२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख बढी लिएको आरोप

लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख बढी लिएको आरोप


विराटनगर—सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिल पोखरेल ठगी मुद्दामा जोडिएका छन् । सप्तरीको अग्नी साईर कृष्ण सवरवन गाउँपालिका—५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीको छोरी दीक्षा चौधरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको हो ।

मोरङ रंगेली नगरपालिका—२ मंगलबारेका ४३ वर्षीय पोखरेलले राजनीतिक शक्तिको आडमा ठगी गरेको जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सफल भएका थिए । तर, पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएपछि उनी कानुनी दायरामा आउने बाटो खुलेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सुर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ ।

पोखरेल वि.सं. २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधसभा निर्वाचन क्षेत्र नम्बर २ को कोशी प्रदेशसभा क्षेत्र नम्बर (२) बाट उम्मेदवारका लागि सिफारिस भएका थिए । उक्त निर्वाचन क्षेत्रबाट अन्तिममा लीलाबल्लभ अधिकारीले टिकट पाएका थिए । ०७९ मंसिरको प्रतिनिधिसभा चुनावपछि ऋषिकेश पोखरेल सांसद निर्वाचित भए । २०८० भदौमा ऋषिकेश लेखा समिति सभापति बने । प्रदेशसभा सदस्यको टिकट नपाएको अनिल भने ऋषिकेश पोखरेलका स्वकीय सचिव भए ।

ठगीमा जोडिएका पोखरेललाई सांसद ऋषिकेशले डेढ वर्ष अगाडि स्वकीय सचिवमा नियुक्त गरेका थिए । पोखरेलले अनिललाई स्वकीय सचिवमा नियुक्ति गर्नु अघि चौधरीसँग विभिन्न मितिमा सात पटक गरी ३८ लाख ३० हजार रुपैयाँ लिएको प्रमाण हेल्थआवाजसँग सुरक्षित छ ।
चौधरीले सुरुमा रामदेव सिंहमार्फत २० भदौ २०७१ मा १ लाख रुपैयाँ पोखरेलको नबिल बैंकको ३५१००१७५०३९८१ खातामा जम्मा गरिदिएका छन् । त्यसैगरी, केदारप्रसाद घिमिरेमार्फत २३ कार्तिक २०७१ मा ५० हजार रुपैयाँ, १३ फागुन २०७१ मा ५० हजार रुपैयाँ, बौआलाल चौधरीमार्फत २२ मंसिर २०७३ मा १० लाख रुपैयाँ, २२ मंसिर ०७३ मा ८ लाख रुपैयाँ र सोही मितिमा १७ लाख रुपैयाँ गरेर पोखरेलको खातामा पटक—पटक गरी ३८ लाख ३० हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।

पोखरेलले पैसा बुझेपछि दीक्षा चौधरीलाई एमबीबीएसमा नाम निकाल्ने र होस्टलमा समेत राख्ने वातावरण बनाइदिने बाचा गरेको बौआलाल चौधरीले दिएको जाहेरीमा उल्लेख छ । ‘तपाईंको छोरीलाई डाक्टर बनाइदिन्छु । मेरो पहुँच र पावर माथिसम्म छ । मैले भनेजति पैसा दिए एमबीबीएसमा नाम निकाल्ने र होस्टलमा राख्न समेत वातावरण बनाइदिन्छु,’ बौआलालले दिएको जाहेरीमा छ । पोखरेलले पैसा बुझेपछि छोरीको नाम पनि एमबीबीएसमा ननिस्केपछि दिएको रकम फिर्ता माग्दा उल्टै धाक धम्की दिने गरेको उनले बताएका छन् ।

पैसा माग्दा उल्टै पोखरेलको धम्की

पैसा माग्दा पोखरेलले उल्टै ५० लाख रुपैयाँ ऋण लिएको कपाली तमसुक बनाएको चौधरीको भनाइ छ । ‘९ फागुनमा ०७८ मा पोखरेलले तपाईंको हिसाब चुक्ता गरिदिन्छु । आउनुहोस् भनी मलाई ८–१० जनाको समूह लिएर काठमाडौंमा आए ।

त्यसपछि करकापमा पारेर २५ असार ०७४ को पुरानो मिति देखाएर कपाली लिखितमा ऋणी मलाई बनाएर ५० लाख रुपैयाँको कागजमा मेरो सम्पूर्ण रकम ठगी गरी खाने र पचाउने नियतले सही पनि गराए,’ चौधरीले दिएको बयानमा उल्लेख छ ।

प्रहरीले उजुरी नलिएपछि अदालतको साहारा

बौआलाल चौधरीले सांसद ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलबाट ठगी परेको भन्दै मोरङ प्रहरी र इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिँदा पनि प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि नबढाइदिएको पाइएको छ ।

तत्कालीन कोशी प्रदेशका डिआईजी अरुणकुमार बिसी र मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का रहेको बेला चौधरीले पोखरेल विरुद्ध ठगी मुद्दामा जाहेरी लिएर ११ फागुन २०७८ मा पुगेका थिए । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै पहुँचवाला पोखरेल विरुद्धको उजुरी लिनसम्म आँट गरेन । त्यसपछि चौधरीले १८ साउन २०७९ मा हुलाक निर्देशनालय विराटगरमार्फत ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा जाहेरी दरखास्त मोरङ प्रहरीमा पठाए । हुलाकले पठाएको पत्र १९ साउन ०७९ मा प्रहरीले हुलाक निर्देशानलय विराटनगरबाट प्राप्त पोष्ट म्यान बुकबाट बुझेको देखिन्छ । तर, प्रहरीले बौआलाल चौधरीको नामबाट कुनै पनि उजुरी प्राप्त नभएको भन्दै १० जेठ २०८० मा मोरङ प्रहरीका तत्कालीन मुद्दा फाँटका प्रहरी निरीक्षक मोहन पोखरेलले हस्ताक्षर गरेर उच्च अदालत विराटनगरमा जवाफ पठाएका छन् ।

प्रहरीले हुलाक र प्रत्यक्ष भेटेर पनि पोखरेल विरुद्ध उजुरी दर्ता नगरेपछि चौधरीले उच्च अदालत विराटनगरको सहारा लिन बाध्य भए । त्यसपछि ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको माग दावी लिएर रिट निवेदन दर्ता गराए । चौधरीले ठगीमा संलग्न पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई विपक्षी बनाएर रिट निवेदन उच्च अदालतमा दर्ता गराए ।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेल विरुद्ध ठगी मुद्दामा परेको जाहेरी दर्ता गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउन परमादेश ३१ भदौमा परमादेश भएको छ । प्रमाणीकरण ११ पुसमा भएको छ । ‘निवेदक बौआलाल चौधरीले हुलाकमार्फत पठाएको जाहेरी दरखास्त मिति २०७९÷४÷१९ गते जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरले बुझिएको भन्ने पोष्टमेन (बुक) किताबको सक्कल किताबबाट देखिन आएकोले कानुनी प्रक्रिया पु¥याइ जाहेरी दर्ता गरी कानून बमोजिम प्रक्रिया अगाडि बढाउनु भनी विपक्षी जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरका नाममा परामदेशको आदेश जारी हुने ठहर्छ । अरुको तपसील बमोजिम गर्नु,’ फैसलामा उल्लेख छ ।

अदालतको फैसला पालना गर्छु : पोखरेल

ठगी आरोप लागेको अनिल पोखरेलले उच्च अदालतले गरेको फैसला पालना गर्ने र प्रहरीले अनुसन्धान गरे सहयोग गर्ने बताएका छन् । बौआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको विषयमा भने उनले अस्वीकार गरे । ‘प्रहरीमा जाहेरी दिने उहाँ मेरो साथी हो । पुरानो चिनजान हो । उहाँको श्रीमतीलाई पैसा पठाउनको लागि उहाँको साथीमार्फत मलाई पैसा हालिदिएको हो,’ पोखरेलले हेल्थआवाजसँग फोन सम्पर्कमा भने ।

‘विपक्षीले जे जुन विषयमा र जे जस्तो प्रकृतिको घटना देखाइ ठगी मुद्दाको जाहेरी दर्ता नगरेको भनी परमादेशको निवेदन दर्ता गराउनु भएको छ, सो कुरा नै प्रचलित कानुन र मान्य सिद्धान्त अनुरुपको दावी होइन्,’ पोखरेलले अदालतमा फर्काएको लिखित जवाफमा उल्लेख छ, ‘जहाँसम्म विपक्षीको छोरीलाई डाक्टर पढाउने भनी आश्वासन दिई म निवेदकले ३८ लाख ८० हजार रुपैयाँ दिएको भन्ने कुरा हो सो पनि सरासर कपोकल्पित भनाइ हो भन्ने कुरा शंका छैन । म कुनै मेडिकल कलेजको प्रतिनिधि वा मेडिकल भर्ना गराउने व्यक्ति पनि होइन । यति ठूलो रकमको कारोबार हुँदा विना कागज, आधार कारोबार गर्ने भन्ने प्रश्नै होइन । विपक्षीले देखाएको यी सबै तथ्य कपोकल्पित हुन जहाँसम्म विपक्षी र मेरो कारोबारको कुरा हो ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ