काठमाडौं—मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने भएको छ । विनयतारा फाउण्डेसनको आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
सम्मेलनमा अमेरिका, भारत, बंगलादेशलगायतका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरुको सहभागिता रहनेछ । सम्मेलनमा विश्वमा क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधी, अनुसन्धान र चिकित्सकहरुका अनुभवहरु समेटिने सम्मेलनका निर्देशक तथा फाउण्डेसनका अध्यक्ष डा. विनय शाहले जानकारी दिए ।
डा. शाहकाअनुसार सम्मेलनको पहिलो दिन नीतिगत बहस हुनेछ । ‘स्वास्थ्य बीमाका विषयमा राजनीतिज्ञ, नीति निर्माता, सरोकारवाला राखेर बहस गर्ने र त्यसलाई संचारमाध्यम र सामाजिक सञ्जालमार्फत आमजनसम्म पु¥याउने तयारी पनि भइरहेको छ,’ डा. शाहले भने ।
सम्मेलनको पहिलो दिन मार्च २१ मा दिउँसो १ः३० बाट सम्मेलन सुरु हुनेछ । सुरुमा रजिष्ट्रेशन, त्यसपछि हेड एन्ड नेक क्यान्सरका विषयमा छलफल, अब्स्ट्रयाक्ट प्रिजेन्टेसन, नीतिगत बहस र सांस्कृतिक कार्यक्रम उक्त दिन राखिएको छ ।
दोस्रो दिन रजिष्ट्रेसनसँगै विहान ८ बजेदेखि सेसन सुरु हुनेछन् । सुरुमा ब्रेस्ट क्यान्सर र त्यसपछि क्रमसः लङ क्यान्सर, जीआई अंकोलोजी, सपोर्टिभ केयर, जीयु अंकोलोजी, गाइनोकोलोजिक क्यान्सर, हेमाटोलोजिकल मेलिङन्यान्सिज र अब्स्ट्रयाक्ट पोष्टर सेसन संचालन हुनेछन् ।
नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा कपेन्द्र शेखर अमात्यले सम्मेलनको चेयर गर्नेछन्। अन्य केही नाम चलेका विशेषज्ञ चिकित्सकले सहभागी हुने पक्का गरिसकेका छन् । प्रा.डा. जनक कोइराला (पाटन अस्पताल), डा सुदिप श्रेष्ठ (नेपाल क्यान्सर अस्पताल), डा मार्क पेग्राम (स्टेनफोर्ड हेल्थकेयर, अमेरिका), डा यिङ ली (युनिभर्सिटी अफ वासिङ्टन, युएसए), डा दिनेश क्षेत्री (युसीएलए हेल्थ, युएसए), डा सञ्जय ठाकुर (टाटा मेडिकल सेन्टर), डा श्रीनिवास के तन्त्रावाही (हुन्तस्मान क्यान्सर इन्सिच्युट, युएसए), डा विप्लव यादव (अमेरिका), डा प्रभात ठाकुर (नेपाल क्यान्सर अस्पताल), डा नोरा कु (रेन अन्कोलोजी, अमेरिका), डा अरुण शाही (पाटन अस्पताल), डा धिरेश कुमार महर्जन (नेपाल), डा रमेश श्रेष्ठ (बीपीकेआईएचएस), डा सजिन राजभण्डारी (प्राइमेरा हस्पिटल), डा सुजिता हिराचन (शिक्षण अस्पताल महाराजगञ्ज ) रहेका छन्।
सम्मेलनका अब्स्ट्याक्ट डिसेम्बर ३१ सम्म पठाइसक्नुपर्नेछ । सम्मेलनमा सहभागी हुनका लागि https://cancer.binayfoundation.org/icc-2025/ मा अनलाइन दर्ता गर्नुपर्नेछ ।
विनयतारा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैर नाफामुखी संस्था हो । फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ। बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ।
मधेश प्रदेशको जनकपुरमा २०० बेडको दक्षिण एशियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ । नेपालको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनामा फाउन्डेसनले महत्वपूर्ण भूमिका छ। फाउन्डेसनकै अर्थिक सहयोगमा नेपालको बोनम्यारो प्रत्यारोपण केन्द्र टीमलाई सिकागो (अमेरिका)स्थित इलिनोइस विश्वविद्यालयमा तालिम प्रदान गरिएको थियो।
नेपालमा मात्रै होइन, भारतको मध्य प्रदेश र दक्षिण अमेरिकामा समेत फाउन्डेसन क्यान्सर उपचार, अनुसन्धान र शिक्षा क्षेत्रमा काम गरिरहेको बताइएको छ। फाउन्डेसनले अमेरिका क्यान्सर सम्मेलन, कन्टिन्यु मेडिकल एजुकेसन (सीएमई) गर्नुका साथै अनलाइन क्यान्सर सीएमई एप अन्कोब्लास्ट समेत सार्वजनिक गरेको छ।