काठमाडौं—सरकारी चिकित्सक संघ नेपाल (गोदान) सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेका छन् । मंगलबार गोदान सुदूरपश्चिमका पदाधिकारीहरुसहितका सरकारी चिकित्सकहरुले मुख्यमन्त्री शाहलाई भेटेर पाँच बुँदे माग बुझाएका छन् ।
गोदान सुदूरपश्चिमका चिकित्सक पदाधिकारीहरुले मुख्यमन्त्री शाहसँगै सामाजिक विकासमन्त्री मेघराज खड्का र सरोकारवालाई भेटेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश निजामती सेवा नियमावलीमा सुधारको माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
गोदान सुदूपश्चिमले प्रादेशिक र उपप्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा स्वास्थ्य सेवा/चिकित्सक समूहका कुनै पनि चिकित्सकलाई जेष्ठताका आधारमा खुला गरिनुपर्ने, प्रदेशमा समायोजन भएर अवधि पूरा गरेका ९/१० औं तहका चिकित्सकको वृत्ति विकास गरी जेष्ठताका आधारमा बढुवा गर्नुपर्ने, प्रादेशिक अस्पतालहरुको संगठन संरचना यथाशीघ्र कार्यन्वयनमा ल्याउनुपर्नेमा गरेको छ ।
यस्तै, चिकित्सकहरुको आठौं तह मेडिकल अधिकृत र नवौं तह विशेषज्ञ चिकित्सक पदहरुको यथाशीघ्र विज्ञापन खोल्नुपर्ने र कर्मचारी बढुवाको समयसीमा अन्य प्रदेशमा तीन वर्ष राखिएको र सुदूरपश्चिममा पाँच वर्ष बनाइएकोले त्यसलाई सुधार गर्न समेत माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा गोदान सुदूरपश्चिमका अध्यक्ष डा. खगेन्द्रराज भट्टसहितका चिकित्सक रहेका थिए ।