२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा

चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा


जुम्ला—यतिबेला हिमाली जिल्ला जुम्लाको मौसम निकै चिसो छ । अत्याधिक चिसो भएपनि माघ महिनाको दोस्रो सातासम्म हिउँ भने परेको छैन । यही चिसो मौसमलाई प्रवाह नगरी देशभरका विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुगेका छन् ।

प्रतिठानमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै चिकित्सा शिक्षा अध्ययनका लागि पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी जुम्ला पुगेका हुन् । बिहीबार सम्पन्न अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदै दाङका हुम बहादुर डाँगीले भने, ‘छोरी वर्षा डाँगीलाई जुम्लामा बीएस्सी नर्सिङ पढाउनका लागि जुम्ला पुगेको हुँ ।’ उनले छोरीलाई जुम्लामै चिकित्सा शिक्षा पढाउनुपर्छ भनेर आएको बताए ।

जुम्लाका सुरज उपाध्यायले पहिला—पहिला जुम्लाका दाजुभाइहरु पढ्न भनेर जिल्ला छोडेर बाहिर जानुपर्ने अवस्था फेरिएको बताए । ‘अहिले आफ्नै जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएपछि यही बीपीएच पढ्नुपर्छ भनेर आएको हुँ,’ उनले भने, ‘आफ्नो घर नजिकै पढ्न पाउनु सुखद् पक्ष हो । यसलाई हामीले भरपुर उपयोग गर्नु पर्दछ ।’

रौतहटकी कृति यादव र झापाकी सृष्टि थापा मगर एमबीबीएस पढ्न जुम्ला आउँदा निकै उत्साहित देखिन्थे । ‘काठमाडौं वा पोखराको कोलाहलपूर्ण वातावरणभन्दा जुम्ला पढ्नका लागि निकै उत्कृष्ट वातावरण छ,’ उनीहरु दुवै जनाले एक श्वरमा भने ।

त्यस्तै, नवलपरासीका सागर विश्वकर्मा पनि देशको सेवा गर्ने दृढ इच्छासहित यहाँ पढ्न आएका छन् । ‘म प्रतिष्ठानबाट डाक्टर बनेर विकट ठाउँमा सेवा गर्न चाहन्छु । यहाँको वातावरणले मलाई आत्मविश्वास दिएको छ,’ उनले भने ।

लमजुङकी कोशिका रानाभाट पनि बीएस्सी नर्सिङ पढ्न जुम्ला आएकोमा खुशी देखिइन् । पोखराकी झरना गुरुङले भनिन्, ‘पोखराजस्तो सुन्दर सहरबाट जुम्ला आउँदा कुनै न्यास्रो लागेन । यहाँको प्रकृति र साथीहरूको साथले मलाई नयाँ ऊर्जा दिने विश्वास छ ।’

विद्यार्थीको उज्ज्वल भविष्यको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहम भूमिका खेलिरहेको भूमिकाबारे प्रा. क्षितिज उपाध्याय बताए । ‘यहाँको एक जना शिक्षकले चार जना विद्यार्थीलाई दैनिक हेर्न सक्ने वातावरण छ । पढाइ तपाईंहरूले सोचेअनुसारको हुनेछ,’ उनले विद्यार्थीहरुलाई भने । उनको यो भनाइले प्रतिष्ठानको शैक्षिक गुणस्तर र विद्यार्थीप्रतिको समर्पणलाई स्पष्ट दर्शाउँथ्यो ।

प्रतिष्ठान पछिल्लो समय पठनपाठनमा देशमै उत्कृष्टता हासिल गरिरहेको प्रतिष्ठानका रेक्टर डबलबहादुर धामीले बताए । उनले भने, ‘विकटतामा रहेको यो संस्थान अहिले देशभरका विद्यार्थीको रोजाइको कुन्द्रविन्दु बनेको छ ।’

बिहिबार भएको अभिमूखीकरण कार्यक्रममा एमबीबीएस पढ्ने ४३ जना, बिपीएचका १५ जना, बी फार्मका १४ जना, बीएस्सी नर्सिङका १७ जना र बीएनएसका १५ जनाले सहभागिता जनाएको स्कुल अफ पब्लिक हेल्थ बिपीएच चौथो वर्षका संयोजक उप—प्राध्यापक ओमप्रकाश काफ्लेले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ