नेपालगन्ज—नेपालगन्जस्थित संजीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. नितेशकुमार कनौडिया नियुक्त भएका छन् । भारतको टाटा इन्स्टिच्युट अफ सोसियल साइन्सबाट हेल्थ केयर एडमिनिस्ट्रेसन (एमएचए) अध्ययन पूरा गरेर उनी पाँच वर्षदेखि नेपालगन्ज मेडिकल कलेजको सहायक निर्देशकको जिम्मेवारीमा थिए ।
संजीवनी कलेजको सिईओ नियुक्त भएसँगै ३५ वर्षीय युवा चिकित्सक डा. नितेशलाई व्यवसायिक दक्षता देखाउने अवसर जुरेको छ । नेपालगन्ज मेडिकल कलेजका संस्थापक प्रबन्ध निर्देशक एवं एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका संस्थापक अध्यक्ष डा. सुरेशकुमार कनोडियाका उनी कान्छा छोरा हुन् ।
नेपालगन्ज मेडिकल कलेजबाटै एमबीबीएसको पढाइ पूरा गरेपछि एमडी/एमएस गरेर अघि बढ्ने सुरक्षित र आकर्षक अवसर छाडेर डा. नितेशले अस्पताल ब्यवस्थापन क्षेत्रका चुनौतीलाई अवसरलाई पच्छाउँदै हेल्थ केयर एडमिनिस्ट्रेसनको अध्ययनलाई रोजाइमा राखेका थिए ।
डा. नितेशले दिल्ली पब्लिक स्कुल लखनउबाट एसएलसी र डिएभी स्कुल ललितपुरबाट प्लस टु गरेका थिए । सन् २०१४ मा उनले एमबीबीएसको पढाइ पूरा गरेका थिए ।
अमेरिकन हर्ट एशोसियसनबाट लाइफ सपोर्ट तालिम लिइसकेका डा. नितेशले सन् २०१५ मा इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) र एशियन डिजाष्टर प्रिपिरेसन्ड सेन्टर (एडिपीसी)बाट हस्पिटल प्रिपिरेशन्ड अफ इमर्जेन्सीको तालिम लिइसकेका छन् ।
करिब १४ सय स्वास्थ्यकर्मी कार्यरत रहेको नेपालगन्ज मेडिकल कलेजको सहायक निर्देशकको रुपमा करिब ५ वर्ष अस्पताल ब्यवस्थापनको अनुभव हासिल गर्दै अगाडि बढ्दैं गरेका डा. नितेशले संजीवनी कलेजको सिईओको जिम्मेवारी पाएका हुन् । डा. नितेश नेपालगन्जमै बसेर स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही नयाँ र उल्लेखनीय काम गर्नुपर्छ भन्ने मान्यता बोकेर अगाडि बढ्दैं गरेका युवा नेपालका एकजना मेहनती युवा उद्यमी हुन् ।
नेपालगन्ज मेडिकल कलेजको पूरानो ब्यवस्थापनले कोहलपुरमा आफ्नै भवनमा ५ शैय्याको शिक्षण अस्पताल र नेपालगन्जमा नेपालगन्ज हस्पिटल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रा.लि.सँग सहकार्य गरेर नेपालगन्जमा ३ सय शैय्याको शिक्षण अस्पताल सञ्चालन गर्दै आएको थियो ।
गत वर्ष खुमा अर्यालको समुहले नेपालगन्ज मेडिकल कलेजको ५० प्रतिशतभन्दा बढी शेयर लिएर ब्यवस्थापन सम्हाल्न सुरु गरेसँगै अर्याल समूहकै बुटवलमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. र नेपालगन्ज हस्पिटल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रा.लि.लाई मर्ज गरेर नेपालगन्जमा संजीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. सञ्चालनका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको संजीवनी कलेजले नेपालगन्जमा नर्सिङ तथा एलाइड साइन्सका साथै सिटिईभिटीका शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागि तयारी गरिरहेको छ । त्यही कलेजको सिईओमा नियुक्त भएका डा. नितेशले नयाँ सोच र उर्जाका साथ कलेजलाई सञ्चालनको तयारीमा जुटेका छन् ।
नयाँ ब्यवस्थापनले नेपालगन्ज मेडिकल कलेजबाट छुट्टाएर नेपालगन्जको शिक्षण अस्पतालाई संजीवनी कलेजको रुपमा सञ्चालन गर्ने जिम्मेवारी युवा सिईओका रुपमा डा. नितेशलाई भित्र्याएको हो ।
विशेषगरी मेडिकल कलेजको कर्मचारीको रुपमा शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत करिब ६ जना कर्मचारीको ब्यवस्थापन गरेर संजीवनी कलेजका लागि आवश्यक पर्ने चिकित्सकदेखि कर्मचारीसम्मको ब्यवस्थापन गर्नु नयाँ सिईओ डा. नितेशका अगाडि मुख्य चुनौतीको रुपमा रहेको छ ।
संजीवनी कलेजको सिईओमा नियुक्त भएका डा. नितेशको परिवार चिकित्सा पेशामा लामो समयदेखि आवद्ध परिवार हो । उनका बाबु, दाजु र भाउजुसमेत चिकित्सक हुन् । व्यवसायिक घरानाका कनौडिया परिवारका सदस्य डा. सुरेशकुमार कनौडिया कपिलवस्तु पुख्र्यौली थलोबाट एउटा चिकित्सकको रुपमा जागिर खाने शिलशिलामा नेपालगन्ज आएका थिए ।
भेरी अस्पतालमा चिकित्सकको रुपमा काम गर्दागर्दै साथीहरुसँग मिलेर ३५ वर्ष पहिले नेपालगन्जमा नर्सिङ होम खोलेका कनौडियाले नेपालगन्ज मेडिकल कलेज स्थापना गरेर संस्थापक प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका थिए । नेपाल मेडिकल कलेजको झन्डै ३ दशक ब्यवस्थापन सम्हालेका डा. सुरेशका छोरा कान्छा छोरा डा. नितेशले कलेज ब्यवस्थापनको जिम्मेवारीमा रुचि भएपछि कजेजको ब्यवस्थापनको जिम्मेवारी पाएका हुन् । कनौडिया परिवारका पछिल्लो पुस्ताका डा. नितेश आफ्नो पेशासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।
नेपाली युवा उद्यमी फोरम नेपालगन्जका संस्थापक अध्यक्षसमेत रहिसकेका डा. नितेशले २०७२ सालको भूकम्पपछि आपत्तकालीन अवस्थामा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखि राहात वितरण कार्यमा महिनौंसम्म दिन रात खटेका थिए । त्यसै गरी कोभिड—१९ संक्रमणको महामारीका बेला फिल द बकेट अभियान सञ्चालन गरेर नेपाल भारत सीमामा स्वास्थ्य सेवा सञ्चालन गने कार्यमा सक्रिय भएका थिए ।
डा. नितेशले नेपालगन्ज मेडिकल कलेजको सहायक निर्देशक हुँदा सामुदायिक सेवा कार्यक्रम लिएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न विकट गाउँ वस्तीहरुमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेर गरिबी, अभाव र पछौटेपनका कारण अनेक स्वास्थ्य समस्या खेप्न विवश भएका नागरिकहरुलाई सहयोग पु¥याएका थिए ।
डा. नितेश स्वास्थ्य क्षेत्रमा आईपर्ने संकट व्यवस्थापनका लागि कुशल मानिन्छन् । भुकम्प र कोभिड महामारीको आपत्तकालीन अवस्थामा सरकारी संयन्त्र, निजी क्षेत्र र संघ संस्थासँग समन्वयकारी भूमिका निर्वाह गरेर कठिन अवस्थामा रहेका नागरिकको उपचारसँगै राहात पु¥याउने कार्यमा डा. नितेशले देखाएको सक्रियतालाई धेरैले प्रशंशा गर्दै आएका छन् ।
कलेजका सहायक निर्देशकको रुपमा डा. नितेशकै नेतृत्वमा स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग समन्वय र सहकार्य गरेर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १०० शैय्याको कोभिड डेलिकेटेड लेबल थ्रीस्तरको छुट्टै वार्ड सञ्चालन भएको थियो । आईसीयु र शल्यक्रियासहितको उपचार सेवासहितको लेबल थ्री स्तरको छुट्टै कोभिड वार्ड सञ्चालन भएपछि कोभिड—१९ संक्रमित करिब ८ सय जना बिरामीले सहज रुपमा उपचार सेवा पाएका थिए ।
सूचना प्रवाहका हिसाबले सञ्चार मैत्री स्वभावका डा. नितेश आफ्नो पुस्तामाझ सामाजिक रुपमा लोकप्रिय छन् । संजीवनी कलेजको सिईओमा नियुक्त भएका डा. कनौडिया भन्छन्, ‘नेपालगन्जलाई पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको हब बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । त्यही मान्यतालाई आत्मसाथ गर्दै संजीवनी कलेज र अस्पताल व्यवस्थापनको चुनौतीपूर्ण जिम्मेवारीलाई बहन गरेको छु । सबै क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्छु ।’