काठमाडौं—लाजिम्पाटस्थित अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु भएको छ । वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाको नेतृत्वमा अनमीवले न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।
अस्पतालका संस्थापक समेत रहेका मेडिकल डाइरेक्टर वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु भएको बताए । ‘हामीले केही दिनअघिबाट न्यूरो सर्जरी सेवा सुरु गरेका छौं,’ उनले भने, ‘अनमीवको विश्वस्तरीय अर्थोपेडिक्स सेवाको एक अंगका रुपमा न्यूरो सर्जरी सेवा सुरु गरेका हौं ।’
न्यूरो सर्जन डा. थापाले अस्पतालमा दुई वटा न्यूरो सर्जरी सम्पन्न भइसकेको जानकारी दिए । ‘डा. चक्रराज पाण्डेले बोलाएपछि म यहाँ आएँ । उहाँ अर्थोपेडिक्स सर्जन म न्यूरो सर्जन, हड्डी र न्यूरो जोडिएकै विषय हो,’ उनले भने, ‘स्पाइन, हात खुट्टा, नसामै चोट लागेपनि नसाहरुमा समस्या आउँछ । त्यही कारण यहाँ आएर काम थाले ।’
डा. थापाले अनमीवमा मिनिमल इनभिजिव (दूरबिन) विधीबाट न्यूरो सर्जरी सेवा दिन थालेका हुन् । ‘मेरो विशेषज्ञता भनेको सानो प्वाँल बनाएर दूरबिनबाट शल्यक्रिया गर्नेमा हो,’ उनले भने, ‘यसका फाइदाहरु धेरै छन्, यो अस्पतालबाट पनि बिरामीले ती फाइदा लिन सकून भन्ने हो ।’ दूरबिन विधीबाट टाउको, ढाड, नसा च्याप्पिएका बिरामीहरुको शल्यक्रिया गर्न सकिने उनले बताए ।
स्पाइनमा पनि यो सर्जरी निकै उपयोगी रहेको डा. थापाले जानकारी दिए । ‘स्पाइनमा ढाडमा नसा च्याप्पियो, डिस खिइयो अथवा हड्डी चिप्लेर गएको छ अथवा हड्डी नै फुटेको छ भनेपनि आजभोलि ठूलो खोलेर शल्यक्रिया गर्नु पर्दैन्,’ उनले थपे, ‘प्रविधीहरु आएका छन्, जसले गर्दा हामी सानो प्वाँलबाट शल्यक्रिया गर्न सक्छौं ।’
डा. थापाकाअनुसार यो शल्यक्रियाका फाइदाहरुमा बिरामीलाई अस्पतालमा धेरै दिन राख्न नपर्ने, घरको वातावरण राम्रो भएमा दोस्रो दिनमै घर पठाउन सकिने, सानो प्वाँल पोर शल्यक्रिया गरिने भएकाले ठूलो ठाउँमा चिर्न नपर्ने, मासुमा चोट कम लाग्ने, बेड रेष्ट कम हुने, दुखाइ कम हुने फाइदा हुने र चाडैँ काममा फर्किन सक्नेलगायतका छन् ।