अन्य समयको तुलनामा विशेष गरी जाडो याममा आर्थर्राइटिस—हाड जोर्नीको समस्या बढी मात्रामा देखा पर्दछ । यो समस्या विशेष गरी वृद्ध अवस्था, चोट—पटक, वाथ रोग तथा अन्य रोगको कारणले जोर्नी खिइन गै देखा पर्ने गर्दछ ।
यस्ता रोगहरूबाट पहिले नै ग्रसित भएका व्यक्तिहरूमा जाडोयाम तथा चिसोको समयमा अन्य समयको तुलनामा बढी नै दुखाइ हुने गर्दछ । जाडोयाममा दुखाइको कारणले अस्पताल आउने वृद्ध बिरामीको संख्या ५० प्रतिशतले बढ्ने गरेको देखिन्छ ।
यस अर्थमा भन्नु पर्दा यस्ता समस्या व्यक्तिमा चिसोको कारणले नलाग्ने भएतापनि चिसोकै कारणले दुखाइ बढ्ने देखिन्छ ।
कारण
गर्मी याममा पनि व्यक्तिमा दुखाइ हुन्छ । तर, जाडोमा किन बढी दुखाइ हुन्छ त? यो सबैको जिज्ञासाको विषय पनि हुन सक्दछ ।
- गर्मी यामको तुलनामा जाडो याममा चिसोको कारण हाम्रो दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय तथा संवेदनशील हुने गर्दछ ।
- जाडो याममा वायुमण्डलीय दबाव कम हुनुको कारणले जोर्नी तथा मांसपेशीमा सहजै सुजन हुने गर्दछ । जसले गर्दा दुखाइ पनि सहजै हुन जान्छ ।
- जाडो याममा मांसपेशी तथा जोर्नीहरूमा ऐठन बढी मात्रामा हुने हुनाले पनि दुखाइमा वृद्धि हुन्छ ।
- चिसोको कारणले हातगोडाहरूमा तुलनात्मक रूपमा रक्त सञ्चारमा कमी हुनाले समेत दुखाइ बढ्ने गर्दछ ।
- जाडो याममा दिन छोटो र रात लामो भई सुर्यको किरण पर्ने समय नै छोटिदा शरीरमा भिटामिन—डी को कमी हुँदा पनि हाड जोर्नीको दुखाइ बढ्ने गर्छ ।
रोकथाम तथा बच्ने उपाय
यस्ता समस्याहरू देखा नपरोस भन्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छ :
- शरीर न्यानो हुने कपडा लगाउने । विशेष गरी हातखुट्टा छोप्ने लुगा लगाउने ।
- तातो तथा झोलिलो खाना प्रशस्त मात्रामा खाने ।
- शारीरिक रूपमा सक्रिय रहने ।
- शारीरिक व्यायामलाई प्राथमिकता दिने । विशेषगरी घर भित्रै गर्न सकिने व्यायाम गर्ने ।
- विद्युतीय हिटर, तातो पानी आदिले सावधानीपूर्वक दुखाइको भाग सेक्ने ।
- पारिलो घाममा बस्ने ।
- भिटामिन—डी तथा ओमेगा—३ भएका पोषिलो खाने कुरा उचित मात्रामा खाने ।
- माथिल्लो उपायहरूले पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्ने ।