काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए—नभएको परीक्षण गर्ने भएको हो ।
फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरुमा क्यान्सर सम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । ‘क्यान्सरको उपचार सँगसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ,’ डा. लालले भने, ‘त्यसैअनुसार यस वर्ष अभियानकै रुपमा एकैसाथ परीक्षण गर्न लागेका हौं ।’
यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए । नेपालमा सन् २०२२ मा कृल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७ सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्यांकमा छ ।
विश्व स्वास्थ्य संगठनकाअनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।
यसैगरी अब्र्जभेटरीकाअनुसार विश्वभर प्रति एक लाख बिरामीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर, समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।
पाठेघरको क्यान्सरबाट हुने ठूलोस्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले पाठेघर तथा स्तनको क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिएर यस वर्ष कार्यक्रम अघि बढाएको छ ।
सरकारले २२ माघबाट दुई सातासम्म १६ लाख किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दैछ । जसबाट ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।