२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद

निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद

शिलालेख छोपेर उद्घाटन तयारी भएको कार्यक्रम रोकियो


धरान–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा निर्माण कार्य नै नसकिएको भवन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट उद्घाटन गर्ने तयारी अन्तिम अवस्थामा आएर रोकिएको छ । फार्मेसीका लागि बनाइएको सो भवन जलन वार्ड र क्यान्सर वार्ड बनाएर सोमबार उद्घाटन गर्ने तयारी रहेको थियो ।

उद्घाटनका लागि सजावट गर्ने, ब्यानर टाग्ने र शिलालेखको काम पनि सम्पन्न भइसकेको थियो । अन्तिम अवस्थामा आएर उद्घाटन नभएपछि शिलालेखलाई पत्रिकाले छोपिएको छ । निर्माण सम्पन्न नभईकन उद्घाटन हुन लागेको भवनका विषयमा प्रतिष्ठानका पदाधीकारी बीच नै मतभेद् भएपछि उद्घाटन रोकिएको हो ।

अझ प्रतिष्ठानका विभागीय चिकित्सकहरुले समेत निर्माण सम्पन्न नभएको भवन उद्घाटन गर्न लागेको विषयमा आफूहरुलाई जानकारी नै नदिएको भन्दै कार्यक्रम नै बहिस्कार गर्ने अवस्था आएपछि सोमबार बिहान मन्त्री पौडेल उद्घाटन गर्ने तयारीबाट पछि हटेका हुन् ।

निर्माण सम्पन्न नभएको सो भवन तत्काल उद्घाटन गर्नलाई मन्त्रीको दबाबमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सबै तयारी गरेका थिए । तर, रजिष्ट्रार प्रा.डा. सुर्यप्रसाद संग्रौलाले बर्न वार्ड र क्यान्सर वार्ड संचालन गर्न सो भवन तत्काल उपयुक्त नभएको र अन्य विभागका चिकित्सकहरुको राय पनि नलिएको भन्दै तत्काल उद्घाटन गर्न नहुने अडान राखेका थिए ।

तत्कालीन भिसी विपी दासको पालामा २ करोड रुपैयाँ लागतमा बनाउने भनिएको सो भवनपछि थप्दै गएर १३ करोड रुपैयाँ लागत पुगेको छ । एकातिर लागत बढेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ भने अर्कोतर्फ भवनमा लिफ्ट, बिजुली, प्लम्बिङजस्ता कार्य पूरा नभएर हस्तान्तरण भएको छैन ।

स्रोतकाअनुसार मन्त्री पौडेलको दबाबमा निर्माण पूरा नभएको र अख्तियारको छानविनलाई प्रभावित पार्ने गरी औपचारिकता दिनलाई नै हतार—हतारमा भवन उद्घाटन गर्न लागिएको हो । ‘एकातिर निर्माण कार्य सम्पन्न नभएकोले भवन प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छैन्,’ स्रोतले भन्यो, ‘अर्कोतिर अख्तियारले लागत बढेको विषयमा अनुसन्धान गरिरहेको छ । त्यसमाथि फार्मेसी भवन भनेर बनाएकोमा अहिले बर्न वार्ड र क्यान्सर वार्ड भनेर उद्घाटन गर्न लागिएको थियो यो सरासर अवैध कामलाई मन्त्रीबाट वैध बनाउन खेलिएको खेल हो ।’

निर्माण सम्पन्न नभएको सो भवनमा गएर काम गर्न चिकित्सकहरुले नमान्ने अवस्था देखेपछि प्रतिष्ठानले भवन उद्घाटनका लागि शिलालेख तयारीदेखि सजाउनेसम्मको काम सम्पन्न भएपनि पछि हट्नु परेको हो ।

अन्तिम अवस्थामा आएर उद्घाटन रोकिनुको कारणबारे प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.संग्रौला केही प्रविधिक काम बाँकी रहेकाले केही दिनका लागि सारिएको बताउँछन् । ‘केही प्राविधिक काम बाँकी रहेको थियो,’ उनले भने, ‘केही दिनका लागि उद्घाटन कार्यक्रम सारिएको मात्र हो, रोकिएको होइन ।’ भवन हस्तान्तरण नभएको विषयमा जिज्ञासा राख्दा उनले त्यो विषय आफूलाई थाहा नभएको र सो कुरा सुनेपछि सम्बन्धित विभागबाट जानकारी मागेको जवाफ दिए ।

यता स्वास्थ्यमन्त्री पौडेलका स्वकीय सचिव दुर्गा घिमिरे भने मन्त्रिपरिषद बैठक भएका कारण भवन उद्घाटन रोकिएको बताउँछन् । ‘अन्य कारण केही होइन्, आज क्याबिनेट भएका कारण मन्त्री जान नपाउनुभएको हो,’ उनले भने ।

समाचार र शिलालेखमा छाउन मरिहत्ते गर्न थालेपछि युवा मन्त्री पौडेलबाट आम सर्वसाधारणबाट गरिएको जनमुखी कामको अपेक्षा तुषारापात हुन पुगेको छ । उनी प्रचारमुखी बन्दै गएको देखिन्छ । मन्त्री पौडेलले जता गएपनि शिलालेख लेखेर आफ्नो नाम लेखाउन मरिहत्ते गर्छन् ।

केही समयअघि आफैले नेपालगञ्जस्थित भेरी अस्पतालको भवन उद्घाटन गरे । सो भवनमा राखिएको शिलालेखमा उनकै नाम छ । त्यतिले मात्र नपुगेर मन्त्री पौडेलले त्यसको केही महिनामा फेरि त्यही भवनभित्र सुरु भएको सिकलसेलको उपचार वार्डको आफ्नै नाम लेखाएर अर्को शिलालेख लेखाए । उनी शिलालेखमा नाम लेखाएर प्रचारका लागि कति मरिहत्ते गर्छन् भन्ने अर्को उदाहरण भक्तपुरस्थित नागरिक अस्पतालले संचालनमा ल्याएको तीन बेडको आईसीयुको शिलालेख उद्घाटनले पनि देखाउँछ । सो शिलालेख उद्घाटन अघिसम्म उनलाई के को उद्घाटनमा जाँदैछु भन्ने पनि थाहा थिएन् । शिलालेख पढेपछि मात्र उनले ‘ए आईसीयुको पो उद्घाटन रहेछ’ भन्न भ्याएका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ