२०८१ पुस ३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग

पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग

भारतबाट तस्करी गरेर प्रतिबन्धित औषधि पूर्वी नेपालका विभिन्न सहरहरुमा पुग्ने गरेको छ ।


विराटनगर—मोरङको पूर्वी दक्षिण क्षेत्रमा औषधिको चरम दुरूपयोग हुने गरेको पाइएको छ । सीमावर्ती क्षेत्र नजिक रहेका फार्मेसीहरुले भारतबाट अवैध रुपमा तस्करी गरी औषधि ल्याएर लागूऔषध प्रयोगकर्ताहरुलाई खुलेआम बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

व्यवसायलाई बदमान गर्न लागि परेका केही फार्मेसी संचालकहरूले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुर्व्यसनीहरूलाई बेच्ने गरेको पाइएपछि मोरङको रंगेलीबाट प्रहरीले एक जना फार्मेसी संचालकलाई पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ । भारतबाट तस्करी गरेर औषधि ल्याएर लागूऔषध प्रयोगकर्ता र पूर्वको विभिन्न ठाउँमा सप्लाई गरेको पाइएपछि रंगेली नगरपालिका—७ शुक्रबारे आदर्श टोलस्थित इसान्त फार्मेसीका संचालक संजयकुमार मण्डललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध ब्यूरो विराटनगरको टोलीले मण्डलको फार्मेसीबाट ठूलो परिमाणमा प्रतिबन्धित र अनुचित रुपमा प्रयोगको लागि राखिएको औषधि पनि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदराज जोशीले जानकारी दिए । प्रहरीले प्रतिबन्धित लागु औषध ट्रामाडोल पाँच हजार तीन सय थान क्याप्सुल, स्पाम दुई हजार थान ट्याब्लेट, डाइस १३ हजार ६ सय थान ट्याब्लेट बरामद गरेको हो । बरामद गरेको औषधिको अनुचित प्रयोग गर्दै लागूऔषध प्रयोगकर्ता र पूर्वी नेपालका विभिन्न ठाउँमा विक्री वितरण गर्ने प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी जोशीले बताए ।

प्रहरीले मण्डललाई मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले अनुसन्धान पूरा गरेर अदालत बुझाएपछि औषधि व्यवस्था विभाग विराटनगरले पनि अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।

औषधि व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधिको चरम दुरूपयोग गर्ने गरेको भेट्न थालेको छ । यसअघि केही फार्मेसीहरुले ट्रामाडोललाई लागूऔषध बनाएर बिक्री वितरण गर्दै आएकोमा अहिले ‘अपोट्याब, स्पाम र फोक्सिबो नामको औषधि मिक्स गरेर लागूऔषधको रुपमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए ।

‘यसअघि ट्रामाडोल औषधि मिक्स गरेर लागूऔषध बनाएर बिक्री वितरण हुने गरेको थियो,’ फार्मेसी निरीक्षक खड्काले भने, ‘अहिले नयाँ तथ्य खुल्न आयो । अहिले दुखाइ कम गर्ने ओपोट्याब, स्पाम र फोक्सिबोन क्याप्सुल मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।’ पक्राउ परेकाहरूलाई विभागले औषधि ऐन, २०३५ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि पनि नेपाल औषधि व्यवसायी संघ उदयपुरका महासचिव वीरेन्द्रकुमार झाले होलसेल औषधि पसल खोलेर औषधिको अनुचित प्रयोग गरि लागूऔषध प्रयोगकतालाई औषधि बिक्री–वितरण गर्ने गरेको पाइएको थियो । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा गोपीकृष्ण मेकिडल हल औषधिको होलसेल पसल खोलेर झाले लागूऔषध प्रयोगकर्तालाई अनुचित रूपमा औषधि बिक्री–वितरण गर्ने गरेको विभागले गरेको अनुगमनको क्रममा भेटेको थियो ।

लागु औषध दुर्व्यसनीहरु माथि उल्लेखित तीन वटा औषधि मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने विभागको भनाइ छ । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । प्रिगाभालिन नसा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । यस्तै, ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ । तर, कमाउ धन्दामा लागेका व्यवसायीहरुले महंगो मूल्य दुर्व्यसनीलाई यी औषधि दिने गरेको भेटिएको औषधि व्यवस्था विभागका अधिकारीहरु बताउँछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ