२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशराउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर


वीरेन्द्रनगर—जंगलमा घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबार सुर्खेतको वीरेन्द्रनगर–२ को गिरीघाटमा बसिरहेका राउटे समुदायमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

हर्ड नेपाल र नविल बैंकको आयोजनामा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा स्वास्थ्य शिविरको आयोजना भएको छ । शिविरमा राउटे जातिका महिला, पुरुष र बालबालिका गरी ६० जना बढीको निःशुल्क स्वाथ्य जाँच गरी औषधि वितरण गरिएको थियो ।

वर्षौदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार जना विषेशज्ञ चिकित्सकहरुले उपचारमा संग्लन रहेको हर्ड नेपालमा कार्यकारी निर्देशक राकेशकुमार यादवले बताए । ‘राउटे समुदायमा स्वास्थ्य शिविर गरेर यहाँको समस्याका विषयमा जानकारी लिने काम भएको छ,’ उनले भने, ‘यहाँ प्राथमिक उपचार गरिएको छ । यहाँका थप स्वास्थ्य समस्या बुझेर अबका दिनमा थप उपचारको व्यवस्था मिलाउने छौं ।’

राउटे समुदायमा उपचारका लागि केही प्राथमिक औषधिसहित सरसफाइका सामान वितरण गरिएको निर्देशक यादवले जानकारी दिए । ‘हामीले सरसफाईका सामानसहित उपचार र औषधि वितरण गरेका छौं,’ उनले भने, ‘यहाँको आवश्यकता खाद्यान्नलगाएतका अन्यको रहेको छ ।’

मौसमी रुघाखोकीको समस्या

राउटे समुदायमा स्वास्थ्य समस्या जटिल भएपनि उपचार नगराउने भएका कारणले गम्भीर प्रकारका रोग नदेखिएपनि चिसोका कारणले सामान्य रोगको समस्या देखिएको उपचार संग्लन चिकित्सकहरुले बताएका छन् ।

जंगलमा बसोवास गर्ने राउटे समुदायमा जाडोका कारणले रुघाखोकीलगायतका समस्यादेखिको कर्णाली प्रदेश अस्पतालका डा. सोपकोटाले बताए । ‘मौसमी रुघाखोकी, निमोनिया, छालाका रोग र ग्याष्टिक रोगका बिरामी भेटाएका छौं,’ उनले भने, ‘केही महिलामा पाठेघरको समस्या, ढाड दुख्ने समस्या देखिएका छन् ।’

राउटे समुदायलाई उपचार पश्चात जुका, भिटामिन, आइरन चक्कीकासाथै स्वास्थ्य परीक्षणका क्रममा भेटिएका रोगहरुको उपचारका लागि औषधि वितरण गरिएको हर्ड नेपालका निर्देशक यादवले बताए ।

राउटे समुदायका हाल ४८ परिवारका १३७ जना रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ