२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’

सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’

कार्यकारी निर्देशक डा. पौडेलको अनुभवः कसरी समाधान भयो सिभिलको कर्मचारी आन्दोलन ?


काठमाडौं—एक समय थियो—मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा दैनिक आन्दोलन हुन्थे । अस्पतालमा पस्ने बितिकै कालो ब्यानरमा अनेकन माग लेखिएका ब्यानरहरु टाँगिएका देखिन्थे । आन्दोलनकै कारण सेवा प्रवाहमा समेत कहिलेकाहीँ समस्याहरु सिर्जना हुन्थे ।

केही समययता त्यो माहोल फेरिएको छ । १२—१३ वर्षदेखि अस्थायी रहेका कर्मचारीहरु सिमित प्रतिस्पर्धामार्फत स्थायी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलकाअनुसार पछिल्ला चार वर्षमा कर्मचारीको स्थायीत्वसँगै सेवा सुविधामा पनि ब्यापक सुधारका कामहरु भएका छन् ।

‘म अस्पतालको कार्यकारी निर्देशक भएर आउँदा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलनमा हुनुहुन्थ्यो,’ डा. पौडेलले भने, ‘चार वर्षको अवधिमा उहाँहरुको स्थायीत्व, सेवा सुविधालगायतका क्षेत्रमा काम गरेर अहिले अस्पतालको वातावरण सहज बनाइएको छ ।’ कर्मचारी स्थायीत्वसँगै सेवा प्रवाहमा पनि त्यसको असर देखिने बताउँछन् ।

डा. पौडेलकाअनुसार डाक्टरलाई ७५ प्रतिशत र अन्य कर्मचारीलाई ५० प्रतिशत भत्ता व्यवस्था गरिएको छ । यसैगरी, अस्पतालमा बीआरआईअन्तर्गत अस्पतालका कर्मचारीलाई तालिमका लागि चीन पठाउने कार्यको सुरुवात गरेको छ भने निजामती कर्मचारी दिवसको अवसर पारेर उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार गर्न थालिएको छ । ‘यसले कर्मचारीबीच प्रतिस्पर्धाको भावना सिर्जना गर्नुका साथै काम गर्नका लागि पनि प्रेरित गर्छ र हौसलामा वृद्धि गर्छ,’ उनले थपे । यससँगै सिभिल अस्पताल अब आन्दोलनमुक्त अस्पताल भएको छ ।

कार्यकारी निर्देशक डा. पौडेलको अनुभवः यसरी समाधान भयो सिभिलको कर्मचारी आन्दोलन

अस्पतालको निर्देशक भएर म आउँदा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलनमा हुनुहुन्थ्यो । म आउनसाथ १५ बुँदे माग ल्याएर दिनुभएको थियो । निजामती कर्मचारी युनियन र डक्टर्स एसोसिएसनको अगुवाइमा ती माग बुझाउनुभएको थियो । मागहरु जायज पनि थिए । १२—१३ वर्षअघि अस्थायी भएका कर्मचारी स्थायी हुने मौका पाउनुभएको थिएन ।

पहिले एक पटक लोकसेवाकै प्रक्रियाबाट जाँच लिएर छनोट भएरै यहाँ काम सुरु गर्नुभएको थियो । विनियमावलीले ४ वर्षपछि स्थायी प्रक्रियामा भिड्नुपर्ने उल्लेख थियो । विनियमावलीमा ६० प्रतिशत पास मार्क ल्याएर ४ वर्षमा स्वतः स्थायी हुने उल्लेख छ । वि.सं. २०७२ मा नयाँ संविधान आएपछि यसमा समस्या भयो । वि.सं. २०७४ सालसम्म यसमा केही समस्या थिएन्, त्यो बेला प्रक्रिया अगाडि बढाइदिएको भए, त्यही बेला धेरै कुरा मिलेर जान्थ्यो । तर, त्यसबेला हुन सकेन । जब २०७५/०७६ तिर कर्मचारी आन्दोलित हुन थाले, त्यसबेला लोकसेवा आयोग क्रियाशील भयो ।

म वि.सं. ०७७ को अन्तिममा कार्यकारी निर्देशक भएर आएको हो । त्यो बेला युनियन पनि बनिसकेको थियो । पछि डाक्टर एसोसिएसन पनि बन्यो । सबैको आफ्नो स्थायीत्वको लागि माग थियो । अर्को, करारमा भएपनि एक तहमाथि बढुवा हुन पाउँ भन्ने थियो । उहाँहरुको माग जागिर जानु भएन भन्ने थियो ।

अर्को, समस्या भनेको निजामती कर्मचारी सेवाअनुसारको तलब भत्ता पनि नपाइरहेको अवस्था रहेछ । अन्तभन्दा ६० प्रतिशतमा मात्र काम गरेको पाइयो । योग्यताभन्दा एक तह तलको तलबमा काम गरिरहेको अवस्था थियो । पहिलो काम बोर्ड मिटिङमा अर्थमन्त्रालयको सहमति लिएर तलबमान मिलाउने काम भयो । त्यसमा नेपालका निजामती कर्मचारी सरह तलब दिने र त्यसमाथि निजामती अस्पतालले कर्मचारीलाई ५० र डाक्टरलाई ७५ प्रतिशत भत्ता दिने व्यवस्था गरियो । कर्मचारीहरु आर्थिक रुपमा दह्रो नभई काममा लगाउन गाह्रो हुन्छ । त्यसअघि सिभिलमा ओटी खाने, अनकल खाने रहेछ, त्यसलाई हटाएर व्यवस्थित गरीयो । ७÷८ ठाउँबाट इन्सेन्टीभ लिने चलन थियो त्यो हटाइयो ।

सिभिलका कर्मचारीहरु एक पटक स्थायीमा जान्छ भनेरै यहाँ आउनुभएको हो । त्यो कुरा विनियमावलीमा नै लेखेको छ । विनियमावलीमा लेखेको कुरा टेकेर उहाँहरु अदालत जानुभयो । अदालतले उहाँहरुलाई न्याय दियो । वि.सं. २०७२ अगाडि र त्यही नियमावलीलाई टेकेर आएका सवै स्थायी प्रक्रियामा भाग लिनुभयो । विनियमावलीमा उत्तीर्ण हुन ६० नम्बर चाहिने प्रावधानलाई बोर्ड र लोकसेवाको सहमतिमा ५० नम्बरमा झारियो । त्यसबाट धेरै जना स्थायी हुनुभयो । तर, केही साथीहरु स्थायी हुन सक्नुभएन । एक पटक लोकसेवाबाटै आउनुभएको हो ।

अस्पताललाई जनशक्ति पनि आवश्यक नै छ भनेर उहाँहरुलाई पनि बोर्डबाटै निर्णय गराएर एक पटकलाई करारमा लगेर सेटल गरियो ।
स्थायी प्रक्रियामा लगेसँगै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई विभिन्न खालका तालिमहरु गराउँदैं आइएको छ । यी तालिमले उहाँहरुको मनोबल बढाएको छ । ४० जना कर्मचारीलाई चीन भ्रमण गरायौ । त्यो चाइनिज सरकारसँगको सिधा रिलेसनमा गरिएको हो ।

स्थापनाकालदेखि ७० को नियमावलीबाट अस्पताल प्रवेश गरेका सबै कर्मचारीको समस्या समाधान भएको छ । नियमावलीमा उल्लेख भएअनुसारको सिमित प्रतिस्पर्धाबाट स्थायी हुने ब्यवस्थाअनुसार सेवा प्रवेश गरेका सबैको समस्या समाधान भएको छ । अब त्यो प्रक्रियाबाट स्थायी हुने अन्तिम ब्याचको लोकसेवाले परीक्षाफल प्रकाशित गरिरहेको छ ।

अब बढुवाबाट जानेको आन्तरिक प्रतिस्पर्धा हुन्छ भने अन्य सबै खुल्ला प्रतिस्पर्धाबाट आउनुपर्ने हुन्छ । अहिलेसम्म अस्पतालमा ३ सय ६५ जना स्थायी प्रक्रियामा आइसक्नुभएको छ । अहिलेको संरचनाअनुसार ४ सय ६१ स्थायी दरबन्दी हो । बाँकी रहेका पनि विज्ञापन आएपछि त्यो पनि पूरा हुन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ