुरी छ ।’
पूर्व राष्ट्रपति भण्डारीलाई संघका तर्फबाट अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, सदस्यद्वय रितेशकुमार सिंह र प्रेक्षा दली, कल्चर समितिका डा. मिरा आचार्य र सल्लाहकार डा. मोहन खड्काले भेटेका थिए ।