काठमाडौं—भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)मा कलेज प्रशासन र प्रिसिन्सल विरुद्ध भएको आन्दोलनका कारण १० दिन काम गरेको अनुभव नपुग्ने भएपछि २५ जना विद्यार्थीको पिजी अध्ययनमा अवरोध सिर्जना हुने देखिएको छ ।
आन्दोलनका कारण पिजीको इन्ट्रान्सका लागि आवश्यक पर्ने एक वर्ष काम गरेको अनुभवमा १० दिन अपुग हुने भएपछि उनीहरुले पिजी (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
गत वर्ष असोज अन्तिमदेखि कात्तिक मध्यसम्म युसीएमएसमा एमबीबीएस अध्ययनरत विद्यार्थी र रेजिडेन्सी गरिरहेका विद्यार्थीहरुले कलेज प्रशासनसँग प्रिन्सिपल डा. लक्ष्मी पाठकको राजीनालगायतका माग राख्दैं आन्दोलन गरेका थिए । सोही आन्दोलनका कारण आफूहरुको पिजीका लागि आवश्यक पर्ने काम गरेको अनुभव सम्बन्धी योग्यतामा १० दिन कम भएकाले पिजीको इन्ट्रान्स अनिश्चित भएको डा. प्रिया साहले जानकारी दिइन् ।
‘युसीएमएसमा भएको आन्दोलनका कारण हाम्रो काम गरेको अनुभव सम्बन्धि योग्यतामा १० दिन अपुग भयो,’ उनले भनिन्, ‘यही कारण पिजीको इन्ट्रान्स पनि अनिश्चित भएको छ ।’ पिजी इन्ट्रान्स अनिश्चित भएपछि युसीएमएसको ब्याच २०१६/०१७ को एमबीबीएस ब्याचका विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगलाई निवेदन समेत बुझाएका छन् ।
तर, आयोगका अधिकारीहरुले उनीहरुलाई मापदण्ड परिवर्तन गर्दा असजिलो हुने भन्दैं सहभागी गराउन नसकिने खालको प्रारम्भिक जवाफ दिएका छन् । ‘उहाँहरुले अनुभव सम्बन्धि मापदण्ड हाम्रा लागि परिवर्तन गर्दा अरुका लागि पनि भविष्यमा त्यही गर्नुपर्छ, त्यसैले यो गर्न सकिदैंन होला भन्ने खालको जवाफ दिनुभएको छ,’ डा. साहले थपिन्, ‘हामीले यो विशेष घटनाका कारण भएकाले कन्सिडर गरिदिन आग्रह गरेका छौं ।’ आयोगका अधिकारीहरुले निवेदनमाथि विचार गर्ने आश्वासन भने दिएको उनले सुनाइन् ।
आयोगले १३ मंसिरमा पिजीको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आव्हान गरेको छ । उसले १७ मंसिर २०८१ देखि ४ पुस २०८१ सम्म नियमित दस्तुरमा र १४ पुसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने उल्लेख गरेको छ । तर, युसीएमएसको एमबीबीएस सन् २०१६/०१७ ब्याच उत्तीर्ण भएका २५ विद्यार्थीहरुको उक्त अवधिसम्म काम गरेको एक वर्ष पुग्दैंन् ।