२०८१ कात्तिक ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद

कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद


विराटनगर—कोशी प्रदेशमा जापनिज इन्सेफलाइटिस (जेई) रोग देखा परेको छ । जापनिज इन्सेफलाइटिसका कारण अहिलेसम्म कोशीमा पाँच जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

भाइरसले सार्ने यो संक्रमण १५ जनामा पुष्टि भएको छ भने २५३ जना शंकास्पद देखिएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका फार्मेशी अधिकृत भरत साहले जानकारी दिए ।

जापनिज इन्सेफलाइटिस रोगबाट मृत्यु हुनेमा झापामा दुई, सुनसरीमा दुई जना र उदयपुरमा एक जना बालक छन् । मृत्यु हुने तीन जना नाबालक र दुई जेष्ठ नागरिक रहेको मन्त्रालयले जनाएको छ ।

जापनिज इन्सेफलाइटिसबाट शनिबार उदयपुर घर भएका १० वर्षीय बालकको मृत्यु भएको छ । उपचारको क्रममा उनको विराट मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

जापनिज इन्सेफलाइटिस विशेषगरी झापा, मोरङ, खोटाङ, उदयपुर र इलाममा देखिएको छ । जापनिज इन्सेफलाइटिसका झापामा ४ जना, उदयपुरमा ४ जना, सुनसरीमा ३ जना, मोरङमा २ जना र खोटामाङमा १ जना बिरामी रहेको फार्मेशी अधिकृत साहले बताए ।

यस पालि गत वर्षभन्दा सङ्क्रमण कम देखिएको भएपनि ज्यान गुमाउनेहरूको संख्या बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । गत वर्ष जापनिज इन्सेफलाइटिसबाट कसैको पनि मृत्यु नभएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नियमित खोप सेवाअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जापनिज इन्सेफलाइटिसको खोप लगाउने गरिन्छ । सरकारले सन् २०१६ मा उक्त रोगविरुद्ध अन्तिम पटक विशेष खोप अभियान चलाएको थियो ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य कार्यालयमार्फत जापनिज इन्सेफलाइटिस सङ्क्रमण विरुद्धको खोप कार्यक्रम पनि तीव्र बनाएको छ । ‘यसपालि सङ्क्रमण नियन्त्रणमा नै छ । घटनाहरू पहिलाभन्दा कम भएपनि १५ जनामा सङ्क्रमण देखिँदा पाँच जनाको मृत्यु भएको छ । जसमध्ये तीन जना नाबालक छन् । उनीहरुले खोप लगाए नलाएको थाहा छैन,’ स्वास्थ्य मन्त्रालयका फार्मेशी अधिकृत साहले भने ।

खोप अभियान चलाएपछि विगतका केही वर्षमा नेपालमा जापनिज इन्सेफलाइटिसका कारण बिरामीको मृत्यु भएको देखिँदैन् । तर, यस पटक जापनिज इन्सेफलाइटिसको मृत्युदर पाँच पुगेको छ । ‘मुख्य सुरक्षा खोपले नै दिने हो । मैले बुझेअनुसार धेरै घटनाहरू खोप नलगाएकै कारणले भएका हुन् । खोप सफल हुँदै गएपछि बीचमा कसैले लिँदैनन् । खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुर्छ,’ कोशी प्रदेशको स्वास्थ्य निर्देशानलयका निर्देशक डा. सुरेश मेहताले भने । विशेषगरी तराईमा बढी देखा पर्ने यो रोग कोशी प्रदेशमा नियन्त्रणमा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जापनिज इन्सेफलाइटिस के हो ?

जापनिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ ।

डेङ्गी, येलो फीभर र वेस्ट नाइल भाइरसहरूको वर्ग ‘फ्ल्याफिभाइरस’मै जापनिज इन्सेफलाइटिस भाइरस पनि पर्छ ।

यो रोगको छुट्टै उपचार छैन । रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ । जापनिज इन्सेफलाइटिस भएका अधिकांश बिरामी १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन् । त्यसैले यो रोगमा मृत्युदर ३० प्रतिशतसम्म हुने डब्ल्यूएचओले जनाएको छ ।

जापनिज इन्सेफलाइटिसका लक्षण

अधिकांश अवस्थामा जापनिज इन्सेफलाइटिसमा मध्यम खालका लक्षणहरू देखिन्छन् । तर, केही बिरामीमा त्यस्तो कुनै सङ्केत देखिँदैन् ।

उच्च ज्वरो आउनु, मुर्च्छा पर्नु, घाँटी अररो हुनु, भ्रममा पर्नु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु डब्ल्यूएचओकाअनुसार जापनिज इन्सेफलाइटिसबाट सङ्क्रमित हुने २५० मध्ये एक जनामा अझ घातक खालका समस्याहरू देखा पर्न थाल्छन् । त्यस्ता समस्या भएका तीन बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ