काठमाडौं–आयुर्वेदिक औषधि कम्पनी क्लासिक हर्बल प्रोडक्ट प्रा.लि.ले आफ्ना नयाँ प्रोडक्टहरु बजारमा ल्याएको छ । २४ वर्षअघि आयुर्वेदिक चिकित्सक स्वर्गीय डा. ऋषिराम कोइरालाले स्थापना गरेको सो कम्पनीले यसअघि चुर्ण वर्गका औषधि उत्पादन गर्दै आएको थियो ।
अहिले भने कम्पनीलाई विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास प्रक्रियामा लैजाने तयारीका साथ ट्याब्लेट, क्याप्सुल र सिरफ फर्ममा पनि औषधि उत्पादन सुरु गरेको कम्पनीका अध्यक्ष डा. बद्री कोइरालाले जानकारी दिए ।
कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीकाअनुसार अहिले थप गरिएका औषधिहरुमा ९ वटा ट्याव्लेट, १० वटा क्याप्सुल र ५ वटा सिरप आइटम रहेका छन् ।
औषधिको प्रभावकारिता र गुणस्तरलाई ध्यान दिएर पूर्ण परीक्षण गरी डब्लुएचओ जिएमपी मापदण्डअनुसार औषधिहरुको बजारीकरण गरिएको कम्पनीका फर्मासिष्ट सपना भण्डारीले बताइन् ।
बिहिबार नयाँ प्रोडक्टहरुको लन्चिङ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले गरेका थिए । उनले लन्च गरिएका प्रोडक्टहरु औषधि व्यवस्था विभागबाट स्वीकृत भएको बताउँदै आयुर्वेद औषधिको गुणस्तरमा ध्यान दिन सुझाएका थिए ।
आयुर्वेदका विज्ञ प्रा.डा. श्याममणि अधिकारीले ठूलो र अत्याधुनिक बजार भएको भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने औषधि निर्माण गर्नु कम्पनीको चुनौती रहेको बताए ।
कम्पनीका चिकित्सक डा. रिसव कोइरालाले आयुर्वेदिक औषधि भनेर चिकित्सकको सिफारिस बिना पनि सेवन गर्ने गरिएको भन्दैं त्यसो नगर्न सुझाए । उनले जुनसुकै औषधि पनि चिकित्सकीय सल्लाहमा निश्चित मात्र सेवन गर्नुपर्ने जानकारी दिएका थिए ।