जुम्ला—मुगुमा हिमपातको चुनौतीबीच सुत्केरी ब्यथाले छटपटिएकी एक महिलाको हेलिकप्टरमार्फत द्दार गरिएको छ । बिहीबार सुत्केरी व्यथा लागेपछि सर्जरी गर्नुपर्ने अवस्थामा पुगेकी छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाउँकी २५ वर्षीया ठुमा खड्कालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
बुधबार रातिदेखि ब्यथाले च्यापेपछि बिहीबार बिहान १० बजे आफन्तले जिल्ला अस्पताल मुगु पुर्याएका थिए । खड्काको उपचारका लागि अस्पतालमा आवश्यक सुविधा नभएकाले सुर्खेतको प्रदेश अस्पतालमा रेफर गरिएको थियो ।
जिल्ला अस्पताल मुगुमा सम्भव नभएपछि तत्काल जिल्ला प्रशासन कार्यालय मुगु र जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको पहलमा राष्ट्रपति महिला उथान कार्यक्रममार्फत गर्भवती खड्कालाई हेलिकप्टरमार्फत उद्वार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ ।
जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीकाअनुसार बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र दिसा खाएको हुन सक्ने देखिएपछि तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भएको थियो । दुई वर्षअघि पनि शल्यक्रियाबाट बच्चा जन्माएकी खड्काको यो दोस्रो आपतकालीन ब्यथा हो ।
हिमपात भइरहेका चुनौतीपूर्ण अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याउन सकिएकोमा खड्काका श्रीमान् राजबहादुर खड्काले आफूलाई ठूलो राहत मिलेको बताए ।