विराटनगर—जापनिज इन्सेफलाइटिस (जेइ) बिरामी उदयपुर बेलका नगरपालिका–६ का १२ वर्षीय बालक ७१ दिनदेखि अस्पतालको शैय्यामा जीवन मरणको दोसाधमा छन् । उनको उपचार विराट मेडिकल कलेज भेन्टिलेटरमा भइरहेको छ ।
ती बालकको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जेइ संक्रमित बिरामी र उनका बुवाले छोराको उपचार गर्न नसक्ने भएको भन्दै सहयोगको लागि अपिल गरेका छन् ।
‘हस्पिटल आउँदा राम्रोसँग छोरालाई लिएर आयौं । यहाँ आइपुग्दा भेन्टिलेटरमा राखेर उपचार गर्न चिकित्सकले सुझाव दिए,’ बिरामीका बावु दिनेश राईले अस्पताल परिसरमा भने, ‘हस्पिटल आएको एक महिनापछि जापनिज इन्सेफ्लाइटिस भएको पत्ता लाग्यो । ऋण खोजेर तीन लाख रुपैयाँ ल्याएर अस्पतामा बुझायौं । भएको पैसाँ सकियो ।’
दिनेशकाअनुसार अहिले उनका छोराको उपचार गर्नको लागि पैसाको अभाव छ । ‘उपचार गर्न नसक्ने भयौं । फार्मेसीमा साढे ३ लाख रुपैयाँभन्दा बढीको बिल छ । त्यो तिर्न नसक्ने अवस्था छ । अझै अस्पतालमा ८/९ लाख रुपैयाँ खर्च हुने अस्पतालले भनेको छ,’ उनले थपे, ‘यत्रो रकम हामी विपन्न नागरिकले कहाँबाट ल्याउनु ? हामी त गम्भीर समस्या फसेका छौं । उपचारमा १६ लाख रुपैयाँ बढी खर्च हुने रहेछ ।’
छोराको उपचारका लागि उनले सरकारलाई गुहारेका छन् । छोराको उपचार गर्दा भएभरको सम्पत्ति सकिएर हार मानेका उनले २० असोजमा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयलबाट सहयोगको चिठी लिएर अस्पतालमा पनि आएका छन् । तर, अस्पतालले केही रकम छुट मात्र गर्न सक्ने पूर्ण रुपमा छुट दिन नसक्ने बताएको छ ।
उपचारमा संलग्न विराट मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदीले जापनिज इन्सेफलाइटिस संक्रमित बालकको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए ।
अहिले पूर्वी नेपालमा जेइ संक्रमित बिरामीको अस्पताल आउने क्रम बढेको डा. सुवेदीले बताए । शनिबार मात्रै जेइ संक्रमित बिरामीको उपचारको क्रममा मृत्यु भएको उनले सुनाए । जापनिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गरेको गर्छ । ‘यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छन्,’ डा. सुवेदीले भने, ‘उपचारपछि निको भएपनि पक्षाघातको समस्या रहन सक्छ ।’
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले जापनिज इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । जापनिज इन्सेफलाइटिस मुख्यतयाः सुँगुर र चराहरूमा पाइने भाइरसबाट हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यी जनावरलाई टोकेर मानिसमा सार्छ । यो रोगले मस्तिष्कमा असर गर्छ । उच्च ज्वरो, टाउको दुखाइ, जीउ काम्ने र गम्भीर अवस्थामा कोमामा समेत पु¥याउन सक्छ ।
स्वास्थ्य विशेषज्ञहरूले यो रोगको कुनै निश्चित उपचार नभएको तर लक्षणअनुसारको उपचार गरिने बताएका छन् । रोग नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ । चिकित्सककाअनुसार जापानिज इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न नदिने गर्नुपर्छ । संक्रमणको जोखिम उच्च रहने भएकाले सतर्क रहन र कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकले आग्रह गरेका छन् ।