२०८१ पुस २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला

स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला


जुम्ला—गत आर्थिक वर्षसम्म कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा एमडिआई नेपालले गर्भवती महिला, सुत्केरी महिला, दुई वर्षमुनिका महिलालाई पौष्टिक आहारा वितरण गर्दै आएको थियो । तर, चालु आर्थिक वर्ष ०८१/०८२ देखि बजेट विनियोजन गर्न छोडेपछि पौष्टिक आहारा वितरण हुन छोडेको छ ।

यसका अलवा एमडिआई नेपालले पोषणमा सुधार ल्याउनका लागि स्थानीयस्तरमै पौष्टिक आहारा बनाउन सिकाइ रहेको संयोजक नवीन रावलले बताए । ‘यसअघि जिल्लाभर करिब पाँच महिनामा ६०.५०१ मेट्रिक टन पौष्टिक आहारा वितरण गरिएको हो,’ उनले भने, ‘अहिले पौष्टिक आहारा उपलव्ध नभएपछि स्थानीयस्तरमै उत्पादन हुने अन्नवालीको पौष्टिक आहारा बनाएर गर्भवती महिला, सुत्केरी महिला र बच्चालाई खुवाउन सिकाउँदै आएका छौं ।’

गाउँ—गाउँमा रहेका महिला स्वयंसेविका र संस्थाका पोषण सहजकर्ताको सहजीकरणमा स्थानीयस्तरमा उत्पादन हुने अन्नबाली चामल, दाल, अण्डा, साँगपातबाट पौष्टिक आहारा बनाउन सिकाउँदैं पोषणमा सुधार ल्याउन खोजिएको संयोजक रावलले बताए ।

तिला गाउँपालिका–४ साँपुल्ली गाउँकी जयरुपा शाहीका अनुसार उनको बच्चा जन्मिँदा ८ सय ग्रामको मात्रै थियो । ‘यही पौष्टिक आहारा (लिटोपिठो) खुवाउँदैं आएपछि पोषणमा सुधार भएको हो,’ शाहीले भनिन्, ‘अहिले पौष्टिक आहारा वितरण हुन छोडेपछि पनि स्थानीयस्तरमा उत्पादन हुने अन्नवाली गेडागुडीबाट पौष्टिक आहारा बनाएर खुवाउँदैं आएको छु ।’

साँपुल्ली गाउँकी दाना सुनारको बच्चा जन्मिँदा ३ केजीको थियो । अहिले उनको बच्चा ३ वर्षको भयो भने तौल बढेर ११ केजी पुगेको छ छ । ‘पौष्टिक आहारा खुवाएरै बच्चाको पोषणमा सुधार आएको हो,’ सुनारले भनिन्, ‘तर, ‘अहिले पौष्टिक आहारा वितरण हुने गरेको छैन । यसका अलवा घरमा पौष्टिक आहारा बनाएर खुवाउँदैं आएका छौं ।’

यस्तै, तिला गाउँपालिका–३ स्थित कुडारी स्वास्थ्य चौकीमा पौष्टिक आहार कुन—कुन खाद्य सामग्री र गेडागुडीबाट बनाउन सकिन्छ भनेर सिकाइका लागि पौष्टिक आहार कर्नर बनाइएको एमडिआई नेपाल जुम्लाका संयोजक रावलले बताए । ‘स्वास्थ्य चौकीमा सेवाग्राहीका रुपमा आउने जति पनि नागरिकलाई स्थानीयस्तरमै उत्पादन हुने अन्नबालीबाट पौष्टिक आहारा बनाउन सहयोग पुग्ने उद्देश्यले पौष्टिक आहारा कर्नर बनाएको हो,’ उनले थपे ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार गाउँपालिकामा गत वर्ष ५० जना मध्यम कुपोषित बालबालिका थिए । यस वर्षको तथ्यांकअनुसार ८ जना कडा कुपोषण भएका बालबालिका छन् । ‘माघ महिनाको पहिलो सातादेखि पालिकामै पोषण सुधार केन्द्रमा कुपोषित बालबालिकालाई राखेर पोषणमा सुधार ल्याउने तयारी गरेका छौं,’ उपाध्यक्ष बुढाले भनिन्, ‘त्यसका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।’ तिला गाउँपालिका– ४ नम्बर वडामा २ जना कडा कुपोषित बालबालिका छन् ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार पौष्टिक आहारले बालबालिकाको पोषणमा सुधार ल्याएको देखिन्छ । यस वर्षदेखि पौष्टिक आहार वितरण हुन छोडेपनि स्थानीयस्तरमै उत्पादन हुने पौष्टिक आहार बनाएर बच्चा, गर्भवती र सुत्केरी महिलाको पोषणमा उपयोग गरिने थालिएको छ । ‘घरमा अभिभावकले पौष्टिक आहार बनाउने र बच्चा खुवाउन सक्नु पर्दछ । त्यसका लागि अभिभावकले समय पनि दिनु पर्दछ,’ आचार्यले भने ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन र संयुक्त राष्ट्रसंघ, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा मनोहोरी विकास संस्था नेपालको (एमडिआई) साझेदारीमा सामाजिकमा आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्ष कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पाँच करोड बजेट विनियोजन गरेको थियो । त्यो बजेट करिब पाँच महिनाका लागि ६०.५०१ मेट्रिक टन पौष्टिक आहार वितरण भएको हो । यस वर्ष ०८१÷०८२ मा बजेट विनियोजन गरिएको छैन । जसले गर्दा पौष्टिक आहार वितरण भएको छैन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ