२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा

एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा


विराटनगर—नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको २६ र २७ माघमा हुने निर्वाचनमा धनबहादुर काफ्ले र नगेन्द्रप्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर प्यानलगत चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

विराटनगरको एपोलो फार्मेसीका संचालक रहेका काफ्ले यसअघि संघको खुद्रा उपाध्यक्ष रहेका थिए भने विर्तामोडको ओसन मेडिकेयर प्रा.लि.का संचालक बराल भने यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र बरालको समूहबाट सूर्यप्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तिम्सिना औषधि व्यवसायी संघ मोरङका निर्वतमान अध्यक्ष हुन् ।

त्यसैगरी, थोक उपाध्यक्षमा काफ्ले समूहबाट सुदिनध्वज श्रेष्ठ र बरालको समूहबाट खेमराज बस्नेतले उम्मेदवारी दिएका छन् । महासचिवमा लक्ष्मण माझी चौधरी र रवीन्द्र घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । काफ्ले समूहबाट महासचिवमा उम्मेदवारी दिएका चौधरी एनसीडीएका कोशीका पूर्व अध्यक्ष हुन् । त्यस्तै, उप—कोषाध्यक्षमा सेवक दाहाल र पुष्पराज पोखरेलको उम्मेदवारी परेको छ ।

उपाध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित

एनसीडीए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलीप सुवेदीसहित १२ जना निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्तामा खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी, कोषाध्यक्षमा प्रभातकुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा यामकुमार खड्का, बेदबहादुर थापा, खुला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ