२०८१ कात्तिक १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय

सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय

बचत रकम स्वास्थ्य सुविधा व्यवस्थापनमा खर्चन आग्रह


काठमाडौं—सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यन्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सक्रिय भएका छन् । बुधबार २० प्रतिशत छुटका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली, २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महसुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन् । उक्त निर्णयले सरकारी अस्पतालहरुमा ठूलो रकम बचत हुने र त्यसलाई स्वास्थ्य सुविधा व्यवस्थापनमा खर्च गर्नसमेत मन्त्री पौडेलले भनेका छन् ।

मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमै महसुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थाहरुमा पत्राचार गरेको छ । समयमै महसुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठूलो रकम बचत हुने भएपछि यो व्यवस्था मिलाउन निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यससम्बन्धी सबै स्वास्थ्य संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । यो व्यवस्था पूर्ण लागु भएमा सरकारी अस्पतालको सेवा विस्तारमा थप स्रोत व्यवस्था हुने देखिन्छ ।

प्राधिकरणले गरेको छुटको व्यवस्था अधिकांश सरकारी अस्पतालले लिन नसकिरहेका बेला मन्त्री पौडेलले यसका लागि सक्रियता देखाएपछि संघीय राजधानी काठमाडौंको कान्ति बाल अस्पतालले २० प्रतिशत महसुल छुट पाएको हो । यस अस्पतालले वार्षिक ५० लाख रुपैयाँसम्म यस व्यवस्थाअनुसार बचत गर्न सक्ने मन्त्रालयको तथ्यांकले देखाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ