२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं

कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं

सर्वसुलभ स्वास्थ्य सेवाका लागि पूर्वाधार निर्माण कर्णाली सरकारको प्राथमिकतामा


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय र स्रोत सुनिश्चितता भएका ठूला पूर्वाधार योजनालाई अघि बढाउने नीतिअनुरूप स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई अघि बढाउन लागिएको हो । जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या उत्पन्न हुँदा स्वास्थ्य सेवालाई सर्वसुलभ, पहुँचयोग्य र प्रभावकारी बनाउन स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले जनाएको छ ।

नयाँ पूर्वाधार निर्माणभन्दा पनि बनिरहेका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर निर्माण भवन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । चार वटा जिल्ला अस्पताल भवन निर्माणको निरन्तरताका लागि यो वर्ष बजेट विनियोजान गरिएको छ ।

उक्त भवन निर्माणको निरन्तरताका लागि २५ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य शाखा प्रमुख वृषबहादुर शाहीले बताए । ‘भवन निर्माण कार्यको निरन्तरताका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख, रूकुमपश्चिम, हुम्ला र सल्यानका लागि बजेट विनियोजन गरिएको छ । पर्याप्त भवन नहुँदा प्रभावकारी सेवा दिन सकिएको छैन्,’ उनले भने, ‘यो वर्ष वहुवर्षीय र स्रोत सुनिश्चितता भएका योजनामा मात्र बजेट विनियोजन गरिएको छ ।’

सरकारले पर्याप्त बजेट विनियोजन गरेपनि निर्माण व्यवसायीको लापरवाहीका कारण जिल्ला–जिल्लाका अस्पताल भवन निर्माणमा भने ढिलाइ भइरहेको छ । जिल्ला अस्पताल दैलेखमा म्याद थप गरेर भवन निर्माणको काम अगाडि बढेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणको निरन्तरताका लागि १० करोड रुपैयाँ बजेट पठाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. रत्नवीर सुनारले बताए । उनका अनुसार भवन निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ