नेपाल न्यूरो सर्जन समाज (नेसन)ले ११ औं राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा शुक्रबारदेखि सुरु हुँदैछ । नेसनले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी दुई दिनसम्म संचालन हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा देशभरका न्यूरो सर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा नेपाल बाहिरका विशेषज्ञको सहभागिता रहने बताइएको छ ।
पूर्वमा न्यूरो सर्जन समाजको राष्ट्रिय सम्मेलन पहिलो पटक भएको हो । न्यूरो सर्जरी सेवाको विस्तारसँगै आम जनतामा चेतना फैलाउने साथै त्यस क्षेत्रमा कार्यरत चिकित्सकहरुको मनोबल वृद्धि हुने अपेक्षा गरिएको छ । राष्ट्रिय सम्मेलनको विषयमा केन्द्रीत रहेर नेपाल न्यूरो सर्जन समाज (नेसन)का अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकासँग हेल्थआवाजका लागि अनिल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी :
न्यूरो सर्जन समाजको राष्ट्रिय सम्मेलनको तयारी कसरी भइरहेको छ ?
पूर्वमा पहिलो पटक नेपाल न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय सम्मेलन पहिलो पटक हुँदैछ । काठमाडौं बाहिर दोस्रो पटक हो । यसअघि पोखरामा भएको थियो । पूर्वमा हुने राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । देशभरका न्यूरो सर्जरीका चिकित्सकहरु विराटनगर आइसकेको छन् । शुक्रबार सम्मेलनको औपचारिक रुपमा उद्घाटन भएपछि त्यसपछि घनीभूत रुपमा छलफल हुनेछ । शनिबारसम्म यो सम्मेलन चल्नेछ ।
देशभरका न्यूरो सर्जरीका चिकित्सकहरु भेला हुने यो राष्ट्रिय सम्मेलनमा के—के हुन्छ ?
नेपाल न्यूरो सर्जनको ११ औं राष्ट्रिय सम्मेलन देशभरका न्यूरोसर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा नेपाल बाहिरका विशेषज्ञको सहभागिता रहनेछ । सम्मेलनमा एक सयभन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा विदेशबाट आएका चिकित्सकहरुको पनि सहभागिता रहनेछ । विज्ञ समूहबाट एक सयभन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत हुनेछ । उक्त कार्यपत्रमा छलफल हुनेछ ।
विभिन्न विधाहरुमा सर्वश्रेष्ठ कार्यपत्र प्रस्तुती गर्नेलाई समाजले सम्मान र पुरस्कार पनि प्रदान गर्नेछ । सम्मेलन सुरु हुनुभन्दा एक दिन अगाडि हामीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यशाला गोष्ठी आयोजना गरिसकेका छौं । बिहीबार गरिएको गोष्ठीमा विभिन्न तीन विधामा वर्कसप भएको छ । डेड बढीमा चिकित्सकहरुले अभ्यास गर्दछन् । हामीले गरेको रिसर्चहरु पनि यहाँ प्रस्तुती हुन्छ ।
कार्यपत्रमा कस्ता विषयहरु समेटिएका छन् ?
राष्ट्रिय सम्मेलनमा विशेषज्ञ विज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसबाहेक विदेशबाट आएका १५ जना चिकित्सकहरुले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायत मुलुकबाट आएका चिकित्सकहरुले पनि कार्यपत्र प्रस्तुत हुनेछन् । न्यूरो सर्जरीमा केन्द्रीत भएर कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।
राष्ट्रिय सम्मेलनले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारका सुझावहरु पनि दिनुहुन्छ ?
दुई दिनसम्म संचालन हुने सम्मेलनमा घनीभूत रुपमा छलफल हुनेछ । सम्मेलनको अन्तिममा वुँदागत रुपमा हामी सरकारलाई सुझाव पनि दिनेछौं । जसले गर्दा स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने राय हामी पेश गर्नेछौं । छलफलपछि त्यो वुँदागत रुपमा सरकारलाई सुझाव दिनेछौं । अहिले काठमाडौंमा सरकारले न्यूरो सर्जरी अस्पताल खोल्ने पनि भनेको छ । त्यसमा पनि हामी राय पेश गर्नेछौं ।
नेपालमा न्यूरो सर्जरीमा चिकित्सकको अवस्था कस्तो छ ?
विगतको तुलनामा अहिले न्यूरो सर्जरी चिकित्सकको संख्या वृद्धि भएको छ । अहिले करिब १२० जनाभन्दा बढी न्यूरो सर्जन चिकित्सकहरु रहेका छन् । नेपालको जनसंख्याको हिसाबले त कम हो तर पनि अहिले भएको न्यूरो सर्जरीका चिकित्सकहरुले बिरामीको उपचार गर्दै आएका छन् । अहिले भएका चिकित्सकले देशभरमा सेवा प्रवाह गर्दै आएका छन् ।
दक्ष जनशक्ति पनि उत्पादन हुँदै आएका छन् । विगतमा न्यूरो सर्जरी सेवाको लागि छिमेकी मुलुक भारत जानुपर्ने अवस्था रहेको थियो । अहिले यो अवस्थाको अन्त्य भएको छ । यति मात्रै होइन्, न्यूरो सर्जरी सेवाका लागि अहिले भारतदेखिका बिरामी स्वेदशका अस्पतालहरुमा आउने गरेका छन् । उदाहरण नै छ म कार्यरत रहेको अस्पताल विराटनगरको न्यूरोमा हर्नुहोस् न, विगतमा यहाँका बिरामीहरु न्यूरो सर्जरीको उपचारको लागि भारतको सिलगुडी जानुपर्ने अवस्था रहेको थियो । अहिले त्यो अवस्थाको अन्त्य मात्रै भएको छैन, भारतका बिरामी अहिले यहाँ उपचार गर्न आउने गरेका छन् ।
अन्त्यमा केही भन्नुहुन्छ ?
पूर्वमा पहिलो पटक राष्ट्रिय सम्मेलन हुँदैछ । पूर्वको लागि यो गौरवको कुरा हो । १५ वर्ष अगाडि न्यूरो सर्जन चिकित्सकको संख्या एकदमै न्यून रहेको थियो । अहिले देशभरमा भएको न्यूरो सर्जनको संख्याभन्दा २५ प्रतिशत पूर्वमा चिकित्सक रहेका छन् । यो गौरवको विषय हो । अहिले पूर्वमा मात्रै १५ देखि २० जना न्यूरो सर्जन चिकित्सक रहेका छन् । यो बढने क्रममा छ ।