वीरेन्द्रनगर—कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले बिरामीको विश्वास जित्ने गरी काम गर्न निर्देशक दिएका छन् । शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा संचालनमा ल्याइएको अत्याधुनिक एमआरआई मेसिनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘कर्णालीका बिरामीको विश्वास जित्ने गरी एमआरआई सेवा दिन आग्रह गर्छु,’ उनले भने, ‘अस्पतालको सामान्य गल्तीले बिरामी र आम नागरिकमा ठूलो असर पर्छ । त्यही कारण सेवा प्रवाह गर्दा ध्यान दिनुपर्छ ।’
अस्पतालले एमआरआई मेसिनबाट गत वर्ष भदौ महिनादेखि बिरामीको उपचार सेवा सुरू गरेको थियो । तर, शुक्रबारबाट औपचारिक रूपमा सेवाको उद्घाटन गरिएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
डा. खड्काका अनुसार हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार परीक्षण गरिदैं आइएको छ । २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई )सहितको आवाजविहीन उच्च गुणस्तरको छ । मेसिन सञ्चालनमा आएसँगै आवश्यक परेको खण्डमा २४ सै घण्टा अस्पतालले सेवा दिन सक्नेछ ।
देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ । मेसिन जडानसँगै प्रदेश अस्पताल सुर्खेतमा चिकित्सकले एकै दिनमा रिपोर्ट दिन सक्नेछन् ।
‘अस्पतालले हालसम्म २५ करोड ५९ लाख रकम मौज्दात राख्न सफल भएको छ । केही आवश्यक उपकरण पनि किनिरहेका छौं । अस्पतालमा कार्यरत कर्मचारीका पाँच जना परिवारको बीमा गर्दा अस्पतालले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने गरेको छ,’ डा. खड्काले भने ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको हो । पाँच वर्ष ग्यारेन्टी भएको मेसिन २९ करोड ७१ लाख रुपैयाँ खरिद गरिएको हो । स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन एमआरआई परीक्षणबाट सहज हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।
ढाड वा कम्मर दुख्ने, घुँडाका रोगका बिरामी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई परीक्षण गरिन्छ । एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ । अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत पहिचान गर्न सकिन्छ ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार अस्पतालको साथमा रहेको र आवश्यक परे सहयोग गर्ने भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिन निर्देशन दिए ।