२०८१ असोज ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशवीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा’ कार्यक्रम लागु

वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा’ कार्यक्रम लागु

हरेक हप्ता गर्भवती आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिइने


वीरेन्द्रनगर—सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रमको लागु गरेको छ । नगरपालिकाले हरेक हप्ता गर्भवती आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले ‘हेलो गर्भवती आमा’ कार्यक्रमको लागु गरेको हो ।

कार्यक्रमको वीरेन्द्रनगर–२, स्थित सहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट सेवारम्भ गरिएको हो । वीरेन्द्रनगरपालिकाका प्रमुख मोहनमाया ढकालले स्थानीय गर्भवती आमा नर्मा थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदैं सेवा प्रारम्भ गरेकी थिइन् ।

यो सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य केन्द्रमा पनि लागु हुने भएको छ ।

हरेक हप्ता गर्भवती आमालाई दक्ष स्वास्थ्यकर्मीहरुले फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श सेवा प्रदान गर्न सेवा लागु गरिएको हो । जसमा नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाव तथा आवशयक जाँचजपड्ताल, खोप, पोषण तथा सरसफाई, गर्भवती अवस्थामा देखापर्ने खतराका चिन्हहरु, प्रसूति पूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत घरमै सेवा दिने उद्देश्यले ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुभारम्भ गरिएको नगर प्रमुख ढकालले बताइन् ।

‘हाम्रो नगरपालिकामा रहनु भएका गर्भवती आमाहरुलाई हामीले यसअघि सरकारले तोकेको अनिवार्य चार पटक जाँचमा एक हजार रुपैयाँ र निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेका थियौं,’ उनले भनिन्, ‘तर अहिले सरकारले नयाँ प्रोटोकल जारी गरेपछि अधिकांश गर्भवती आमाहरुलाई जानकारी नुहुनु र कतिपय अवस्थामा स्वास्थ्य संस्थामा आउने समय बिर्सेर अनिवार्य जाँचमा छुट्न थालेपछि हामीले यो सेवा सुभारम्भ गरेका हौं ।’

१६ वटै वडामा रहेका गर्भवती आमाहरुको पूर्ण विवरण स्वास्थ्य स्वयंसेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरुमा राखिएको हुन्छ । सोही विवरण हेरेर हरेक हप्ता तथा जाँच गर्ने समयमा स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीले गर्भवती आमालाई टेलिफोन गरी आवश्यक सरसल्लाह तथा परामर्श दिने व्यवस्था मिलाइएको उनले बताइन । सरकारले चार पटक गरिने गर्भावस्थामा हुने जाँचलाई बढाएर आठ पटक गर्नुपर्ने अनिवार्य प्रोटोकल लागु गरेपछि यसबाट छुट्न सक्ने सम्भावित आमा र बच्चाको स्वास्थ्यमा समस्या नहोस् भन्ने हेतुले टेलिफोनमार्फत ट्रयाक गर्न सुरु गरिएको प्रमुख ढकालले बताइन् ।

यसअघि ‘आमाको माया’ कार्यक्रममार्फत गर्भवती आमाको अनिवार्य चार पटक जाँच गर्ने गरिएको थियो । तर, यो व्यवस्थालाई परिमार्जित गर्दै सरकारले आठ पटक अनिवार्य गर्भावस्था जाँच गराउनुपर्ने नयाँ प्रोटोकल लागु गरेको छ । नयाँ प्रोटोकल लागु भएपछि यसको जानकारी नहुनु र जाँच गराउने समय बिर्सनेलगायतका कारणले गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा जाँच गराउन नआउन थालेपछि स्वास्थ्य संस्थाबाटै सम्पर्क गरी सेवा दिने प्रणालीको विकास गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यसअघि चार पटकसम्म गरिने गर्भवती जाँचमा आउने महिलालाई प्रोत्साहनस्वरुप एक हजार र निःशुल्क एम्बुलेन्स सेवा दिदैं आइएको थियो । तर, आठ पटक गरिने जाँचमा भने अधिकांश गर्भवती महिलाहरु नआउन थालेपछि नयाँ रणनीति लिनु परेको नगरपालिकाले जनाएको छ । यो सेवा सुरु भएसँगै आर्थिक रुपमा विपन्न महिलाहरुलाई आवश्यकताका आधारमा घरमै सेवा लिन सहज हुने अपेक्षा राखेको नगर प्रमुख ढकालले बताइन् ।

यस्तै, नगर प्रमुख ढकालले सहरी स्वास्थ्य केन्द्र दौलतपुरमा स्तनपान कक्षको पनि सुभारम्भ गरेकी छन् । स्तनपान कक्ष नहुँदा सेवा लिन आउने आमालाई असहज नहोस् भन्ने हेतुले नगरका सबै स्वास्थ्य संस्थामा अनिवार्य छुट्टै कक्षको स्थापना गर्न लागिएको उनले बताइन । सुर्खेतका नौ वटा पालिकामा सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा दिन वीरेन्द्रनगर सफल भएको उल्लेख गर्दै नगर प्रमुख ढकालले गुणस्तरीय सेवासँगै प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ