२०८१ पुस २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशखाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन

खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन


वीरेन्द्रनगर—कालिकोटको खाँडाचक्र नगरपालिकामा क्षयरोगमुक्त अभियान सञ्चालन भएको छ । पाँच वर्षभित्र नगरपालिकामा क्षयरोगलाई शुन्य झार्ने लक्ष्यका अभियान सुरु गरेको हो ।

क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रमअन्तर्गत खाँडाचक्र नगरापालिकामा अभियान सञ्चालन भएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न थालेको र त्यसैका आधारमा खाँडाचक्र नगरपालिकामा अभियान सञ्चालन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले जानकारी दिए । ‘कालिकोट जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिकामा यो अभियान सञ्चालनमा आएको छ,’ उनले भने, ‘नगरपालिकामा शिविर सञ्चालन गर्ने, क्षयरोगीलाई उपचारको दायरामा ल्याउने काम भइरहेको छ ।’

क्षयरोगमुक्त अभियानअन्तर्गत १० देखि १२ पुससम्म निःशुल्क शिविरमा सञ्चालन गरिएको र त्यसमा छ सय आठ जनाको स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख सेजुवालले बताए । ‘१५ वर्षदेखि माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दा क्षयरोगको लक्षण भएका भेटिएपछि थप नमुना परीक्षण गर्न थालिएको छ,’ उनले भने, ‘एक सय ८६ जनामा शंकास्पद भेटिएको छ । उहाँहरुको स्वाबको नमुना सङ्कलन गरी जिल्ला अस्पताल कालीकोटमा ल्याब परीक्षण भइरहेको छ ।’

क्षयरोगका बिरामी पहिचान गरेर घरमै औषधि खुवाउने व्यवस्था गरिने र त्यसका लागि अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महत बताए । ‘बिरामीलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने भएकाले बिरामीको सहजताका लागि बिरामीको घरमै औषधि खुवाउने व्यवस्था गरिने छ,’ उनले भने, ‘पाँच वर्षभित्र नगरपालिकालाई क्षयरोमुक्त बनाउनका लागि बिरामीको घरमा गई औषधि खुवाइने योजना रहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ