२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर ‘ब्याक’

गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर ‘ब्याक’


पोखरा–पोखरा महानगरपालिकाले बहालवाला कर्मचारी र जनप्रतिनिधिका छोराछोरीका लागि भन्दै आवेदन खुलाएको एमबीबीएस छात्रवृत्तिबाट बाँड्ने निर्णयबाट ब्याक भएको छ । सिमित व्यक्तिका स्वार्थमा लागेर आवेदन खुलाइएको भन्दै चौतर्फी विरोधपछि महानगर निर्णयमा अघि बढ्न नसकेको हो ।

महानगरको २ पुसको निर्णय भन्दै ४ पुसमा एमबीबीएस छात्रवृत्ति सम्बन्धी सूचना महानगर शिक्षा शाखाले जारी गरेको थियो । पोखरा महानगरपालिका छात्रवृत्ति वितरण कार्यविधि पहिलो संशोधन, २०८१ को दफा ७ को उपदफा १ मा भएको व्यवस्थालाई आधार मानेर गरिएको निर्णय भनिएपनि गलत नियतका साथ संशोधन भएको आरोप महानगरलाई लागेको थियो ।

‘हाल एमबीबीएस अध्ययन गरिरहेको भए सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजातसहित शिक्षा महाशाखामा आवदेन दिन अनुरोध छ,’ सूचनामा भनिएको थियो । यसबाट प्रष्ट हुन्छ कि हाल अध्ययनरत कर्मचारी र जनप्रतिनिधिका सन्ततीलाई मात्र लाभ हुने गरी सूचना प्रकाशित गरिएको थियो ।

पोखराका मेयर धनराज आचार्य विदेश भ्रमणका बेला आएको सूचनाको जनप्रतिनिधिबाट नै विरोध हुन थालेको थियो । आम नागरिकबाट बद्नियत भन्दै व्यापक विरोध भएपछि महानगर आफ्नै निर्णय सच्याउन बाध्य भएको हो । महानगरको निर्णय तत्कालका लागि स्थगित भएपनि घुमाउरो बाटो प्रयोगबाट स्वार्थ पूर्ति हुनसक्ने आशंका बढेको छ ।

छात्रवृत्तिको सूचना प्रकाशनका बेला पोखरा महानगर शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले नाम उल्लेख गरेका थिए भने स्थगनको सूचनामा भने नाम उल्लेख गरेका छैनन् । स्थगनको सूचनामा भनिएको छ, ‘शिक्षा समितिका अध्यक्ष एवं नगर प्रमखज्यूको निर्देशनानुसार अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मापदण्डमा शहीद सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने व्यहोरा गत असारको नगरसभाले संशोधन गरेकोमा बहालवाला कर्मचारी र जनप्रतिनिधिका सन्तती घुसाइएको आरोप लागेको छ । यो निर्णय महानगरका कर्मचारी र जनप्रतिनिधिलाई नै निल्नु न ओकल्नु झैं भएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ