२०८१ असोज ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा

स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा


वीरेन्द्रनगर—विद्यालयमा जाने छात्रालाई विद्यालय नियमित गराउनका लागि नेपाल सरकारले २०७६ सालमा स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ लागु गर्‍यो ।

सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराएर उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न, गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न र महिनावारी व्यवस्थापन सामग्रीको दिगो विसर्जन तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्नेतर्फ उत्प्रेरित गर्नका लागि नेपाल सरकारले विनियोजन ऐन, २०७६ को दफा ९ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले कार्यविधि बनाई लागू गरेको हो ।

कार्यविधि लागु भएसँगै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड खरिद गर्नका लागि स्थानीय तहलाई संघीय शशर्तबाट अनुदान दिदैं आएको छ । स्यानिटरी प्याड खरिदमा स्थानीय तहले आँखा लगाउने गरेका छन् । महालेखापरीक्षकको कार्यालय सार्वजनिक गर्ने प्रत्येक आर्थिक वर्षको प्रतिवेदनमा विषय उठाउँदैं आएको छ ।

स्थानीय तहले विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरी मौज्दातमा राख्ने, स्यानिटरी प्याड कार्यविधि बमोजिम यसको गुणस्तर पर्याप्त भए—नभएको, सुरक्षित तवरबाट भण्डारण भए—नभएको, छात्राहरुको आवश्यकताअनुसार वितरण भए नभएको महिनावारी स्वास्थ्य र किशोरी स्वास्थ्यका विषयमा छात्राहरुलाई जानकारी दिए नदिएको, कुनै प्रष्ट आधार भएको नदेखिने गरेको साथै कुन विद्यालयमा के कति मात्रामा प्याड वितरण भएको हो त्यसको भरपाई, वितरण भएका प्याड प्रयोगको अवस्था के कस्तो रहेको छ फोटासहितको अनुगमन समितिको प्रतिवेदन समावेश नभएको जस्ता विषय उठाउँदै आएको छ ।

सामान्य जस्तै लाग्ने स्यानिटरी प्याड खरिदमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाउने गरेको भएपनि यी विषयमा स्थानीय तहले सुधार ल्याउन सकेका छैनन् ।

महालेखापरीक्षकको कार्यालय आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन २०८१ अनुसार सुर्खेतका नौ वटै स्थानीयले स्यानिटरी प्याड खरीदमा कैफियत देखाएको छ ।

वीरेन्द्रनगर नगरपालिका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को दफा ४ मा पालिकाले खरिद गरेको स्यानिटरी प्याड गुणस्तरमा कमी नआउने गरी भण्डारण गर्नुपर्ने उल्लेख छ । साथै दफा ५ मा स्यानिटरी प्याड त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रुपमा वितरण गर्न सकिने उल्लेख छ ।

वीरेन्द्रनगर नगरपालिकाका भित्रका सामुदायिक विद्यालयहरुमा कक्षा ४ र ५ का छात्राहरु एक हजार छ सय ६९ र कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु समेत गरी नौ हजार चार सय ८६ रहेको र नगरपालिकाले संघीय सशर्तबाट एक लाख २९ हजार तीन सय थान स्यानिटरी प्याड ३१ रुपैयाँका दरले ४५ लाख २९ हजार तीन सय ७९ रुपैयाँ(मूल्य अभिवृद्धि कर समेत) मा खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरी मौज्दातमा राखेको, साथै कुन विद्यालयमा के कति मात्रामा प्याड वितरण भएको हो त्यसको भरपाई, वितरण भएका प्याड प्रयोगको अवस्था के कस्तो रहेको छ फोटासहितको अनुगमन समितिको प्रतिवेदन समावेश नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्यानिटरी प्याड कार्यविधि वितरण तथा व्यवस्थापनमा भए बमोजिम कार्य गर्न महालेखाले सुझाव दिएको छ ।

सिम्ता गाउँपालिका

सिम्ता गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु एक हजार आठ सय ४३ जना रहेकोमा पालिकाले संघीय शशर्तबाट ३९ हजार ४० थान स्यानिटरी प्याड खरिद गर्नका लागि १८ लाख ७४ हजार १३ रुपैयाँ ७० पैसा (मुअकरसमेत) मा खरिद गरेको छ ।

गाउँपालिकाले विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरी मौज्दातमा राखेको देखिएको महालेखाको प्रतिवेदन उल्लेख छ ।

पञ्चपुरी नगरपालिका

पञ्चपुरी नगरपालिकामा सामुदायिक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु दुई हजार नौ सय ४५ जना रहेका छन् ।

संघीय शशर्तबाट शिलबन्दीमार्फत् २८ हजार दुई सय ७२ थानको स्यानिटरी प्याड ६१ रुपैयाँ ५० पैसाका दरले कुल १७ लाख ३८ हजार सात सय २८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको प्रतिवेदन अनुसार नगरपालिकाले वितरण गरेको विद्यालयमा स्यानिटरी प्याडको के कति मात्रामा मौज्दात रहेको छ सो विषयमा एकिन हुन नसकेको, स्यानिटरी प्याड कार्यविधि बमोजिम यसको गुणस्तर पर्याप्त भए÷नभएको सुरक्षित तवरवाट भण्डारण भए नभएको छात्राहरुको आवश्यकता अनुसार वितरण भए नभएको महिनावारी स्वास्थ्य र किशोरी स्वास्थ्यका विषयमा छात्राहरुलाई जानकारी दिए नदिएको कुनै प्रष्ट आधार भएको देखिदैन । साथै कुन विद्यालयमा के कति मात्रामा प्याड प्रयोगको अवस्था के कस्तो रहेको छ अनुगमन समितिको प्रतिवेदन समावेश भएको छैन ।

लेकबेँसी नगरपालिका

लेकबेँसी नगरपालिकामा सामुदायिक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु दुई हजार तीन सय ४७ जना रहेका छन । स्यानिटरी प्याड खरिद व्यवस्थापनको लागि २३ लाख ३९ हजार रुपैयाँ बजेट विनियोजन भएता पनि अघिल्लो वर्षको मौज्दातले पुग्ने जनाई आर्थिक वर्ष २०७९/८० मा स्यानिटरी प्याड खरिद नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ ।

गुर्भाकोट नगरपालिका

गुर्भाकोट नगरपालिकामा स्यानीटरी प्याड खरिदका लागि मिति २०७९ असार १३ गतेका दिन हिमालयन मेडिसिन कन्सर्नसँग १५ लाख ९९ हजार नौ सय ६४ रुपैयाँमा सम्झौता गरी २०७९ असार २५ सम्ममा सामान आपूर्ति गरिसक्नु पर्ने सम्झौतामा उल्लेख भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

तर, उक्त मेडिसिन कन्सर्नले असारमा सामान आपूर्ति गरेको भएता पनि नगरपालिकाले २०८० बैशाख १० मा मात्र भुक्तानी दिएको पाइएको र खरिद कार्यमा गत विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरि मौज्दातमा राखेको र एक वर्षपछि मात्र भुक्तानी गरेको महालेखाले जनाएको छ ।

त्यस्तै, नगरपालिकाले पाँच लाखको स्यानिटरी प्याड खरिद गरी २० लाख ५९ हजार बजेट फिर्ता भएको महालेखाले प्रतिवेदनमा उल्लेख छ । तसर्थ पालिकाले आवश्यकताको पहिचान गरी आवश्यक परिमाणमा मात्र प्याड खरिद गर्नुपर्ने महालेखाको सुझाव रहेको छ ।

चिङ्गाड गाउँपालिका

चिङ्गाड गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु एक हजार तीन सय जना रहेका छन । गाउँपालिकाले संघीय शशर्तबाट साथ हवार छ सय ८० थान स्यानिटरी प्याड खरिदका लागि छ लाख सात हजार चार सय ८० रुपैयाँ (मुअकरसमेत) मा खरिद गरेको छ ।

गाउँपालिकाले विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरी मौज्दातमा राखेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चौकुने गाउँपालिका

चौकुने गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु दुई हजार ६६ जना रहेका छन । संघीय श-शर्तबाट स्यानिटरी प्याड खरिद व्यवस्थापनको लागि १८ लाख ८५ हजार बजेट प्राप्त भएकोमा गाउँपालिकाले निम्न विद्यालयमा छात्रा विद्यार्थी संख्याका आधारमा छ लाख ९४ हजार दुई सय २४ रुपैयाँ निकासा दिएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

भेरीगंगा नगरपालिका

भेरीगंगा नगरपालिकामा सामुदायिक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु तीन हजार छ सय नौ जना रहेकोमा नगरपालिकाले संघीय सशर्त शीर्षकको एन्जल टच हाइजिङ म्यानुफ्याक्चरिङ प्रालिबाट ४५ हजार थान (दुई सय ८२ ब्याग) स्यानिटरी प्याड २३ रुपैयाँका दरले बोलपत्रमार्फत खरिद गरी १२ लाख ३७ हजार तीन सय ५० रुपैयाँ (मूल्य अभिवृद्धि करसमेत) भुक्तानी गरेको छ ।

नगरपालिकाले विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरी मौज्दातमा राखेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बराहताल गाउँपालिका

बराहताल गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरु दुई हजार १० जना रहेका छन् ।

संघीय शशर्तबाट स्यानिटरी प्याड खरिद व्यवस्थापनको लागि २० लाख ५० हवार वजेट विनियोजन भएता पनि अघिल्लो वर्षको मौज्दात पुग्ने भनी आर्थिक वर्ष २०७९/८० मा स्यानिटरी प्याड खरिद नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले वितरण गरेको विद्यालयमा स्यानिटरी प्याडको के कति मात्रामा मौज्जाद रहेको छ सो विषयमा यकिन हुन नसकेको र आवश्यकता यकिन नगरी मौज्दात राखेको स्यानिटरी प्याड कार्यविधि बमोजिम गुणस्तर कायम गराई राखे नराखेको प्रष्ट आधार प्रमाण संलग्न गरेको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ