२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका अतिरिक्त सचिव विशिष्ट श्रेणी कि १२ औं तहका अधिकृत मात्र ?

स्वास्थ्यका अतिरिक्त सचिव विशिष्ट श्रेणी कि १२ औं तहका अधिकृत मात्र ?


काठमाडौं–स्वास्थ्य सेवाअन्तर्गतका अतिरिक्त सचिव (१२ औं तह)लाई विशिष्ट श्रेणी हो हो या होइन भन्ने बहस सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ६ असोजमा स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरेपछि सो बहस सुरु भएको हो ।

प्रधानमन्त्री कार्यालयमा विशिष्ट श्रेणीका कर्मचारीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुन नसक्ने मौखिक उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार स्वास्थ्य सेवा विभागका निवर्तमान महानिर्देशक तथा अतिरिक्त सचिव डा. संगीता मिश्राले प्रधानमन्त्री कार्यालयमा यस विषयमा गुनासो गरेकी थिइन् । उनको उजुरीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवलाई विशिष्ट श्रेणीको कर्मचारीको सरुवा सम्बन्धमा पत्र पठाएपछि सो कुरा सतहमा आएको हो ।

तर, डा. संगीताले भने आफूले सरुवाका विषयमा कतै गएर पनि नबोलेको बताइन् । ‘हिजो म महानिर्देशक हुँदा पनि मन्त्रीस्तरीय निर्णयबाटै भएकी हुँ । अहिले पनि मन्त्रीस्तरीय निर्णय भएर आएकोमा कुरालाई सहज रुपमा लिएकी छु । कहीँ गएर गुनासो गरेकी छैन्,’ उनले भनिन्, ‘यो विषय हिजो म डिजी हुँदै गर्दा पनि उठेको थियो । आज पनि उठेछ ।’

प्रधानमन्त्री कार्यालयले विशिष्ट श्रेणीको कर्मचारीको सरुवा पदस्थापन, विदेश भ्रमण स्वीकृतीको कार्यक्षेत्र मन्त्रिपरिषद्को भएको हुँदा अतिरिक्त सचिवको सरुवा कुन कानुनअनुसार भएको खुलाएर पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

‘विशिष्ट श्रेणीका कर्मचारीहरुको सरुवा पदस्थापना, विदेश भ्रमणलगायतका नेपाल सरकार मन्त्रिपरिषदको क्षेत्राधिकार पर्ने विषयमा निर्णयका लागि मन्त्रिपरिषद पेश नगरी तहाँ मन्त्रालयबाटै निर्णय हुने गरेको व्यहोरा यस कार्यलयमा जानकारी हुन आएको हुँदा तहाँ मन्त्रालयबाट हुने गरेका यस्ता निर्णय गर्दा आधार लिएका ऐन कानुनको बारेमा स्पष्ट खोली जानकारी गराउनु हुन मिति २०८१/६/८ को निर्णयअनुसार अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयलाई पठाइएको पत्रमा छ ।

प्रधानमन्त्री कार्यलयले सो पत्र पठाएपछि त्यसको जवाफ मन्त्रालयले पठाउने तयारी गरेको प्रशासन महाशाखाका प्रमुख सह—सचिव ऋषि आचार्यले बताए । ‘यस विषयमा हामी अध्ययन गर्दैछौं,’ उनले भने, ‘चाँडैं जवाफ फर्काउने छौं ।’

मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्य सेवा ऐन, २०५३ चौथो संशोधनपछि १२ औं तह अतिरिक्त सचिव मात्र उल्लेख भएको छ । १२ चैत्र २०७० सालमा भएको चौथो संशोधनपछि भने विशिष्ट श्रेणी हटेर १२ औं तह अधिकृत भएको छ ।

‘अहिलेसम्म विशिष्ट श्रेणी भनेर अनुमानका भरमा हुँदै आएको रहेछ,’ स्वास्थ्यका एक अधिकारीले भने, ‘२०७० को संशोधनमा नै उडिसकेको रहेछ ।’

अतिरिक्त सचिवहरुले विशिष्ट श्रेणी (सचिव) सरहकै सेवा सुविधा पाउँदैं आएका थिए । उनीहरुको वैदेशिक भ्रमण मन्त्रिपरिषद्बाट स्वीकत गराउने गरिएको थियो । तर, स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालय भित्रको आन्तरिक जिम्मेवारी भने मन्त्रीस्तरको निर्णयबाटै सरुवा र पदस्थापनमार्फत हुँदै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ