२०८१ कात्तिक ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशएउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी

एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी


चरिकोट—दोलखाको वैतेश्वर गाउँपालिकामा क्यान्सर रोगका बिरामी बढ्दो अवस्थामा रहेको पाइएको छ । गाउँपालिकाको एउटै वडामा १८ जना क्यान्सरका बिरामी भेटिएका छन् ।

पछिल्ला दिनहरुमा क्यान्सर र मिर्गौलाका बिरामीको संख्या वृद्धि हुँदै गएको छ । पालिकामा अघिल्लो वर्षको तुलनामा यस वर्ष क्यान्सर र मिर्गौला रोगका बिरामी २५.२ प्रतिशतले वृद्धि भएको वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर तामाङले जानकारी दिए ।

गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको तथ्यांकअनुसार गत वर्ष ४२ जना क्यान्सर र मिर्गौलाका बिरामी रहेकोेमा यस वर्ष भने उक्त संख्या वृद्धि भई ६० जना पुगेको स्वास्थ्य शाखा प्रमुख तामाङले बताए । पालिकाको वडा नम्बर–८ बाहेक अन्य ७ वटा वडा क्यान्सर र मिर्गौलाका बिरामी रहेकोे स्वास्थ्य प्रमुख तामाङले बताए ।

उनका अनुसार वडा नम्बर–६ मात्रै १८ जना क्यान्सर बिरामी रहेका छन् । गत वर्ष यस वडामा १० जना क्यान्सर बिरामी रहेकोमा यस वर्ष उक्त संख्या बढेर १८ पुगेको वैतेश्वर–६ नाम्दुकी वडा सचिव सिमा लामाले बताइन् । त्यसैगरी, दोस्रो सबैभन्दा बढी क्यान्सरको बिरामी रहेको वडा नम्बर–४ रहेकोे छ । अघिल्लो वर्ष १२ जना क्यान्सरका बिरामी रहेकोे वडा नम्बर–४ मा यस वर्ष १३ जना रहेको छ ।

त्यसैगरी, वडा नम्बर–७ मा पनि अघिल्लो वर्षको तुलनामा दोब्बरले क्यान्सर तथा मिर्गौला रोगका बिरामी बढेका छन् । ७ मा गत वर्ष ६ रहेकोमा यस वर्ष क्यान्सर बिरामीको संख्या १२ पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । त्यसैगरी वडा नम्बर–३ मा पनि बिरामीको संख्या ८ पुगेको छ । गत वर्ष यस वडामा क्यान्सरका बिरामी ३ जना मात्रै रहेका थिए । त्यसैगरी, वडा नम्बर–२ मा ४ र वडा नम्बर–१ मा २ जना क्यान्सरको उपचार तथा औषधि खाइरहेका बिरामी रहेकोे स्वास्थ्य शाखाले जनाएको छ ।

खनपिन, जीवनशैली, वंशाणुगतलगायतका कारण क्यान्सर रोग लाग्ने गर्छ । विश्वमा सबैभन्दा धेरै मुत्यु गराउने रोगमध्ये प्रमुख रोग क्यान्सर हो । क्यान्सर बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहलाई लाग्ने रोग हो । सरकारले क्यान्सर, डायलासिस, किड्नी प्रत्यारोपण र मेरूदण्डको पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार पालिकाले उक्त रोगका बिरामीको तथ्यांङ्क संकलन गरिरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ