२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी

स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी


विराटनगर–कोशी प्रदेश सरकारले ११ औं तहका कार्यालय प्रमुखको सरुवा गरेर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा १० औं तहका कर्मचारीलाई कार्यलय प्रमुखको जिम्मेवारी दिएको छ ।

आपूर्ति कार्यलय प्रमुख रहेका ११ आंै तहका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरेर १० औं तहका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

बस्नेत यसअघि लामो समयदेखि प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा पनि निमित्त कार्यालय प्रमुख रहेका थिए । ८ असोजमा बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयका १० औं र ११ औं तहका कर्मचारीको सरुवा गरेको थियो । प्रदेश सरकारले सरुवा गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ११ औं तहको निर्देशक रहने दरबन्दी हो ।

ढेड वर्षअघि संघीय सरकारबाट डा. मण्डल आपूर्तिमा कार्यलय प्रमुख भएर आएका थिए । सरकारले सरुवा गरेको एक हप्ता भइसक्दा पनि बस्नेत आपूर्तिमा हाजिर भएका छैनन् । उनले दशै पछाडि मात्रै रमाना बुझेर हाजिर हुने तयारी गरेका छन् । ‘प्रदेश स्वास्थ्य निर्देशनालयको समीक्षाको तयारी भइरहेको छ । त्रैमासिक समीक्षा सकिएपछि रमाना बुझेर सरुवा भएको कार्यलयमा जाने तयारी गरेको छु,’ उनले भने ।

प्रदेश सरकारले सरुवा निकालेको कार्यलयहरुमध्ये प्रदेश स्वास्थ्य आपूर्तिमा वर्षेनी करोडौं रकमका स्वास्थ्य उपकरणदेखि औषधि, खाद्यान्नको खरिद हुने गर्दछ । खरिदमा सप्लायर्ससँग मिलेर आर्थिक चलखेल गर्न गरेको गुनासो पनि बेला—बेला सत्तमा आउने गरेको छ ।

कोशी प्रदेशमा स्वास्थ्यमा १० औं तहका ६ जना स्वास्थ्यकर्मी छन् । तीन जना जनस्वास्थ्य क्षेत्रका र तीन जना विशेषज्ञ चिकित्सक छन् । जनस्वास्थ्य प्रशासकहरुमा डा. सुरेश मेहता, सागर प्रसाई र ज्ञानबहादुर बस्नेत तथा विशेषज्ञहरुमा सर्जन डा. रामबाबु खडका, छाला रोग विशेषज्ञ डा. केशव ढकाल र रेडियोलोजिष्ट डा. सन्जय ठाकुर दशौं तहका चिकित्सक हुन् ।

पहिलो वरियतामा मेची प्रादेशिक अस्पतालमा कार्यरत डा. केशव ढकाल रहेका छन् । दोस्रोमा मेची अस्पतालका निमित्त मेसु डा. रामबावु, तेस्रोमा डा. ठाकुर, चौथोमा बस्नेत, पाँचौंमा प्रसाईं र छैठौंमा डा. सुरेश मेहता रहेका छन् । वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । मेहता यसअघि स्वास्थ्य कार्यालय मोरङको प्रमुख थिए । मन्त्रिपरिषद् बैठकले अहिले दुई जना कर्मचारीको मात्रै सरुवा गरेको हो ।

कोशी प्रदेशमा मन्त्रालयसहित स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश स्वास्थ्य तालिम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ११ औं तहको दरबन्दी छ । प्रदेशमा अहिलेसम्म प्रदेश सरकारअन्तर्गतका ११ औं तहको स्वास्थ्यका कर्मचारी छैनन् । समायोजन रोजेको ६ वर्षपछि सरकारले अहिले लोक सेवा खुलाएको छ । त्यो पनि १० औं तहका कर्मचारीको वृद्धि विकास रोकिने गरी लोक सेवा खुलाएको भन्दै अहिले स्वास्थ्यकर्मीहरुले विरोध जनाएका छन् ।

प्रदेश निजामती सेवा ऐन र नियमावली विपरित प्रदेश लोक सेवा आयोगले प्राविधिकतर्फ ११ औं तहको पदमा बढुवाको विज्ञापन खुलाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । ३१ भदौंमा प्रदेश लोक सेवा आयोगले गरेको ११ औं तहको ७ जना पदपूर्ति गर्ने सम्बन्धि विज्ञापन प्रदेश निजामती सेवा ऐन र नियमावली विपरित रहेको पाइएको हो । आयोगले स्वास्थ्य क्षेत्रको ११ औं तहमा समूहकृत गरेर बढुवाको लागि विज्ञापन आह्वान गरेकोले १० औं तहमा कार्यरत रहेका ५ जना स्वास्थ्यकर्मीहरुको वृत्ति विकास रोकिने देखिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ