काठमाडौं—मुलुकको प्रमुख सरकारी अस्पतालमध्येको एक सिभिल सर्विस अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र संचालनमा आएको छ । सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत चेन सोङले संयुक्त रुपमा उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।
केन्द्रको उद्घाटन गर्दै मन्त्री गुप्ताले चीन र नेपालबीच निरन्तर आपसी सहयोग जारी रहेको बताए । उनले आगामी दिनमा पनि छिमेकी मुलुक चीनको सहयोग आवश्यक पर्ने बताए ।
चिनियाँ राजदूत सोङले हजार वर्ष पूरानो परम्परागत चिनियाँ चिकित्साको दोस्रो सेन्टर नेपालमा खुलेको बताउँदैं यसलाई ठूलो सेन्टरका रुपमा विकास गर्ने बताए । उनले सिभिल सर्विस हस्पिटललाई दक्षिण एसियाकै राम्रो सेन्टरको रुपमा विका गर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ट्रेडिसन मेडिसिनलाई पनि विकास गर्दै लैजानु पर्ने बताए ।
अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलले अस्पतालमा परम्परागत चिनियाँ उपचार सेन्टरको स्थापना अस्पतालको स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण रहेको बताए । उनले नेपाल र चीनबीच लामो समयदेखि आपसी सहयोग जारी रहेको उल्लेख गर्दै भविष्यमा पनि चिनियाँ पक्षबाट अस्पताललाई हुने सहयोग जारी रहने विश्वास व्यक्त गरे ।
सेन्टरबाट अकुंपन्चर, पेन म्यानेजमेन्ट, क्रोनिक इलनेसको उपचार, हिलिङलगायतका सेवा दिने प्रवाह हुनेछ । जसमा चिनियाँ मेडिकल टिमले आएर समेत उक्त सेवाहरु बिरामीलाई प्रवाह गर्नेछ । यसअघि, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि यस्तै सेन्टर स्थापना भइसकेको छ ।